१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकारको वर्ष दिनको कामप्रति कांग्रेसको टिप्पणी, 'नागरिकका विश्वास गुमायो'

टीकाराम तामाङ

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले पहिलो वर्षमै सरकारले नागरिकको विश्वास गुमाएको टिप्पणी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जिम्मेवारी पूरा नगरी विश्वसनियता गुमाएको बताए ।

सरकारको वर्ष दिनको कामप्रति कांग्रेसको टिप्पणी, 'नागरिकका विश्वास गुमायो'

‘सरकारले ५ वटा विषयमा विश्वासनियता गुमाएको छ’ उनले उदाहरण दिँदै भने, ‘एक वर्षमा संविधान संशोधनको फाइल खोलिएन, डा.गोविन्द केसीसँगको सम्झौता तोडियो, निर्मला पन्त प्रकरणका दोषीलाई बचाउन लागे, बूढीगण्डकी जलविद्युत् आयोजना विदेशी कम्पनीलाई सुम्पे, कांग्रेसले ल्याएको सामाजिक सुरक्षा ऐनको श्रेय लिन असफल होड गरियो ।’


आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपलब्धि सार्वजनिक गरेपछि आइतबार कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको हो ।


कांग्रेस प्रवक्ता शर्माले सरकार संघीयतालाई कमजोर पार्न नियतवश नै लागेको आरोप लगाए । ‘सरकारले नियतवश संघीयतालाई कमजोर बनाउने कार्य गरिरहेको छ’ उनले भने, ‘शक्तिलाई केन्द्रिकृत गरेर प्रधानमन्त्री कार्यालयमा राख्ने कार्य भयो, कर्मचारी समायोजन पूरा गर्ने, प्रदेश सरकारलाई शक्तिशाली बनाउने काममा चुकिरहेको छ । प्रदेश सरकारलाई सिडिओ कार्यालयको छायाँजस्तो बनाउन खोजियो ।’


वर्ष दिनमा पनि संघीयताको बाँकी कार्यभार पूरा गर्न सरकार गम्भीर नभएको उनको भनाइ थियो । सरकारले अझै केही प्रदेशको नामकरण र राजधानी टुंग्याउन नसकेकोमा प्रवक्ता शर्माले असन्तुष्टि जनाए ।


उनले लोकतान्त्रिक अवरणमा सरकार रहेपनि अचरणमा चुकेको टिप्पणी गरे । प्रेसलाई नियन्त्रित र निरुत्साहित बनाउने काम भएको भन्दै प्रवक्ता शर्माले सरकारको कडा आलोचना गरे । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रित गरेर जाने विधेयक तयार पारेको प्रति पनि उनले आपत्ति जनाए ।

प्रकाशित : फाल्गुन ५, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?