राप्रपा (संयुक्त) को घोषणा, एकतामा आउन कमल थापालाई आग्रह

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को शुक्रबार औपचारिक रुपमा एकीकरण भई राप्रपा (संयुक्त) गठन भएको छ । हिन्दू राष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहन दुवै पार्टी सहमत भई एकता घोषण गरिएको हो । 

राप्रपा (संयुक्त) को घोषणा, एकतामा आउन कमल थापालाई आग्रह

एक महिनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गरिनेछ । करिब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ । महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ ।


शुक्रबार यहाँ आयोजित पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र लोहनीले मुलुकमा हिन्दू र बौद्ध धर्मावलम्बीको पहिचान रहेकाले त्यो सभ्यतालाई कायम गरी देशलाई समृद्ध बनाउन पार्टी एकता गरिएको बताए । भ्रष्टाचार राष्ट्र निर्माणको बाधक तत्व भएकाले त्यसलाई न्यूनीकरण गर्न नवगठित पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, '२१ औँ शताब्दी जनताको सार्वभौमिकता सर्वोपरि भएको समय हो, उनीहरुलाई अधिकार सम्पन्न गरी देश विकास गर्न आवश्यक छ ।'


अर्का अध्यक्ष पशुपतिशमशेर जबराले विसं २०४७ पछि बनेका सरकारमध्ये अहिलेको सरकार बलियो भएको बताए । उनले देशमा सुशासन कायम गरी जनताको सामाजिक रुपान्तरण गर्न नसकेको अहिलेको अवस्थामा ती अभिभारा पूरा गर्न एकता गरिएको विचार व्यक्त गरे । अध्यक्ष जबराले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कमल थापा नेतृत्वको राप्रपालाई पनि एकताका लागि आग्रह गरे । मुलुकको राष्ट्रियता र सामाजिक एकताका साथै पार्टीको अस्तित्वका लागि एकीकरण गरिएको बताइएको छ । उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई मुख्य आधार बनाएको छ ।


पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा विसं २०४७ जेठ १५ गते एकै दिन दुई पार्टी स्थापना भएको थियो । राप्रपा (थापा) र राप्रपा (चन्द) एक वर्षभित्र एकीकृत भए पनि करिब २८ वर्षको यात्रामा धेरै पटक जुट्ने र फुट्ने सिलसिला चलेको थियो । त्यस्तै पूर्व प्रधानमन्त्री थापाले राष्ट्रिय जनशक्ति पार्टीसमेत गठन गरेका थिए ।


मुलुकमा बहुदलीय प्रणालीको व्यवस्था भएपछि तीन दशक लामो पञ्चायती व्यवस्थामा क्रियाशील नेताहरुको विद्वता, राजनीतिक अनुभव र अवसरको उपयोग गरी विगतमा वामपन्थी तथा लोकतान्त्रिक दुवै शक्तिको सहयोगबाट विसं २०५४ मा नेता चन्द र थापा दुवै प्रधानमन्त्री बनेका थिए ।


दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई सहजपूर्वक स्वीकारेका राणा र डा लोहनीलाई छाडेर मुलुकमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आएका थापा विगतमा तीन पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।


राणा र लोहनीले एकताका लागि बिहीबार हस्ताक्षर गरेका थिए । देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्य नवगठित पार्टीको रहेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।


दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गरिने छ । सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धी कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाँटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ । चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको छ । नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ ।


प्रकाशित : माघ १८, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?