१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सरकारकाे एक वर्ष : अर्थतन्त्रका सूचक नकारात्मक

यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएका छन् । गत वर्षको पहिलो ६ महिनाको तुलनामा शोधनान्तर स्थिति, व्यापार घाटा, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चिति, मूल्यवृद्धिलगायत सूचक खस्किएका हुन् । 

सरकारकाे एक वर्ष : अर्थतन्त्रका सूचक नकारात्मक

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनमा अर्थतन्त्रलाई चलायमान बनाइरहेको रेमिट्यान्स आप्रवाह भने घटेको छैन ।


अर्थतन्त्रका प्रमुख सूचक नकारात्मक देखिनु राम्रो संकेत नभएको अर्थविद् केशव आचार्यले बताए । ‘यो डरलाग्दो अवस्थाको संकेत हो,’ उनले भने, ‘अब तिनको कारण पहिचान गरी समाधानको उपाय खोजी गर्नुपर्छ ।’ विदेशी लगानीका लागि सरकारले आग्रह गरे पनि लगानीकर्ताले विश्वास नगर्दा यस्तो अवस्था आएको उनले बताए । ‘विदेशी लगानीकर्तालाई मुखले मात्र आह्वान गर्‍यौं,’ उनले भने, ‘व्यावहारिक रूपमा उनीहरूलाई लगानीमैत्री वातावरण भएको विश्वास दिलाउन सकेनौं ।’


चालु आवको पहिलो ६ महिनामा मूल्य वृद्धिदर ४.६ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.६ प्रतिशतले बढी हो ।


०७४ पुससम्म वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४ प्रतिशत थियो । उक्त अवधिमा घरायसी सेवा तथा उपयोगिता, लुगा तथा जुत्ता, यातायात र फर्निसिङ तथा घरायसी उपकरणलगायतको मूल्य बढेकाले समग्र वृद्धिदर बढेको राष्ट्र बैंकले बताएको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा छ ।


गत पुसमा काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर ५.२ प्रतिशत छ । सोही अवधिमा पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ र तराईमा ४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा २.९, पहाडमा ४.४, हिमालमा ५.५ र तराईमा ४.४ प्रतिशत थियो ।


अहिले पनि नेपालको कुल व्यापारको करिब ६५ प्रतिशत हिस्सा भारतसँग हुन्छ । त्यहाँको मूल्यवृद्धिले नेपाली बजार पनि प्रभावित हुँदै आएको छ । गएको ६ महिनामा भारतको मूल्य वृद्धिदर २.०५ प्रतिशत छ । गत वर्षको तुलनामा पछिल्लो ६ महिनामा भारतको मूल्य वृद्धिदर घटेको हो । ०७४ पुसमा भारतको मूल्य वृद्धिदर ५.१ प्रतिशत थियो । भारतको मूल्य वृद्धिदर घटदा नेपालमा बढ्नु राम्रो संकेत नभएको अर्थविद् आचार्यले बताए ।


मुलुक साढे ६३ अर्ब घाटामा

पछिल्लो ६ महिनामा मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम (शोधनान्तर स्थिति) करिब साढे ६३ अर्ब रुपैयाँ बढी छ । राष्ट्र बैंकका अनुसार मुलुकको भुक्तानी सन्तुलन ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । ०७४ पुसमा शोधनान्तर अवस्था ६ अर्ब ६६ करोडले ऋणात्मक थियो ।


मंसिरको तुलनामा पुसमा भुक्तानी सन्तुलनको अवस्था सुधारिएको हो । मंसिरसम्म अर्थतन्त्र करिब ८५ अर्ब रुपैयाँले घाटामा थियो । पुसमा १७ अर्ब ५६ रुपैयाँ विदेशी ऋण प्राप्त भएकाले शोधनान्तर घाटामा कमी आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । चालु आवको ६ महिनामा सरकारले कुल ३३ अर्ब ३२ करोड रुपैयाँ विदेशी ऋण प्राप्त गरेको शोधनान्तर विवरणमा उल्लेख छ ।


चालु वर्षको ६ महिनामा ४ अर्ब ३६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ७० प्रतिशतले कम हो । ०७४ पुससम्ममा १४ अर्ब ३३ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । राजनीतिक स्थिरता आएको भनिए पनि अपेक्षित रूपमा लगानीमैत्री वातावरण बन्न नसकेकाले एफडीआई घटेको अर्थविद्हरू बताउँछन् ।


विदेशी विनिमय सञ्चिति घट्यो

गत पुससम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लोचोटिको तुलनामा यो ९ अर्ब १४ करोड रुपैयाँले कम हो । ०७४ पुसमा विदेशी विनिमय सञ्चिति १० खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ थियो । यस्तै, असारको तुलनामा पुसमा विदेशी विनिमय सञ्चिति करिब साढे ४४ अर्ब रुपैयाँले घटेको देखिन्छ ।


गत असारमा कुल सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा ०७५ पुससम्म ९ अर्ब ४१ करोडमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश साढे २४ प्रतिशत छ ।


६ महिनाको कुल आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ ।


साढे ४ खर्ब रेमिट्यान्स

६ महिनामा रेमिट्यान्समार्फत ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ मुलुक भित्रिएको छ । यो ३०.२ प्रतिशत वृद्धिदर हो । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । त्यति बेला रेमिट्यान्स आप्रवाह वृद्धिदर ०.५ प्रतिशतले घटेको (ऋणात्मक) थियो ।


पछिल्ला वर्ष रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटदै गएको छ । ‘अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको थियो ।’


व्यापार घाटा पौने ७ खर्ब

आयातको तुलनामा निर्यात धेरै कम हुँदा ६ महिनामा मुलुकले ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३२.१ प्रतिशतको वृद्धि हो । ०७४ को पहिलो ६ महिनामा कुल व्यापार घाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ थियो ।


उक्त अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो १०.३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले बढेको थियो । चालु वर्षको पहिलो ६ महिनामा पोलिस्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचालगायत वस्तुको निर्यात बढेको छ । अलैंची, रोजिन, छाला, जुत्ता तथा चप्पल आदिको निर्यात घटेको सरकारी तथ्यांक छ ।


यसैगरी ६ महिनामा ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कुल आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे ३० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो । उक्त अवधिमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, तयारी पोशाक, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतको आयात बढेको छ ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?