१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित 

कान्तिपुर संवाददाता

कास्की — औपचारिक र अनौपचारिक वार्तामा व्यवस्थापन पक्ष विद्यार्थीका माग पूरा गर्न तयार नभएपछि गण्डकी मेडिकल कलेजको पठनपाठन प्रभावित भएको छ ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित 

विद्यार्थीले सरकारद्वारा निर्धारित शुल्कमात्रै लिनुपर्ने, बढी लिएका शुल्क सबै फिर्ता गर्नुपर्ने र आफूहरूले बुझाएका शुल्कको रसिद उपलब्ध गराउनुपर्नेलगायत चारबुँदे माग राखेका छन् ।


दुई सातादेखि आन्दोलित सन् २०१५ देखि २०१८ सम्मको ब्याचका विद्यार्थी पदाधिकारीका कार्यकक्ष र कक्षामा तालाबन्दी गरी कलेज परिसरमा धर्नामा बसेका छन् । विद्यार्थीको आन्दोलनपछि कलेजको अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छन् ।


कलेज प्रशासनले मंगलबार आन्दोलनरत विद्यार्थीमध्येबाट ७ जनालाई वार्ताका लागि भन्दै करिब ३० किमि परको लुम्लेस्थित देउराली रिसोर्टमा लगेको थियो । अनित सिन्हा, प्रवीन गौतम, सुशील सुवेदी, परिवर्तन भाट, प्रेमदेव जोशी, रवीना मिश्र र विप्लव खत्रीलाई लगिएको थियो भने व्यवस्थापनका तर्फबाट प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, सीईओ कृष्ण घिमिरे, अधिकृतहरू युवराज शर्मा, दिनेश पौडेल र कृष्ण पौडेल पुगेका थिए ।


धर्नामा बसेका विद्यार्थीले बुधबार पत्रकार सम्मेलन गर्दै अपहरणको शैलीमा लगेर दबाब दिन खोजे मान्न नसकिने बताएका छन् । ‘वार्ताका नाममा कलेज प्रशासनले ६/७ जना विद्यार्थीलाई एकान्तमा लैजानु तर मुख्य मुद्दामा छलफल नगर्नु यो कुन तरिका हो ?’ विद्यार्थी रविना मिश्रले भनिन्, ‘वार्ता जिल्ला प्रशासनमा हुनुपर्छ । सबैका अगाडि हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?