कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वागवानीका ‘एन्टिभाइरस’

विज्ञान-अन्वेषणतर्फको 'कान्तिपुर आइकन' वागवानी विज्ञ मुकुन्द रञ्जित
दीपक अधिकारी

काठमाडौँ — मध्य बानेश्वर, काठमाडौंको गुराँस टोलमा रहेको एउटा घरको भुइँ तलाको साँघुरो कोठामा ग्रिन रिसर्च एन्ड टेक्नोलोजी ल्याबको कार्यालय छ । ढोका खोलेर भित्र पसेपछि एप्रोन लगाएका युवायुवती ल्याबमा काम गरिरहेका भेटिन्छन् ।

वागवानीका ‘एन्टिभाइरस’

त्यहाँबाट अझ भित्र गएपछि प्रयोगशालाको खास झलक देखिन्छ, कृत्रिम प्रकाश र तापक्रममा तन्तु प्रजनन (टिस्यु कल्चर) गरिएका करिब २० हजार आलु, पौलिनिया, अलैँची र केराका बेर्ना स्टिल र्‍याकमा लस्करै राखिएका छन् । पाँच जना जैविक प्राविधिकले तिनमा भिटामिन र पोषण पुगे/नपुगेको जाँच्छन् ।


‘यिनको विशेषता के भने, यी भाइरस फ्रि छन् । हामीले व्यापारिक प्रयोजनका लागि यिनको उत्पादन गरिरहेका छौँ । हाम्रो लक्ष्य १ लाखसम्म बेर्ना उत्पादन गर्ने संरचना बनाउने हो,’ फ्रेञ्च कट दाह्री पालेका ७१ वर्षे वागवानी विज्ञ मुकुन्द रञ्जित भन्छन् ।


ल्याव रञ्जितको हो । उनले आफ्नै पूर्व विद्यार्थीहरुले खोलेको कालापास बायोटेक प्रालिलाई केही समयका लागि ल्याव भाडामा दिएका हुन् । रञ्जित आफै सल्लाहकार रहेर उनीहरुलाई मार्गदर्शन गरिरहेका छन् ।


ललितपुरस्थित काठमाडौं भ्याली कलेजको जैविक प्रविधि विभागका निर्देशक रञ्जित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ पनि हुन् । आफ्नो आधाभन्दा बढी उमेर उनले नेपालमा कृषि क्षेत्र (खासगरी वागवानी) सम्बन्धी शोध, अनुसन्धान र विकासका लागि खर्चेका छन् । नेपाल बायोटेक्नोलोजिकल एसोसिएसनका संस्थापक महासचिव र वर्तमान अध्यक्ष रहेका रञ्जितका मुख्य ध्येय फलफूल र तरकारीलाई भाइरसमुक्त बनाई उत्पादकत्व बढाउनु रहेको छ ।

२०४६ सालमा वागवानी विभागमा कार्यरत रहँदा उनले गरेको आलुमा लाग्ने रोगसम्बन्धी परीक्षणले नेपालको दोस्रो लोकप्रिय बाली उत्पादनमा आमूल परिवर्तन ल्यायो । ‘हामीले नेपालमा भएका जति पनि आलुका प्रजाति थिए, तिनलाई भाइरसमुक्त पार्‍यौँ । ‘प्रि–बेसिक सिड’ लाई कृत्रिम जालीघर भित्र, विशेष प्रकारको भाँडोमा माटो, बालुवामा राख्यौँ,’ उनी भन्छन् । तर मिनी ट्युबर भनिने त्यस्ता भाइरस मुक्त आलुका बीउको मूल्य किसानले धान्नै नसक्ने थियो ।

उनको टोलीले स्विस सरकारको सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत आलु अनुसन्धान कार्यक्रममार्फत सस्तोमा आलुको बीउ उत्पादन गर्‍यो । उक्त कार्यक्रमअन्तर्गत ६ वर्षमा झन्डै १२ लाख भाइरसमुक्त आलुको बीउ नेपालभरका किसानलाई वितरण गरियो । रञ्जितले भाइरसमुक्त आलु विकास गर्नुअघि पहाडी भेगका आलुमा भाइरस नलाग्ने भएकाले तराईका किसान आलुको बीउ किन्न पहाड उक्लिन्थे । तर उनले त्यसको अन्त्य गरिदिए ।

‘नेपाल सरकारअन्तर्गतका निकायमा रहेर उहाँले आलुसम्बन्धी अन्वेषण गर्नुभयो,’ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जैविक प्रविधि विभागबाट हालै अवकाश प्राप्त प्राध्यापक त्रिविक्रम भट्टराईले भने, ‘यसमा उहाँ अगुवा हुनुहुन्छ । सुन्तलामा लाग्ने भाइरसको ठूलो समस्या निराकरण गर्न पनि उहाँको योगदान छ ।’ यो दक्षिण एसियाकै पहिलो यस्तो कार्यक्रम थियो जसले नेपालका हिमाल, पहाड र तराई तीनै क्षेत्रका किसानलाई गुजारामुखी खेतीबाट व्यावसायिक खेतीतर्फ लाग्ने बाटो खोलिदियो ।

दक्षिण अमेरिकाको एन्डिज पर्वत शृंखलामा हजारौं वर्षअघि पत्ता लागेको मानिने आलु अठारौं शताब्दीको अन्त्यतिर भारत हुँदै नेपाल भित्रिएको अनुमान छ । सोह्रौं शताब्दीमा स्पेनिस अतिक्रमणकारीले दक्षिण अमेरिकाबाट युरोप भित्र्याएको यो पोषिलो बालीलाई त्यहाँका बासिन्दाले झट्टै ग्रहण गरेनन् । आलु विषालु हुन सक्ने आशंका व्याप्त थियो । तर बिस्तारै त्यो त्रास हटदै गयो । युरोपमा भोकमरीको अन्त्य र औद्योगिक कृषिको सुरुवात आलुका कारण भएको मानिन्छ । दक्षिण एसियाको हिमाली भेगमा बुद्ध धर्मको विस्तारमा पनि यसको भूमिका रहेको मानिन्छ ।

