२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ग्रामीण सडकमा डोजर प्रतिबन्ध

रुकुम पश्चिम — स्थानीय सरकारले प्रभाव मूल्यांकनबिना जथाभावी डोजर सञ्चालनमा रोक लगाएको छ । डोजरमार्फत जथाभावी सडक निर्माणपछिको क्षतिबाट पाठ सिकेर स्थानीय सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

ग्रामीण सडकमा डोजर प्रतिबन्ध

वातावरणीय प्रभाव मूल्यांकन, सर्भेलगायत मापदण्डको बेवास्ता गरी बनाइएका सडकबाट अन्य पूर्वाधारमा क्षति भएपछि सबै स्थानीय तहले डोजर चलाउन रोक लगाएका हुन् । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जिल्ला भ्रमण क्रममा डोजर नचलाउने नीतिगत निर्णय गरी व्यवस्थित गर्न स्थानीय तहलाई अनुरोध गरेका थिए । जिल्लाका ६ वटै स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्यांकनबिना डोजरले सडक नबनाउने नीतिगत निर्णय गरेका छन् ।


‘वातावरणीय प्रभाव मूल्यांकन नगरेर सडकको नयाँ ट्रयाक नखोल्ने नीतिगत निर्णय हामीले गरेका छौं,’ आठबीसकोट नगरप्रमुख गोर्खबहादुर केसीले भने, ‘डोजरलगायत ठूला उपकरणमार्फत सडक बनाउँदा त्यसबाट क्षति नहुने निश्चित नभएसम्म प्रतिबन्धको निर्णय पास भएको छ ।’ चौरजहारी नगरपालिकाले पनि प्राविधिक मूल्यांकनका आधारमा गर्नैपर्ने भएबाहेक अन्यत्र डोजर प्रतिबन्ध लगाउने जनाएको छ । नगरका विभिन्न ठाउँमा बाढी, पहिरो र भूक्षयले ठूलो धनमाल नष्ट भएपछि डोजर र एस्काभेटरमार्फत सडक, घर तथा भवनका घडेरी खन्न कडाइ गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।


मुसीकोट नगरपालिकाले पनि आवश्यकताका आधारमा मात्रै सडक निर्माण गर्ने र कमभन्दा कम क्षति हुने गरी सडक बनाइने जनाएको छ । नगरप्रमुख देवीलाल गौतमले जथाभावी सडक नबनाइएको भन्दै आवश्यकता पहिचान गरी कमभन्दा कम क्षति हुने गरी सडक बनाउने बताए । उनले गत बर्खामा ठूलो क्षति हुनुमा डोजरमार्फत अनियन्त्रित सडक बनाइनु नै मुख्य कारण भएको बताए ।


जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसहित कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गत साउन र भदौमा जिल्लाभर भएको क्षतिको विवरण पठाइसकेको छ । जिल्ला प्रशासनका अनुसार ६ स्थानीय तहले २ महिनाको अवधिमा ३० करोड १५ लाख ८२ हजार मूल्य बराबरको धनमाल, खेतीबारीको क्षति बेहोरे । यत्रो ठूलो क्षति हुनुमा मानवीय गतिविधि नै मुख्य कारण मानिएको छ । केही खोला र नदीमा आएको बाढीले केही क्षति पुर्‍यायो भने जिल्लाका अधिकांश ठाउँमा पहिरोले क्षति गरेको छ ।


‘यसरी धेरै क्षति हुनुको कारण सडक निर्माणका क्रममा ठूला उपकरण प्रयोग गर्नु भएको बुझिएको छ,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने, ‘भिरालो क्षेत्रमा हिउँदको समयमा सडक बनाउन प्रयोग गरिएका डोजरको कम्पनले पनि टाढाटाढासम्म असर पार्ने देखिएको छ ।’ उनले ठूला उपकरणका कारण कति पहिरो झर्‍यो भन्ने एकिन गर्न नसकिए पनि मुख्य कारण यही भएको बताए ।


प्रकाशित : माघ १७, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?