२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रानीपोखरी महानगरबाट किन खोसियो ?

दामोदर न्यौपाने

काठमाडौँ — दुई वर्षअघि निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको हो रानीपोखरी पुनर्निर्माण । पुनर्निर्माणमा महानगरको खेलाँचीको कारण विवाद भयो । २०७३ को तिहारसम्ममा सक्ने गरी काम अघि बढेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मै शिलान्यास गरेकी थिइन् ।

रानीपोखरी महानगरबाट किन खोसियो ?

तर, आधुनिक निर्माण सामग्री प्रयोग गरेर निर्माण अघि बढाएपछि सम्पदा संरक्षण अभियन्ता विरोधमा उत्रिए ।


त्यसयता कहिले पुरातत्त्व विभागको, कहिले महानगरको बखेडाले गर्दा यसको निर्माण अघि बढेको थिएन । पटकपटक विवाद गरेपछि मन्त्रिपरिषदले बनाउन नदिने भएको छ । मन्त्रिपरिषदले निर्णय गरेर यसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको हो । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुरातत्त्व विभागले बनाउने र रानीपोखरीचाहिं काठमाडौं महानगरपालिकाले बनाउने गरी काम अघि बढेको थियो । तर, मन्दिर र पोखरी दुवैमा विवाद भएपछि यी दुवैको निर्माण प्राधिकरणले गर्ने भएको हो ।


‘महानगरले सम्पदा बनाउन सक्दैन भन्ने उदाहरण हो यो,’ सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन् । रानीपोखरीमो कंक्रिट राखेपछि राष्ट्रसंघीय निकाय युनेस्कोले महानगर सम्पदामा संवेदनशील नभएकाले उसले बनाउने सम्पदामा पुनर्निर्माण मूल्यअनुसार नहुने भन्दै चिन्ता व्यक्त गरेको थियो । पुरातत्त्वविद् भीम नेपाल सम्पदाको जिम्मा लिने निकायमा सम्पदा बुझेको जनशक्ति नहुनु दु:खको कुरा भएको बताउँछन् । ‘सम्पदासम्बन्धी मापदण्ड बनाउने निकायमा विज्ञ छैनन्,’ उनी भन्छन्, ‘अनि के आस गर्नु ? विज्ञता नभएको निकायले गर्ने सम्पदा संरक्षण कस्तो होला ?’


पुरातत्त्व विभागले मन्दिर निर्माण गर्ने क्रममा ग्रन्थकुट शैलीमा बनाउने कि गुम्बज शैलीमा बनाउने भनेर विवाद भएको थियो । रानीपोखरीमा विवाद भएपछि बनेको विज्ञ समितिले प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा बनाउन सुझाव दिएको थियो । तर, विभागले विज्ञको सुझाव नमानेर गुम्बज शैलीमै काम अघि बढाएको थियो । यसको अभियन्ताले विरोध गर्दै आएका थिए । विज्ञको सुझावविपरीत पुरातत्त्व विभागका तत्कालीन महानर्दिेशक भेषनारायण दाहालले काम अघि बढाएपछि अभियन्ताले रोकिदिएका थिए । काम रोकिएपछि पुनर्निर्माण प्राधिकरणले छलफल आयोजना गरेको थियो ।


छलफलपछि प्राधिकरणले मन्दिर ग्रन्थकुट शैलीमै बनाउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयले पनि ग्रन्थकुट शैलीमै बनाउन पुरातत्त्व विभागलाई निर्देशन दिएको थियो । पोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पनि काम अघि बढाउन सकेन ।


दुई पटक टेन्डर आह्वान गरिसकेको थियो । दुई पटक टेन्डर आह्वान गर्दा पनि ठकेदार छनोट गर्न सकेन । तेस्रो पटक टेन्डर आह्वान गरेको थियो । तेस्रो पटक पनि ठेकेदार छनोट गर्न नसके अमानतमा दिने तयारी गरिरहेको थियो । त्यही बेला मन्त्रिपरिषदले हस्तक्षेप गरेर प्राधिकरणलाई दिएको हो । ‘हामी प्रताप मल्लकै शैलीमा यसको पुनर्निर्माण गर्छाैं,’ प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने ।


धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वको रानीपोखरी सरोकारवाला निकायको विवादकै कारण ढिलाइ भएको छ । यसको सबैभन्दा बढी बखेडा पुरातत्त्व विभागले नै निकालेको सम्पदा संरक्षण अभियन्ता गुनासो गर्छन् । अहिलेको मुख्य विवाद रानीपोखरीबीचको मन्दिर कुन शैलीमा बनाउने भन्नेमा छ । विज्ञले ग्रन्थकुट शैलीमा बनाउन सुझाव दिएका छन् । विभागले भने मानेको छैन । गत साता पुनर्निर्माण प्राधिकरणमा भएको बैठकमा ग्रन्थकुट शैलीमा बनाउने विषयमा छलफल भएको थियो । प्राधिकरण ग्रन्धकुट शैलीमै बनाउने पक्षमा छ । त्यसमा पुरातत्त्व विभाग भने सहमत भएको थिएन ।


रानीपोखरीको अहिले भएको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिं यो ग्रन्थ कुट (शिखर) शैलीमा भएको प्रमाण भेटिएको विज्ञ समितिका संयोजक पुरातत्त्व विभागका पूर्वमहार्निदेशक विष्णु कार्कीले जानकारी दिए । ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ ।


उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ । उक्त चित्र सन् १८४५ फेब्रुअरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपालमा घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो,’ कार्कीले भने, ‘उनीभन्दा १ सय २४ वर्षअघि नेपाल आएका इटालीका जेस्विट्ईपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनले पनि पुष्टि गर्छ ।’


सन् १८५० मा ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका एचए ओल्डफिल्ड । उनी १८५० देखि १८६३ सम्म नेपालमै बसेका थिए । उनले दुई भागमा स्केचेज फ्रम नेपाल नामको पुस्तकसमेत लेखेका थिए । उनले पनि रानीपोखरीको बारेमा महत्त्वपूर्ण कुरा गरेको कार्कीले जानकारी दिए ।


उनले रानीपोखरीको बीचमा भएको, त्यो ‘अत्यन्तै सुरम्य वस्तु’ भएको, जसलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँटा र प्लास्टरको कुरूप संरचना बनाएको लेखेका छन् । ओल्डफिल्डको यस बयानले बीचमा रहेको रानीपोखरीको बीचमा रहेको मन्दिरलाई डा. डिल्लिरमण रेग्मीले तीनतले छाने शैलीको मन्दिर भनेका छन् ।


मेरी स्लसरले परम्परागत छाने शैलीको मन्दिर उल्लेख गरिएको कार्कीले जानकारी दिए । जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर विसं १९९० को महाभूकम्पले क्षति पुर्‍यएकाले अहिलेको शैलीमा जुद्धशमशेरले पुनर्निर्माण गर्न लगाएका थिए । उनले जंगबहादुरले निर्माण गर्न लगाएको गुम्बजाकार शैलीभन्दा केही भिन्न गुम्बजाकार शैलीको शिखर मन्दिर निर्माण गर्न लगाएका थिए । उनले मन्दिरको पुनर्निर्माणका साथसाथै पोखरीको गाह्रोलगायतका क्षेत्रमा समेत मर्मत गर्नलगाई पोखरीको संरक्षण कार्य गरेको हालको पुरातात्त्विक उत्खननबाट समेत स्पष्ट भएको कार्कीले जानकारी दिए ।


‘उत्खननबाट पेटीमा प्रयोग भएका जुद्ध अंकित विसं १९८९ लेखिएका इँटाहरूबाट स्पष्ट हुन्छ,’ कार्की भन्छन्, ‘विसं १९९० को महाभूकम्पलगत्तै रानीपोखरीको जीर्णोद्धार कार्यलाई पनि पहिलो प्राथमिकता दिएको पाइन्छ । रानीपोखरी जीर्णोद्धार कार्यको आरम्भ उनले विसं १९८९ का जगेडा इँटाहरूबाट निर्माण गरेको देखिन्छ । जसले भूकम्पपछि रानीपोखरीको जीर्णोद्धार कार्य तत्काल सुरु गरेको प्रमाणित हुन्छ ।’


रानीपाखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिरको कामको निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको थियो । मन्दिरको पनि पहिला महानगरले पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसलाई भत्काएर पुरातत्त्वले निर्माणको जिम्मा लिएको थियो । मन्दिरको निर्माण लागत १ करोड ४० लाख रुपैयाँ छ । पोखरीको पुरातात्त्विक एवं ऐतिहासिक तथ्यको खोजी गर्ने क्रममा विभिन्न तथ्यसमेत प्राप्त भएको कार्कीले जानकारी दिए । त्यही प्राप्त तथ्यको आधारामा पोखरी पुनर्निर्माण गर्न पनि समितिले सुझाव दिएको हो ।


‘सो आधारमा निर्माण गरी पुरानो दक्षता, प्रविधि र स्वरूपको निरन्तरता हुने र मौलिकता कायम हुने हुँदा प्रताप मल्लकालीन पोखरीको सतह निर्माण प्रविधि, गाह्रोको शैली एवं स्वरूप, मौलिक सामग्रीहरूको प्रयोग गर्नाले परम्परागत प्रविधिको निरन्तरता एवं ज्ञानको स्थानान्तरण हुँदै जाने देखिन्छ । यसले हाम्रा ऐतिहासिक कालमा सिर्जना भएका सीप र ज्ञानको अवस्था कस्तो थियो भन्ने विषयलाई प्रमाणीकरण गर्नुका साथै त्यस्तो ज्ञान र सीपको उन्नतिमा भएको वैज्ञानिक प्रगतिसमेतलाई इंगित गर्छ ।’


सम्पदा संरक्षण अभियन्ताले यहाँको प्राचीनतामा कुनै सम्झौता गर्न नहुने माग गर्दै आएका छन् । लगाएको रानीपोखरीको पवित्रता र महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा परिणत गर्न राजा प्रताप मल्लले विभिन्न तीर्थस्थलका जल ल्याइराख्न लगाएका थिए । ‘धार्मिक पवित्रताको कारण प्रत्यक्ष प्रमाणको आधारमा अरू नै उपायद्वारा दोषी र निर्दोषी छुट्याउने विधि पनि यस पोखरीमा डुबाएर जल दिव्यपरीक्षा गरिन्थ्यो,’ प्रतिवेदनमा छ, ‘जसले रानीपोखरीको धार्मिक एवं सांस्कृतिक महत्त्वलाई स्पष्ट गर्छ ।


त्यसैगरी चाँगुनारायणको कलशयात्रा ल्याउँदा रानीपोखरीको उत्तरतर्फ रहेको पाटीमा विश्राम गराई सोको स्वागतका लागि हनुमानढोकाबाट विशेष स्वागत टोली गई कलश आह्वान गरी हनुमानढोका दरबारभित्र भित्र्याउने चलनले स्पष्ट हुन्छ । त्यसैगरी रानीपोखरी सहर प्रवेश गर्ने द्वारको अग्रस्थानमा रहेको हुँदा सो स्थानबाट राजकीय पाहुनाहरूको सम्मान गरी दरबारतर्फ ल्याउने परम्परा पनि रहेको देखिन्छ ।’


पोखरीको निर्माण गर्दा यही धार्मिक र तान्त्रिक विधिसमेत पूरा गर्नुपर्ने तुलाधरले बताए । ‘हामी यी सबै तीर्थस्थलका जल ल्याएर पोखरीको पानी भर्छौं,’ ज्ञवालीले कान्तिपुरसँग भने । रानीपोखरी २०७३ चैतसम्ममा निर्माण सम्पन्न गर्ने गरी कँडेल जेभीलाई ठेक्का दिइएको थियो ।

प्रकाशित : माघ २३, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?