वाइडबडी खरिद भ्रष्टाचार छानबिन नहोस् भन्ने सरकारको मनसाय छैन : बाँस्कोटा

काठमाडौँ — सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाइडबडी जहाज खरिदमा भएको अनियमितता छानबिन प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । काठमाडौंमा बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वाइडबडी छानबिन जारी रहेको प्रस्ट पारेका हुन् ।

वाइडबडी खरिद भ्रष्टाचार छानबिन नहोस् भन्ने सरकारको मनसाय छैन : बाँस्कोटा

सरकारले नचाहेर वाइडबडी भ्रष्टाचार छानबिन प्रक्रिया सेलाएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा बाँस्कोटाले भने, 'यसमा छानबिन नहोस् भन्ने सरकारको मनसाय छैन । यो प्रक्रिया अगाडि बढ्छ ।'


संसद्‌को सार्वजनिक लेखा समितिको उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेकोमा चित्त नबुझेपछि सरकारले अर्को समिति बनाएको थियो । पुस १९ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य जाँचबुझ समिति गठन गरेको हो ।


संसदीय उपसमितिले कांग्रेसतर्फका तत्कालीन पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही, जीतेन्द्रनारायण देव र बहालवालामन्त्री रविन्द्र अधिकारी, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र सञ्चालक समितिका पदाधिकारी तथा खरिद प्रक्रियामा संलग्न अन्य व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।


मन्त्री बाँस्कोटाले सरकार यस विषयबाट पछि नहट्ने भन्दै छानबिन समितिले सत्यतथ्य ल्याउने विश्वास दिलाए । सरकारी छानबिन समितिले काम गरिरहेकोले कुनै सदस्यले नभ्याएको जानकारी पाए समितिलाई पूर्णता दिएर पनि जारी प्रक्रिया नरोक्ने उनको भनाइ थियो ।


नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति बनाएर गल्ती भयो कि भन्ने सरकारलाई नलागेको मन्त्री बाँस्कोटाले बताए । छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसको पनि माग रहेको उनले स्मरण गराए ।


यो पनि पढ्नुहोस्ः

वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस् : कांग्रेस

अख्तियारले वाइडबडी छानबिन गर्ने

वाइडबडी खरिद अनियमितता : मन्त्री अधिकारीको अर्को झुट

वाइडबडी खरिद प्रकरणमा संलग्नता छैन : देउवा

प्रकाशित : माघ २४, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?