छाउ बार्न बस्दा निसास्सिएर मृत्यु

मोहन शाही

(डोटी) — महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् ।

छाउ बार्न बस्दा निसास्सिएर मृत्यु

आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको सासू लक्ष्मी बोगटीले बताइन् । ‘पाँचौं दिनमा चोखिन्छु भनेर खुसी थिई, आगो बालेर सुतेकी रहिछ,’ लक्ष्मीले भनिन्, ‘विचरी सधैंका लागि आँखा चिम्लेर गई ।’


शनिबारदेखि छाउ बार्दै आएकी पार्वती त्यो दिन छाउगोठमा अरू तीन जना थपिएर ठाउँ नपुगेपछि नजिकैको घरमा सुत्न गएकी थिइन् । उनी सुतेको साँघुरो कोठामा सानो झ्याल र ढोका छ । लक्ष्मीका अनुसार पार्वती झ्याल–ढोका बन्द गरी आगो बालेर सुतेकी थिइन् । उनका केही लुगा पनि जलेका छन् । खरानी कोठाभरि छरिएको छ ।


आगो बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने गाउँपालिका अध्यक्ष दीर्घ बोगटीले बताए । अध्यक्ष बोगटीकै गाउँमा घटना भएको हो । पार्वतीको शव पोस्टमार्टमका लागि प्रहरीले बिहीबार साँझ जिल्ला स्वास्थ्य कार्यालय डोटी ल्याएको थियो । विशेषज्ञ डाक्टरको अभावमा डोटीमा पोस्टमार्टम हुन नसकेपछि शुक्रबार बिहान शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ । जिल्ला अस्पताल डोटीमा कार्यरत तीनै जना डाक्टर तालिमका लागि भन्दै काठमाडौं गएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रले पोस्टमार्टम तालिम लिनैका लागि डाक्टरहरू काठमाडौं गएको बताए ।


जिल्ला प्रहरी कार्यालयका एसपी लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानमा पार्वतीको निसास्सिएर मृत्यु भएको देखिएको बताए । बिहान ढोका खोलेर हेर्दा मृत भेटिएपछि स्थानीयवासीले नजिकैको सानागाउँ प्रहरी चौकीमा खबर गरेका थिए । त्यसलगत्तै पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याएको थियो ।


६ परिवार रहेको बोगटी गाउँको बाहुनटोलमा चार घरका महिला एउटै छाउगोठमा सुत्छन् । दुई परिवारका महिला भने घरभित्रको भुइँ तलामा सुत्ने गरेका छन् । ‘कहिलेकाहीँ ४/५ जना सँगै महिनावारी हुँदा पनि गोठमै सुत्नुपर्छ,’ कक्षा ७ मा अध्ययनरत मैना बोगटीले भनिन्, ‘खुट्टा तन्काउन पनि ठाउँ हुन्न, रातभर कुप्रो बसेर जाग्राम बस्नुपर्छ ।’


तेडी, नर्‍याल, मालिका देवता छन् भनेर गाउँमा महिनावारी भएका बेला छाउगोठभित्रै सुत्ने चलन छ । छाउगोठमा सुत्दै आएकी कक्षा ८ मा अध्ययनरत बिस्ना बोगटीले बूढापाकाले घरभित्र आउन बन्देज गरेको दुखेसो गरिन् ।

गाउँमा पहिलोपटक अशुभ घटना भएकाले स्थानीयवासी त्रसित छन् । ‘छाउगोठ छोडेर घरभित्र सुत्दा त्यस्तो घटना भएको हो, यतै सुतेको भए त्यस्तो घटना हुन्नथ्यो कि,’ देवता रिसाएको कारण देखाउँदै पार्वतीकी जेठानी भगवती बोगटीले भनिन्, ‘मानिस बस्ने घरको माथिल्लो तलामा सुत्दा अरू के–के पो हुने हो !’


सासू लक्ष्मी भने देवता रिसाएर नभई साँघुरो कोठामा आगो बालेर सुतेकाले बुहारी गुमाउनुपरेको बताउँछिन् । छाउपडी प्रथा अन्त्य गर्नुपर्ने उनले बताइन् । ‘के गर्नु समाजले जति गरे पनि घरभित्र सुत्न मान्दैन, छाउगोठमा सुत्नुपर्ने चलन हटाउन नसक्दा बुहारीको ज्यान गयो’, उनले दुखेसो पोखिन् ।

प्रकाशित : माघ १८, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?