लेकतिर हिउँ, बेंसीमा झरी

प्रदेश ब्युरो

सुर्खेत — यहाँका लेकतिर बिहीबार बिहानैदेखि हिमपात भयो भने औल (बेंसी) मा झरी पर्‍यो । जसका कारण हिमाली जिल्लाहरूको जनजीवन प्रभावित भयो । पहिले परेको हिउँ नपग्लिँदै 
पुन: थपिएपछि सास्ती लम्बिने स्थानीय बताउँछन् ।

लेकतिर हिउँ, बेंसीमा झरी

मुगुमा माघमा मात्रै चारपटक हिमपात भएको छ । मुर्मा, ताल्चा, मुन्दु, मुगु, रोवा, रारालगायत क्षेत्रमा बिहीबार भारी हिमपात भयो । औल क्षेत्रमा पर्ने रुघा, गिलाहा, कच्चे, सिप, गम्था, गमगढी, रातापानीमा भने दिनभर झरी पर्‍यो । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि लेकाली जनजीवन प्रभावित भएको छायानाथ रारा नगरपालिका, रोवाकी मायादेवी बुढाले बताइन् । ‘माघ सकिन लाग्दा पनि थर्थरी कमाउने चिसो भइरहेको छ,’ उनले भनिन्, ‘बुढापाका र बालबच्चा बिरामी भएका छन् ।’


लेकाली बस्तीहरू हिउँले सेताम्मे भएका छन् । पशुचौपायालाई घाँस–दाउरा पाउनै मुस्किल भएको छ । लेक–औल गर्ने स्थानीय जहाँको तहीँ रोकिएका छन् । झरी र हिमपातले बिहीबार सुर्खेत, नेपालगन्जबाट उडान भएनन् । साताअघि एस्काभेटर लगाएर खोल्न लागेको नाग्म–गममढी सडक थप अवरुद्ध भएको छ ।


मुगु र जुम्लाको सीमाक्षेत्र घुच्चीडावमा होटल व्यवसाय सञ्चालन गर्नेलाई पनि सास्ती हुन थालेको छ । सञ्चित गरिएका दाउरा सकिँदै जाँदा उनीहरूलाई चिन्तित बनाएको हो । मुर्मा, कोटिला, बाम, तल्लेख, खमाले, तारापानीलगायत बस्तीमा हिउँले घर चुहिन थालेको स्थानीय बताउँछन् ।


तेस्रोपटक हिमपात

डोल्पामा माघमा तेस्रोपटक हिमपात भएको छ । बिहीबार बिहान ४ बजेदेखि हिमपात हुँदा वातावरण निकै चिसो भएको छ ।


चिसोले सर्मी, नर्कु, ओक्ट, होर्त, रिमी, काइगाउँ, लिकु पाहाडा, ताली, दुरगाउँका साथै माथिल्लो डोल्पाका सबै बस्ती प्रभावित भएका छन् । घरमै आगो तापेर बस्नुपरेको सर्मीका लंक बुढाले फोनमा जानकारी दिए । पशुबस्तु गोठबाट बाहिर निस्किएका छैनन् । उनका अनुसार यसअघि परेको हिमपातले जमेको हिउँ जस्ताको तस्तै रहेका बेला फेरि हिमपात भएपछि दिन काट्न मुस्किल भएको छ । हिमपातले बस्तीबीचको सम्पर्कसमेत टुटेको छ ।


अर्कोतिर हिमपात रोकिएपछि सुरु भएको हवाई सेवा बिहीबार पुन: अवरुद्ध भयो । जुफाल विमानस्थल बन्द भएको छ । हिमपातले चैत १० देखि सुरु हुने एसईईको तयारीका लागि चलिरहेका ट्युसन कक्षा पनि प्रभावित भएका छन् । काइगाउँ, लिकु, जुफाल, थरगाउँ, फुल्चिङ, दुनै, सर्मीलगायत ठाउँमा तयारी कक्षा चलिरहेका छन् । झ्याकोटका मायालाल रोकायाले ट्युनसमेत बन्द हुँदा परीक्षामा असर पर्ने बताए । ‘हिमपातले वनमा गएका चौंरी पनि फर्केका छैनन्,’ शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसी तुन्डुप गुरुङले भने, ‘ती चौंरी पहिरोमा पर्ने हुन् कि भन्ने चिन्ताले स्थानीयलाई सताएको छ ।’


हिउँमाथि हिउँ

हिउँमाथि हिउँ पर्दा हुम्लाको जनजीवन पनि कष्टकर बनेको छ । सर्वसाधारण घरबाट बाहिर निस्किन सकेका छैनन् । सदरमुकाम सिमकोटमा पहिले परेको हिउँ नपग्लिँदै फेरि त्यसमाथि थपिएको हो । सिमकोट विमानस्थलमा यसअघि डोजर लगाएर हिउँ पन्छाई हवाई सेवा सुरु गरिएको थियो । पुन: हिउँ परेपछि बिहीबार हवाई सेवा बन्द भएको छ । यहाँका सरकारी कार्यालय सुनसान छन् ।


पहाडमा झरी

सुर्खेत, दैलेख, जाजरकोट, कालीकोटलगायत क्षेत्रमा बिहीबार बिहानैदेखि झरी परेको छ । अग्ला पहाडी बस्तीमा हिमपातसमेत भएको छ । झरी पर्दा दिनभर सर्वसाधारणका काम प्रभावित बने । ‘एकछिन पानी पर्छ, फेरि रोकिन्छ,’ वीरेन्द्रनगरका प्रेमबहादुर मस्र्याङीले भने, ‘बाहिर गएर के गर्नु, त्यही भएर घरमै बसेको छु ।’


चिसोले बजार सुनसान छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेलाई सास्ती भएको छ । उनीहरूले बिहीबार दिनभर काम गर्न पाएनन् । ‘आजको ढयाडी (ज्याला) नपाइने भयो,’ घर निर्माणमा संलग्न वीरेन्द्रनगर ८ का भीमबहादुर थापाले भने, ‘हामीजस्ता काम गरी खानेलाई त लामो भरी पर्‍यो भने बाँच्नै गाह्रो हुन्छ ।’


राजबहादुर शाही (मुगु), विष्णुलाल बुढा (डोल्पा) र जयबहादुर रोकाया (हुम्ला)


प्रकाशित : माघ २५, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?