पानीका लागि जग्गा खरिद

एलिसा श्रेष्ठ

भोजपुर — दशकअघि दिङ्लाका घनश्याम, हेमराज, खिलराज र डुण्डी श्रेष्ठ दाजुभाइ मिलेर ८० हजार रुपैयाँमा षडानन्द नगर ८ तुङ्गेछाका पोष्टबहादुर चापागाईंको चार आना जग्गा किने । उनीहरूले उक्त जग्गा खेती गर्न र घरघडेरीका लागि किनेका होइनन् । किन्नैपर्ने कारण थियो, खानेपानीका लागि ।

मानेभन्ज्याङ अर्चलेबाट डोकोमा बोकेर पानी लैजाँदै स्थानीय । तस्बिर : एलिसा/कान्तिपुर

जग्गाधनीले आफ्नो मुहानको पानी लैजान जग्गै किन्नुपर्ने सर्त राखेपछि उनीहरूले चापागार्इंले मागेजति पैसा हाले । र, घरसम्म खानेपानी पाइप बिछ्याए । ‘गाउँ नजिकैका मुहान सुके, खानेपानी ल्याउन एकमात्र विकल्प त्यही जग्गा थियो,’ घनश्यामले सुनाए, ‘जग्गाधनीले त्यसै उपभोग गर्न दिन मानेनन् । किन्नुपर्ने भएपछि किनियो ।’


दिङ्ला बजारकै २२ घरधुरीले ३० लाख रुपैयाँमा बजारदेखि झन्डै एक किलोमिटर टाढा मुर्कुटेधाराका प्रेमनाथ चापागाईंको जग्गामा पर्ने मुहानका लागि १२ रोपनी जग्गा किने । गाउँमा खानेपानीको स्रोत नहुँदा वैकल्पिक उपायका लागि जग्गा किनेर प्रत्येकका घरमा धारा पुर्‍याइएको छ ।


खानेपानी मुहानका लागि अन्य पायक पर्ने स्रोत नभएपछि जग्गै किन्नुपरेको दिङ्ला बजारका पवन कुलुङले बताए । ‘खानेपानीका लागि हामीसँग कुनै विकल्प थिएन,’ कुलुङले भने, ‘जग्गाधनीसँग पानीका लागि जमिन किन्नुपर्ने बाध्यता थियो ।’


आसपासमा खानेपानी मुहान सुलभ नहुँदा दिङ्लाका धेरैजसोले यस्तो समस्या खेप्नुपरेको छ । कहिलेकाहीं मुहानमा आउने विभिन्न समस्याले पानी नआउँदा घन्टौं सार्वजनिक धारामा पालो कुर्नुपथ्र्यो । अझ आफ्ने पालो आउँदाट्यांकीमा पानी सकिएर रित्तै फर्कनुपर्ने अवस्था धेरै पटक भएको स्थानीय नारायण श्रेष्ठले सुनाए । उनीलगायत दिङ्ला बजारका चार परिवारले ४ वर्षअघि ४ लाख रुपैयाँमा २ रोपनी जग्गा किनेर ८ सय मिटर टाढाबाट खानेपानील्याएका छन् ।


दिङ्ला बजार क्षेत्रमा खानेपानी आपूर्तिका लागि केउरेनीपानी खानेपानी उपभोक्ता समितिले जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन भोजपुरको सहयोग र सहकार्यमा ०७३ सालदेखि नगरपालिकाको किमालुङ, खार्तम्छा र तुङ्गेछाको सीमामा पर्ने खहरे खोलाबाट खानेपानी ल्याउने योजना सुरु गरेको थियो । ०७६ भित्र खानेपानी मुहान, ट्याङ्की, पाइप जडान सक्ने लक्ष्यसाथ थालिएको योजनाका आवश्यक कच्चापदार्थ सबडिभिजनले व्यवस्थापन गरेको छ ।


केउरेनीपानी खानेपानी तथा सरसफाइ योजना समिति अध्यक्ष जितेन्द्र श्रेष्ठका अनुसार नगरपालिकाका करिब १५ सय परिवार लाभान्वित हुनेगरी ७० हजार लिटर क्षमताको ट्याङ्की बन्दै छ । यता नगरपालिकाले भने खानेपानीका लागि कुनै ठोस निर्णय गरेको छैन ।


नगरपालिकाले खानेपानीलाई प्राथमिकतामा राखे पनि भौतिक योजना निर्माणका लागि विस्तारै लैजाने नगरप्रमुख वीरबल राई बताउँछन् । प्रकाशित : माघ २५, २०७५ ०९:०८

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लेकतिर हिउँ, बेंसीमा झरी

प्रदेश ब्युरो

सुर्खेत — यहाँका लेकतिर बिहीबार बिहानैदेखि हिमपात भयो भने औल (बेंसी) मा झरी पर्‍यो । जसका कारण हिमाली जिल्लाहरूको जनजीवन प्रभावित भयो । पहिले परेको हिउँ नपग्लिँदै पुन: थपिएपछि सास्ती लम्बिने स्थानीय बताउँछन् ।

हुम्लामा भएको हिमपातपछि बिहीबार सिमकोट बजारमा गस्ती गर्दै सुरक्षाकर्मी ।तस्बिर : कान्तिपुर