नेपालमा ढिलो भित्रिएको आलु दशकौंसम्म रोगको आक्रमणमा पर्‍यो । मध्य पहाडका मलिला बारी र त्यहाँको हावापानी आलु उत्पादनका लागि उत्कृष्ट छँदाछँदै पनि ६ प्रकारका भाइरसका कारण ३०–४० वटासम्म फल्ने ठाउँमा उत्पादन ४–५ वटामा सीमित भयो । रञ्जितले प्रयोगशालामा उत्पादित भाइरसरहित प्रजाति ५० वटा कृषक समूह बनाएर हिमाल, पहाड र तराई सबैतिर वितरण गरे जसले गर्दा उत्पादन प्रतिहेक्टर ४ मेट्रिक टनबाट १४ मेट्रिक टन पुग्यो । तर उनको अध्ययन अन्वेषण आलुमा सीमित रहेन । वागवानी विभागअन्तर्गत उनले कैयौं जिल्लामा फलफूलका नर्सरी र बगैँचा स्थापना गर्न सहयोग गरे । किसानहरूलाई गुजारामुखी खेतीबाट फलफूल खेती गरी व्यावसायिकतातर्फ अघि बढ्न प्रेरित गरे । जुम्लामा स्याउको बीउ पुर्‍याउन होस् या भाइरसमुक्त स्ट्रबरी, एभोकाडो, जुकिनी, चुच्चे ओखर भित्र्याउन रञ्जितले नै भूमिका खेलेका थिए ।

काठमाडौंको जैसीदेवलमा रञ्जितकार परिवारमा जन्मिएका उनका हजुरबुबा भुवनदास राणकालमै ठेक्कापट्टा गर्थे । बुबा कीर्तिदासले थरको पुच्छरको ‘कार’ लाई तिलाञ्जली दिए । परिवार यति ठूलो थियो कि कहिलेकाहीँ भात पस्किँदै जाँदा अन्तिमतिर बसेका सानातिनालाई पुग्दैनथ्यो । तर ब्यापारमा दक्ष नेवार परिवारलाई खासै आर्थिक समस्या थिएन । सात वर्षको उमेरमा उनी ताहाचलको आधार हाई स्कुलमा १ कक्षामा भर्ना भए । उनका जोडा थिए एक वर्ष जेठा आफ्नै काका । काका पनि भर्ना भए । तर दुई कक्षाको अन्तिम परीक्षामा १० विषयमध्ये ७ मा फेल भए रञ्जित । अंग्रेजी, नेपाली र गणितमा मात्र पास भए । ‘पछिसम्म पनि मेरा आफन्तले त्यो कुरालाई लिएर जिस्क्याइरहन्थे,’ उनी भन्छन् । तर विश्व निकेतन माविमा भर्ना भएपछि उनी कक्षामा पहिला हुँदै गए ।

छात्रवृत्तिमा लेबननको अमेरिकन विश्वविद्यालयबाट कृषि तथा कृषि इन्जिनियरिङमा डिप्लोमा गरेका उनको जीवनमा महत्त्वपूर्ण मोड २०३५ सालतिर आयो । छात्रवृत्ति पाएर क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा कृषिमा मास्टर अफ साइन्स गर्न उनी अमेरिका गए । त्यसको ६ वर्षपछि कृषिका लागि विश्वकै उत्कृष्टमध्येमा पर्ने युनिभर्सिटी अफ क्यालिफोर्निया डाभिसबाट ‘प्लान्ट फिजियोलोजी’ मा विद्यावारिधि गरे ।

अमेरिकाबाट नेपाल फर्केपछि उनको अगुवाइमा कीर्तिपुरमा जापान सरकारको सहयोगमा एउटा फलफूल बगैँचा स्थापना गरियो, जसमा स्याउ र मौसमको तन्तु प्रजनन गरिएको थियो । चार वर्षसम्म चलेको तन्तु प्रजनन प्रयोगशालासहितको उक्त बगैँचा २०४६ सालपछि सेनाले जग्गा लिएपछि अनुसन्धान रोकियो । त्यसमा उनी अझै थकथकी मान्छन् ।

कृषि प्रधान मुलुक भनेर रट लगाइए पनि कृषिको औद्योगीकरणका लागि हुनुपर्ने वैज्ञानिक शोध र अनुसन्धानमा नेपाल निकै पछि परेको रञ्जित स्विकार्छन् । ‘हामी नयाँ प्रविधि भित्र्याउने कुरा गर्छौं तर प्रविधिका लागि त पहिले वैज्ञानिक शोध हुनुपर्‍यो नि !

विज्ञान भएपछि बल्ल प्रविधि आउँछ,’ उनी भन्छन्, ‘हामीलाई उपयोगी हुने प्रविधिका लागि पहिले त अन्वेषण हुनुपर्‍यो । हामीले अनुसन्धान र विकासमा कति लगानी गरेका छौँ ?’ यिनै प्रश्नहरूको जवाफमा सम्भवत: नेपाल विज्ञान प्रविधिको क्षेत्रमा अघि बढ्न नसक्नुका कारणहरू फेला पर्न सक्छन् ।


प्रकाशित : फाल्गुन १, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?