कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मक्किँदै अशोक स्तम्भ

मनोज पौडेल

लुम्बिनी — संरक्षणमा ध्यान नदिँदा लुम्बिनीस्थित अशोक स्तम्भ मक्किन थालेको छ । बढ्दो प्रदूषण र हानिकारक कण टाँसिएकाले स्तम्भ दिनप्रतिदिन कमजोर बन्दै गएको पुरातत्त्वविद्ले जनाएका छन् । 

मक्किँदै अशोक स्तम्भ

‘३ वर्ष लगाएर गरिएको अध्ययनले स्तम्भमा विभिन्न हानिकारक तत्त्व टाँसिएको देखाएको थियो,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘अहिले दोब्बर प्रदूषण बढेकाले झन् असर परेको छ ।’ यो अध्ययन २ वर्षअघि भएको थियो ।

युनेस्कोका परामर्शदाता तथा स्टोन विशेषज्ञ कन्स्ट्यान्टिनो म्युचीले स्तम्भको सूक्ष्म अध्ययन गरेका थिए । स्तम्भमा आईआर क्यामरा र अत्याधुनिक उपकरण जडान गरेर अनुसन्धान गर्दा सिमेन्टका कण, जिप्सम, क्रिस्टल र साना ढुंगा टाँसिएको पाइएको थियो । स्तम्भको बाहिरी क्षेत्रमा सल्फर, धूवाँ, धुलो, प्लास्टिकका टुक्रा पाइएको थियो ।

पुरातत्त्वविद्ले यस्ता हानिकारक तत्त्वबीच रासायनिक प्रतिक्रिया भएर स्तम्भ क्षयीकरण भएको बताएका छन् ।

यो स्तम्भ हल्का फुक्का रङको बलौटे ढुंगाको हो । यसमा रासायनिक कणले धेरै असर गरिरहेको हुन्छ । तत्काल नदेखिए पनि दीर्घकालमा असर पुर्‍याउने पुरातत्त्वविद्को भनाइ छ ।

म्युचीले आफ्नो प्रतिवेदनमा सतर्कता अपनाउन सुझाव दिए पनि त्यसतर्फ ध्यान गएको छैन । यहाँ आउने भिक्षु–भिक्षुणी र उपासक–उपासिकाले गर्ने पूजाका कारण खुला आकाशमुनि रहेको यो स्तम्भमा असर परिरहेको छ । थाइल्यान्डका भक्तजनले स्तम्भमा परफ्युम छर्कन्छन् । श्रीलंकालीले आफ्नो मुलुकबाट ल्याएको दूधले पखाल्छन् । मधेसमा बसोबास गर्ने नेपालीले खाने तेल छर्कन्छन् । यस्ता तत्त्वले स्तम्भलाई नकारात्मक असर पुर्‍याउने विज्ञहरूको भनाइ छ । यसको असली रङ हराउँदै गएको छ ।

भारतीय सम्राट् अशोक बुद्धस्थलमा तीर्थाटन गर्न आउँदा मुलुकका ३ स्थानमा स्तम्भ गाडेका थिए । तीमध्ये लुम्बिनीको अशोक स्तम्भ कम क्षति भएकामा मानिन्छ । जमिनमाथि ३० फुट साढे १० इन्च अग्लो यो स्तम्भ डेढ मिटर अग्लो फलामे बारले घेरिएको छ । माथिपट्टिको खुला ठाउँबाट सबैले पूजा सामग्री र प्रसाद फाल्दा यसमा असर पर्ने गरेको छ । स्तम्भमा चढाइएको तेलको चिल्लो लामो समयसम्म जाँदैन ।

सर्वसाधारण र धर्मावलम्बीले चढाएका फलाम, तामा र चाँदीका सिक्काले स्तम्भमा चोट लाग्ने गरेको छ । त्यसक्रममा स्तम्भबाट धुलो झर्ने गरेको छ ।

अशोक स्तम्भ नजिकै १८ फिट गहिरो पुष्करणी पोखरी छ । मायादेवी माइत जाने क्रममा सुत्केरी हुँदा नुहाएको मानिने यो पोखरीदेखि स्तम्भ १५ मिटर मात्र पर छ । स्तम्भको जमिनमुनिको भाग १३ फुट ८ इन्च छ । पोखरीको पानी वा चिस्यानले पनि स्तम्भमा क्षति पुर्‍याएको हुन सक्ने स्टोन विशेषज्ञ म्युचीको आशंका छ । पानीको स्रोत स्तम्भले छोयो भने ‘साल्ट एक्सन’ भई कमजोर बन्दै जान्छ । ‘स्तम्भको महत्त्व नबुझ्दा पहिले त्यसैमाथि लट्ठा बाँधेर बिजुलीको पोल बनायौं,’ पुरातत्त्वविद् बिडारीले भने, ‘अहिले बुझेर पनि चुप बसेका छौं ।’


यहीकारण छिटो सुरक्षात्मक व्यवस्था गर्नुपर्ने उनले बताए । स्टोन विशेषज्ञ म्युचीको प्रतिवेदनपछि स्तम्भलाई सुरक्षित बनाउन गृहकार्य भइरहे पनि ढिलाइ भएको लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए । ‘पारदर्शी रूपले स्तम्भलाई ढाक्छौं,’ उनले भने, ‘सिसा र फाइवर केले ढाक्ने भन्नेमा निर्णय हुन सकेको छैन ।’

म्युचीले प्रतिवेदन बुझाएको ३ वर्ष बितिसक्दा पनि कोष चुपचाप छ । कोषका कर्मचारीले लुम्बिनीको आस्था बढाउनेभन्दा पनि कताबाट आम्दानी हुन्छ भन्नेतिर ध्यान दिने गरेको एक स्थानीयले बताए । ‘त्यही भएर नबिग्रिँदासम्म लुम्बिनीमा केही हुनेवाला छैन,’ उनले भने । स्तम्भले भारतीय सम्राट् अशोकको लुम्बिनी यात्रा, त्यसको उद्देश्य र लुम्बिनीमा उनका पवित्र क्रियाकलापबारे जानकारी दिएको छ ।

स्तम्भ यहाँ २४९ ईसापूर्वमा ठड्याइएको थियो । यो भारत, उत्तर प्रदेशको वाराणसी नजिक चुनार पहाडबाट ल्याइएको बलौटे ढुंगाको हो । ‘बुद्ध लुम्बिनीमा जन्मिएको अकाटय प्रमाण यो अशोक स्तम्भ हो,’ भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यसकारण यसको संरक्षणमा लाग्नुपर्छ ।’

प्रकाशित : माघ २९, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?