मुगुमा माघमा मात्रै चारपटक हिमपात भएको छ । मुर्मा, ताल्चा, मुन्दु, मुगु, रोवा, रारालगायत क्षेत्रमा बिहीबार भारी हिमपात भयो । औल क्षेत्रमा पर्ने रुघा, गिलाहा, कच्चे, सिप, गम्था, गमगढी, रातापानीमा भने दिनभर झरी पर्‍यो । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि लेकाली जनजीवन प्रभावित भएको छायानाथ रारा नगरपालिका, रोवाकी मायादेवी बुढाले बताइन् । ‘माघ सकिन लाग्दा पनि थर्थरी कमाउने चिसो भइरहेको छ,’ उनले भनिन्, ‘बुढापाका र बालबच्चा बिरामी भएका छन् ।’

लेकाली बस्तीहरू हिउँले सेताम्मे भएका छन् । पशुचौपायालाई घाँस–दाउरा पाउनै मुस्किल भएको छ । लेक–औल गर्ने स्थानीय जहाँको तहीँ रोकिएका छन् । झरी र हिमपातले बिहीबार सुर्खेत, नेपालगन्जबाट उडान भएनन् । साताअघि एस्काभेटर लगाएर खोल्न लागेको नाग्म–गममढी सडक थप अवरुद्ध भएको छ ।

मुगु र जुम्लाको सीमाक्षेत्र घुच्चीडावमा होटल व्यवसाय सञ्चालन गर्नेलाई पनि सास्ती हुन थालेको छ । सञ्चित गरिएका दाउरा सकिँदै जाँदा उनीहरूलाई चिन्तित बनाएको हो । मुर्मा, कोटिला, बाम, तल्लेख, खमाले, तारापानीलगायत बस्तीमा हिउँले घर चुहिन थालेको स्थानीय बताउँछन् ।

तेस्रोपटक हिमपात
डोल्पामा माघमा तेस्रोपटक हिमपात भएको छ । बिहीबार बिहान ४ बजेदेखि हिमपात हुँदा वातावरण निकै चिसो भएको छ ।

चिसोले सर्मी, नर्कु, ओक्ट, होर्त, रिमी, काइगाउँ, लिकु पाहाडा, ताली, दुरगाउँका साथै माथिल्लो डोल्पाका सबै बस्ती प्रभावित भएका छन् । घरमै आगो तापेर बस्नुपरेको सर्मीका लंक बुढाले फोनमा जानकारी दिए । पशुबस्तु गोठबाट बाहिर निस्किएका छैनन् । उनका अनुसार यसअघि परेको हिमपातले जमेको हिउँ जस्ताको तस्तै रहेका बेला फेरि हिमपात भएपछि दिन काट्न मुस्किल भएको छ । हिमपातले बस्तीबीचको सम्पर्कसमेत टुटेको छ ।

अर्कोतिर हिमपात रोकिएपछि सुरु भएको हवाई सेवा बिहीबार पुन: अवरुद्ध भयो । जुफाल विमानस्थल बन्द भएको छ । हिमपातले चैत १० देखि सुरु हुने एसईईको तयारीका लागि चलिरहेका ट्युसन कक्षा पनि प्रभावित भएका छन् । काइगाउँ, लिकु, जुफाल, थरगाउँ, फुल्चिङ, दुनै, सर्मीलगायत ठाउँमा तयारी कक्षा चलिरहेका छन् । झ्याकोटका मायालाल रोकायाले ट्युनसमेत बन्द हुँदा परीक्षामा असर पर्ने बताए । ‘हिमपातले वनमा गएका चौंरी पनि फर्केका छैनन्,’ शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसी तुन्डुप गुरुङले भने, ‘ती चौंरी पहिरोमा पर्ने हुन् कि भन्ने चिन्ताले स्थानीयलाई सताएको छ ।’

हिउँमाथि हिउँ
हिउँमाथि हिउँ पर्दा हुम्लाको जनजीवन पनि कष्टकर बनेको छ । सर्वसाधारण घरबाट बाहिर निस्किन सकेका छैनन् । सदरमुकाम सिमकोटमा पहिले परेको हिउँ नपग्लिँदै फेरि त्यसमाथि थपिएको हो । सिमकोट विमानस्थलमा यसअघि डोजर लगाएर हिउँ पन्छाई हवाई सेवा सुरु गरिएको थियो । पुन: हिउँ परेपछि बिहीबार हवाई सेवा बन्द भएको छ । यहाँका सरकारी कार्यालय सुनसान छन् ।

पहाडमा झरी
सुर्खेत, दैलेख, जाजरकोट, कालीकोटलगायत क्षेत्रमा बिहीबार बिहानैदेखि झरी परेको छ । अग्ला पहाडी बस्तीमा हिमपातसमेत भएको छ । झरी पर्दा दिनभर सर्वसाधारणका काम प्रभावित बने । ‘एकछिन पानी पर्छ, फेरि रोकिन्छ,’ वीरेन्द्रनगरका प्रेमबहादुर मस्र्याङीले भने, ‘बाहिर गएर के गर्नु, त्यही भएर घरमै बसेको छु ।’

चिसोले बजार सुनसान छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेलाई सास्ती भएको छ । उनीहरूले बिहीबार दिनभर काम गर्न पाएनन् । ‘आजको ढयाडी (ज्याला) नपाइने भयो,’ घर निर्माणमा संलग्न वीरेन्द्रनगर ८ का भीमबहादुर थापाले भने, ‘हामीजस्ता काम गरी खानेलाई त लामो भरी पर्‍यो भने बाँच्नै गाह्रो हुन्छ ।’

राजबहादुर शाही (मुगु), विष्णुलाल बुढा (डोल्पा) र जयबहादुर रोकाया (हुम्ला)

प्रकाशित : माघ २५, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×