२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कागजपत्रबिना उड्न खोज्दा एक घण्टा डिले

जनकराज सापकोटा

काठमाडौँ — सोमबार राति ९ बजे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखाका केही अधिकारीहरू ओमन एयरको काउन्टरमा जम्मा भए । आवश्यक कागजपत्रबिना नै दुबई उड्न विमानस्थल पुगेका राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रभात शाहका छोरा अभिषेक शाहलाई विमान कम्पनीका कर्मचारीले बोर्डिङ पास नदिएपछि उनीहरू त्यहाँ पुगेका थिए । 

कागजपत्रबिना उड्न खोज्दा एक घण्टा डिले

अध्यागमन विभागले केही समयअघि दुईतर्फी टिकट, होटल बुकिङ वा स्पोन्सरसिप कागज र डलर सटहीको प्रमाणका आधारमा मात्रै बोर्डिङ पास दिन विमान कम्पनीका कर्मचारीलाई परिपत्र गरेको थियो । यसैका आधारमा ओमन एयरका कर्मचारीले बोर्डिङ पास नदिएपछि अध्यागमन कर्मचारीहरू बोर्डिङ पास दिलाएर शाहलाई उडाउने भन्दै त्यहाँ पुगेका थिए ।


कर्मचारी संगठनका नेताका छोरा भएकैले विमानस्थल अध्यागमनका कवि न्यौपाने, कोषप्रसाद खतिवडालगायतका ४ कर्मचारी ओमन एयरको डेस्कमा पुगेका थिए । स्रोतका अनुसार कविराज कर्मचारी संगठनका पूर्वउपाध्यक्षसमेत भएकाले उनले आफ्नो प्रभावका आधारमा आवश्यक कागजातबिना नै अभिषेकलाई उडाउन जोडबल गरे ।


बोर्डिङ पास नदिने ओमन एयरका कर्मचारीको अड्डी र जसरी पनि दिनुपर्ने, बाँकी काम आफैं गर्ने अध्यागमन कर्मचारीको अड्डी एकैछिनसम्म चल्यो । कान्तिपुरलाई प्राप्त उक्त गलफतीको भिडियोमा अध्यागमन कर्मचारीले चर्को स्वरमा बाझाबाझ गरेको देखिन्छ ।


भिडियोमा समेटिएको कुराकानीअनुसार अभिषेकसँग होटल बुकिङको कागजात, डलर सटही र फिर्ती टिकटसमेत नभएको देखिन्छ । ओमन एयरका कर्मचारीको अडानपछि केही कर्मचारीको सहयोगमा अभिषेकले विमानस्थलभित्रै डलर साटे । स्रोतका अनुसार प्रभातले अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई समेत फोन गरेर दबाब दिएका थिए ।


नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै विवाद साम्य पार्न त्यहाँ पुगेका थिए । ओमन एयरकी विमानस्थल प्रबन्धक टिवंकल राजराजभण्डारीेले कागजातबिनाका यात्रुलाई जसरी पनि उडाउनुपर्‍यो नत्र जहाज रोकिदिने भन्दै धम्की दिइएको बताइन् ।


विवादका कारण ओमन एयर निर्धारित समयभन्दा आठ मिनेट ढिला उडेको थियो । कान्तिपुरसँगको कुराकानीमा नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले एक यात्रुको लफडाका कारण विमान ढिला उडेको बताए । उनका अनुसार विमानमा यात्रु चढेपछि अध्यागमन कर्मचारीले गर्नुपर्ने जनरल डिक्लिरिएसनमा हस्ताक्षर गर्न ढिला भएकै कारण उडान ढिला भएको थियो भने लामो गलफतीपछि ती यात्रु विमानस्थलबाट फिर्ता भएका थिए ।


महासचिव शाहले सोमबार रातिको विमानस्थलभित्रको घटनाबारे कुराकानी गर्न आनाकानी गरे । उनले ढिला पुगेकै कारण आफूहरू फर्किनुपरेको बताउँदै भने, ‘खासै त्यस्तो केही भएको होइन । समाचार नै लेख्नुपर्ने कुरा पनि हैन ।’ पछिल्ला दिनमा अध्यागमनमा पर्यटक भिसामा खाडी देश जान कडाइ गरेकै बेला विमानस्थलभित्र यस्तो लफडा भएको हो ।


अध्यागमन कर्मचारीका अनुसार मानव तस्करहरूको सेटिङमा पर्यटक भिसामा खाडी देश जाने र त्यहाँबाटै अवैध रूपमा अन्य देश लैजाने गैरकानुनी धन्दा फस्टाएपछि पर्यटक भिसामा खाडी देश जानेमाथि कडाइ गरिएको हो । तर कर्मचारी संगठनकै कर्मचारीका छोरा आवश्यक कागजातबिना दुबई उड्न खोज्ने र त्यसमाथि अध्यागमनकै कर्मचारीले जोडबल गर्ने घटनालाई अनौठो रूपमा हेरिएको छ ।


अध्यागमनकै एक उच्च अधिकारीले भने, ‘अध्यागमनका कर्मचारीले कागजातबिनाको यात्रुलाई उडाउन किन जोडबल गरे भन्नेचाहिँ अचम्मको विषय छ ।


प्रकाशित : माघ २३, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?