२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

हिउँ पन्छाएर उडान सुचारु

जयबहादुर रोकाय

हुम्ला — सिमकोट विमानस्थलमा तीन फिट बाक्लो हिउँ जमेर एक सातादेखि अवरुद्ध हवाई उडान मंगलबार बेलुकादेखि सुचारु भएको छ । विमानस्थलमा रहेको हिउँ सिमकोट नागरिक उड्डयन कार्यालयको संयोजनमा सिमकोट गाउँपालिका, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सक्रियतामा पन्छाइएको थियो । 

हिउँ पन्छाएर उडान सुचारु

हिउँ पन्छाएपछि मंगलबार बेलुका ५ बजे तारा एयरले दुई उडान गरेको छ । विमानस्थल प्रबन्धक गौरीशंकर शाहले कार्यालयको जिपमा स्काभेटर जस्तै हिउँ फाल्ने मेसिन जडान गरी हिउँ फाल्न प्रयोग गरेको बताए । ‘सबैको सहयोगमा हिउँ नहटाएको भए अझै दुई सातासम्म हवाई सेवा सुचारु हुने सम्भावना थिएन,’ शाहले भने, ‘फेरि हिउँ नपरे र हावा नलागेमा अब नियमित उडान हुनेछन् ।’


माघ ८ गतेदेखि लगातार हिमपात हुँदा विमानस्थलसहित सिमकोटमा तीन फिट बाक्लो हिउँ जमेको थियो । हिउँ जमेलगत्तै हवाई उडान हुन सकेका थिएनन् । हवाई उडान नहुँदा स्थानीय समस्या परेका थिए । अति आवश्यक कामका लागि सहर आउजाउ गर्नुपर्ने स्थानीय र कर्मचारी समस्यामा परेका थिए ।


उडान नभएकै कारण सिमकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सर्केघाट गाउँपालिका अध्यक्षले सुर्खेतमा भएको प्रदेश समन्वय परिषद् बैठकमा सहभागी हुन नपाई मंगलबार अन्तिम समयमा मात्रै पुगेका थिए । सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि यातायातको एक मात्र विकल्प हवाई मात्र हो । लामो समय हवाई उडान हुन नसके सिमकोटमा खाद्यान्नदेखि अन्य सबै सामानको अभाव हुने गर्दछ ।


तीन दिनपछि उडान मुगुमा भारी हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको रारा विमानस्थलको हवाई सेवा मंगलबारदेखि सुचारु भएको छ । धावन मार्गमा जमेको हिउँ केही पग्लिएको र केही हिउँ मेसिनले फालेपछि अवरुद्ध हवाई सेवा सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ ।


धावनमार्ग सफा भएपछि मंगलबार नै नेपालगन्जदेखि तारा एयर र सीता एयरले उडान भरेका छन् । विमानस्थल प्रमुख मोहन गिरीले धावनमार्ग कालोपत्रे भएकाले हिमपात र झरीले लामो असर नपार्ने बताए ।


हिमपातले अवरुद्ध भएको गमगढी–नाग्मा सडक भने खुल्न अझै समय लाग्ने भएको छ । मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा जमेको छ फिट हिउँ नपग्लिँदासम्म सडक मार्ग सुचारु हुन नसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रकाशित : माघ १७, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?