कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विद्यालयलाई डेढ करोडको छात्रावास

प्रदीप मेन्याङ्बो

(सुनसरी) — कान नसुन्ने बहिरा विद्यार्थीले सांकेतिक भाषाको माध्यमबाट पढ्ने पूर्वको एक मात्र शैक्षिक संस्था धरानको पूर्वाञ्चल बहिरा विद्यालयले स्वदेशीविदेशी दाताबाट संकलित करिब १ करोड ५० लाख रुपैयाँ लागतको छात्रावास निर्माण गरेको छ । छात्रावासको उद्घाटन आइतबार धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गरिन् । 

विद्यालयलाई डेढ करोडको छात्रावास

भण्डारीले बहिरा विद्यालयको थप स्तरोन्नति गर्नका लागि उपमहानरपालिकाले सकेसम्म सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘स्वयंसेविकाका रूपमा प्रवेश गरेकी प्रधानाध्यापिका रेनुका बुढाथोकीले आफ्नै प्रयास र पहलमा दाताहरू खोजेर आज डेढ करोड रुपैयाँको छात्रावास बनाउन सक्नु नै गर्वको विषय हो ।


आफ्नो तलबभत्ता सुविधासमेत विद्यालयलाई नै दिएर चाडबाड, दसैं, तिहारको बिदासमेत नभनी रातदिन बहिरा विद्यार्थीको शिक्षादीक्षामा लागेकी बुढाथोकीको योगदानलाई समाजले बिर्सनु हुदैन ।’


विद्यालयका प्रधानाध्यापक रेनुका बुढाथोकीका अनुसार अमेरिकाको द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन (टीआरआईएफसी) का बोर्ड सदस्य रोज स्टेफन, त्यसका अध्यक्ष रवर्ट रोज र सदस्य जोनले सुस्त श्रवण कल्याण संघमार्फत एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माण गरिएको हो । विद्यालयमा नि:शुल्क पठनपाठन हुने गरेको उनले बताए ।


उनका अनुसार भवन निर्माणका लागि विद्यालयले जग्गा किनेपछि शिक्षा विभागको समावेशी शिक्षा शाखाबाट प्राप्त ८३ लाख रुपैयाँले १६ कोठाको २ तलाको भवन निर्माण गरिएको हो ।


उनले भनिन्, ‘शिक्षा शाखाबाट आएको रकमले भवन निर्माण भयो । विद्यालयको छात्रावासका लागि थप अपुग फर्निचर, किचन, शौचालय, बाथरुम, सेफ्टी ट्यांकी, पुस्तकालयका लागि जर्मनका नागरिकले ६ लाख रुपैयाँ पठाइदिए ।’ विद्यालयका ५५ विद्यार्थीलाई आवासीय सुविधा भएको छात्रावासको पक्की घेराबारा, अन्य व्यवस्थाका लागि स्थानीय समाजसेवी हर्कशोभा लिम्बूले १ लाख ५ हजार रुपैयाँ, इन्दिरा श्रेष्ठले १ लाख रुपैयाँ प्रदान गरेको उनले बताइन् । उनले बहिरा विद्यार्थी पनि नेपालकै नागरिक भएकाले उनीहरूलाई शिक्षादीक्षा दिनु र आत्मनिर्भर र स्वावलम्बी बनाउनु राज्यको दायित्व भए पनि आफूले चिनेजानेका आधारमा विदेशी नागरिकहरूसँग हारगुहार गरेर बहिराका लागि केही गर्न नागरिक दायित्व पूरा गरेको बताइन् ।


विद्यालयमा हाल विभिन्न जिल्लाबाट ६९ बहिरा विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम बुढाथोकीले कुनै आवाज नै नसुन्ने बालबालिकाका लागि हाल कक्षा आठसम्म पठनपाठन हुँदै आए पनि आभारभूत सुविधायुक्त होस्टल अभाव बल्ल पूर्ति भएको बताए । उनले भने, ‘बहिरा विद्यालयमा पठनपाठनका लागि बेग्लै तरिका अपनाउनुपर्छ । भएको पाठ्यक्रमलाई सांकेतिक भाषामा ढालेर सिकाउनुपर्छ । आर्थिक अभावले सबै व्यवस्था गर्न अझै बाँकी छ । दाताहरूकै खोजीमा छौं ।’ होस्टल कक्षा एकै ठाउँ बनाइएको विद्यालयको कोठालाई अब कक्षाकोठा, प्रयोगशाला कक्ष बनाउने अध्यक्ष बुढाथोकीले बताए । मुलुककै सांकेतिक भाषाका पहिलो बहिरा शिक्षक भानुभक्त आचार्यले बहिरा विद्यार्थीका लागि राज्य संवेदनशील हुन नसकिरहेका बेला धरानमा बहिरा बालबालिकाका लगि अवासीय छात्रावाससहितको शैक्षिक संस्था बामे सर्दै गरेको बताए । उनले भने, ‘बहिरा बालबालिकालाई उचित शिक्षा र सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउन सके अभिभावक, समाज र राज्यको भार बन्दैनन् ।’


प्रकाशित : फाल्गुन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?