कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आधारशिला ‘कम्युनिस्टको घर’

कम्युनिस्ट आन्दोलनमा लागेका पूर्णकालीन सदस्य र सहिद परिवारलाई राख्न ११ कट्ठामा ४ वटा घर बनाएर सुरु गरिएको आधारशिला पछि राजा ज्ञानेन्द्रको ‘कू’ सँगै कम्युनिस्टको सामूहिक घर बन्यो, जहाँ अहिले पनि ४३ जना बस्छन् । 
अजित तिवारी

बर्दिवास, महोत्तरी — पचासको दशकमा तत्कालीन नेकपा एकता केन्द्र दुई विचारमा विभाजित भयो । एउटा पक्ष जनयुद्धतिर लाग्यो, अर्को शान्तिपूर्ण राजनीतिमा । विभाजन भएपछि तत्कालीन महासचिव नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टी बन्यो ।

आधारशिला ‘कम्युनिस्टको घर’

त्यो पार्टीले पूर्णकालीन कार्यकर्ता बन्न आहवान गर्‍यो । त्यतिबेला केही पूर्णकालीन कार्यकर्ता बन्न आए । उनीहरूको व्यवस्थापन गर्नुपर्ने थियो । पार्टीले त्यसका लागि आधारशिला अर्थात् कम्युनिस्टको सामूहिक घर बनायो ।


२०५९ माघ २५ गते सिरहाको गोलबजारमा स्थापना गरिएको आधारशिला ६ वर्षपछि महोत्तरीको बर्दिवासमा सारियो, जहाँ ११ कट्ठामा ४ वटा घर बने । त्यहाँ कम्युनिस्ट आन्दोलनमा लागेका पूर्णकालीन सदस्य र सहिदका परिवारलाई राखियो । त्यहाँ सबै काम सामूहिक हुन्छ ।


१५ परिवारका ४३ सदस्यको बसोबास रहेको आधारशिलाको एउटा कोठामा कम्युनिस्ट आन्दोलनका पुराना नेता दीपबहादुर योञ्जन पनि बस्छन् । ‘राजनीतिक जीवनमा लाग्दा घरपरिवार अनुकूल हुन्न,’ आधारशिलामा बस्नुको कारण योञ्जनले यसरी प्रस्ट्याए, ‘दोहोरो जीवनले राजनीति चल्दैन । सामाजिक र पारिवारिक जीवनमा फरक हुन्छ । त्यसैले आधारशिलाको कन्सेप्ट ल्याएका हौं ।’


शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको घर पनि त्यही आधारशिला नै हो । उनी आफ्नो निर्वाचन क्षेत्रमा आउँदा आधारशिलामै बस्छन् । त्यहीँ खान्छन् । नेता–कार्यकर्ता भेट्नुपर्दा त्यहीँ बोलाउँछन् । पोखरेलले आफ्नो अंशको ७ कट्ठा बेचेर आधारशिलाको जग बसालेका हुन् । ‘होलटाइमर कार्यकर्ता व्यवस्थापन गर्ने नयाँ सोचअनुसार आधारशिला स्थापना गरियो,’ पोखरेलले भने, ‘सामूहिकताको यो नयाँ अभ्यास थियो ।’


बर्दिवासबाट सिन्धुली जाने बाटोको गौरीडाँडामा आधारशिला छ । ४ वटा घर, जय गोविन्द अध्ययन केन्द्र र भान्सा छन् । त्यहाँ बस्ने सबैजनाको एउटा भान्सा छ । खानेकुरा उनीहरू सबैले आ–आफ्नो तरिकाले जुटाउँछन् । उत्पादनमूलक काम गर्छन् । त्यहीँबाट आर्जन गरेको पैसा भान्सामा खर्च गर्छन् । खाली जग्गामा सामूहिक खेती गरिन्छ । खेतकै बीचमा गोठ छ ।


४ छोराछोरी र श्रीमतीसहित आधारशिलामै बस्ने धु्रव कार्कीका अनुसार आयआर्जनका विभिन्न माध्यमले आधारशिला चलेको छ । आधारशिलाको रुचि मसला उद्योग, सर्लाहीको लालगढमा ठेक्कामा खेतीपाती, सर्लाहीकै हरिपुरमा खसीपालन र त्यहाँ बसोबास गर्नेले जागिरबाट आर्जन गरेको पैसा नै आधारशिला चलाउने मुख्य आम्दानी हो ।


‘हाम्रो आम्दानीले दुई छाक धानेको छ । पढाइको खर्च जुटाउन समस्या छ,’ कार्कीले कान्तिपुरसँग भने । पूर्णकालीन कार्यकर्ता र सहिद परिवारका १८ छोराछोरी राखेर होस्टेल मोडेलमा सुरु भएको आधारशिलामा पछि परिवारसहितको बसोबास हुन थालेको हो । ‘सांस्कृतिक–सामाजिक रूपान्तरणका लागि आधारशिलाको सुरुवात गरियो,’ संरक्षकसमेत रहेका मन्त्री पोखरेलले भने, ‘अब यसलाई पार्टीको अंग बनाउनुपर्छ । र, नयाँ बहस–छलफल थाल्नुपर्छ ।’


आधारशिलाले शुक्रबार स्थापनाको १६ औं वर्षगाँठ मनाएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र आधारशिलाका अर्का परिकल्पनाकार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्षगाँठमा सहभागी भए । ‘आधारशिला नयाँ प्रयोग हो, यसबारे पार्टीमा छलफल गर्नुपर्छ,’ नेपालले भने, ‘संविधानले पनि समाजवादको दिशा लिएको छ । नेकपाको पनि त्यही निर्देश छ । खुसी परिवार र सम्पन्न देश बनाउन आधारशिला राम्रो प्रयोग हो ।’


‘कू’ पछिको सामूहिकता

आधारशिला तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ पछि सामूहिकतामा प्रवेश गरेको हो । राजनीतिक पार्टीलाई लगाम लगाइएपछि आधारशिलालाई महिला संगठनको ब्यानरमा सञ्चालन गरियो । मन्त्री पोखरेलले त्यसपछि मातृत्व र पितृत्व गुणले नै बालबच्चाको प्रस्फुटन हुने भएकाले आधारशिलालाई सामूहिकतामा बदलिएको बताए ।


०६२/६३ को जनआन्दोलनपछि नेताहरू खुला जीवनमा आए । त्यसपछि आधारशिलालाई फेरि नयाँ ढंगमा ढालियो । त्यसको नाम दिइयो, पुनर्जागृत आधारशिला । ‘त्यो भनेको आवासीय मोडेल हो,’ पोखरेलले भने ।

प्रकाशित : माघ २६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?