कान्तिपुर आइकन आजदेखि क्रमश: घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया गु्रपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा कान्तिपुर आइकन घोषणा गरेको छ । 

कान्तिपुर आइकन आजदेखि क्रमश: घोषणा

मुलुकको समाज–राजनीति, सिर्जना–कला, अर्थ–उद्यम र विज्ञान–अन्वेषण क्षेत्रमा योगदान पुर्‍याएका अगुवा तथा प्रेरणादायी व्यक्तित्वलाई कान्तिपुरको २६ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरिनेछ ।


जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान काठमाडौंमा फागुन ६ गते हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान हुने फाउन्डेसनले जनाएको छ ।


हरेक विधामा अलग–अलग स्वतन्त्र निर्णायक मण्डलले देशभरिबाट अनलाइन, हुलाक र इमेलमार्फत प्राप्त सयौँ मनोनयन/आवेदनहरूको अध्ययन/विश्लेषणपछि आइकन छनोट गरेको हो । प्राप्त आवेदनहरूलाई विभिन्न मापदण्डबाट वैज्ञानिक विश्लेषण गरी कान्तिपुर आइकन छनोट गरिएको फाउन्डेसनले जनाएको छ ।


निर्णायक मण्डलका सदस्यमा पीताम्बर शर्मा, गणेश गुरुङ, वन्दना राणा, अभि सुवेदी, नयनराज पाण्डे, डा. सन्दुक रुइत, अजय दीक्षित, सुरेश कर्ण, सुजीव शाक्य, विद्याधर मल्लिक, कैलाश सिरोहिया, सुधीर शर्मा र अखिलेश उपाध्याय थिए ।


‘फाउन्डेसनका तर्फबाट कान्तिपुर आइकन घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ,’ कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाले भने । सम्मानित व्यक्तिका व्यक्तिचित्र आजदेखि चार दिनसम्म हरेक दिन एक–एक विधामा प्रकाशित हुनेछ ।

प्रकाशित : फाल्गुन १, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?