३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पर्यटकीयस्थल कालिञ्चोकमा डोजर प्रतिबन्ध, थप संरचना बन्न नदिइने

दोलखा — धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक आसपासमा अवैध अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले भएका संरचनाहरुको विवरण संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा थप संरचना नबनाउन र डोजर नचलाउन निर्देशनसमेत दिएको छ ।

पर्यटकीयस्थल कालिञ्चोकमा डोजर प्रतिबन्ध, थप संरचना बन्न नदिइने

तीनहजार आठसय ४२ मिटर अग्लो स्थानमा रहेको कालिञ्चोक भगवती मन्दिर आसपास कुरी र घ्याङडॉडामा अनाधिकृत घरहरु निर्माणको क्रम बढेपछि त्यस्तो निर्देशन जारी गरिएको हो ।

कालिञ्चोकमा दिनहु‘ जग्गा ओगट्दै संरचना बनिरहेका छन् । डोजर चलाएर खुला र जैविक फुलहरुको बगैंचा जस्ता मैदानहरु खन्ने कार्य भैरहेको छ । अत्याधिक मानिसहरु कालिञ्चोक आउन थालेपछि स्थानीय होटलहरुले जथाभावी मूल्य असुलेको जनगुनासोलाई मध्यनजर गर्दै प्रशासनले सचेत गराउने सूचना पनि जारी गरेको छ ।

बुधवार कालिञ्चोक गाउँपालिका प्रमुख विनकुमार थामी र प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहितको टोलीले प्रत्येक होटलमा मूल्यसूची राख्न अनुरोध गरे । जारी सूचनामा प्रत्येक होटलले मूल्यसूची राख्ने र त्यसको एकप्रति जिल्ला प्रशासन कार्यालयमा बुझाउन समेत भनिएको छ । मूल्यसूचीभन्दा बढी मूल्य असुलेमा कारवाही गरिने सूचनामा उल्लेख छ ।

दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोक क्षेत्रमा दैनिक सयौं मानिस पुग्छन् । हिमपातको मौसममा हजारौंको संख्यामा मानिसहरु पुग्ने हुँदा उक्त क्षेत्र दोलखाको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । उक्त क्षेत्रमा केबल कार निर्माण भएस‘गै पर्यटकको संख्या थपिएको छ ।

मानिसका बढ्दो चाप, थपिदो होटलहरु र चरम पानीको अभावले कालिञ्चोकमा फोहर बढिरहेको छ । संरचना निर्माणको क्रममा बन विनास तीव्र छ । पार्किङ र शौचालयको अभाव छ । विवादका बाबजुद गुठी संस्थानले भूमिकर संकलन गर्दै आएको उक्त क्षेत्रको मूख्य र संवेदनशील मन्दिर परिसरका संरचना जीर्ण वनिरहेको छ ।

कालिञ्चोकमा आयोजित संवाद कार्यक्रममा गाउ‘पालिका प्रमुख विनकुमार थामीले सबैभन्दा पहिले मन्दिरको अस्तित्व जोगाउने कार्यक्रम ल्याइने बताए । स्थानीय व्यावसायीहरुस‘गको संवादमा तत्काल उक्त क्षेत्रको विस्तृत अध्ययन गर्ने र त्यसको आधारमा संरक्षण र सुधार कार्यक्रम ल्याइने जानकारी उनले दिए ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले अबैध रुपमा अतिक्रमण गरी वसोवास गरिरहेकाहरुलाई कुनै पनि राज्यले हटाउने सक्ने जानकारी दिए । प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले प्रहरी चौकी स्थापना गरी सुरक्षा प्रवन्ध गरिने बताए । शसस्त्र प्रहरी नायव उपरिक्षक किरणकुमार काठायतले आवश्यकताका आधारमा सुरक्षा गस्ती सुरु गरिने जानकारी दिए ।


प्रकाशित : माघ २४, २०७५ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?