कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘वाइडबडीको मुद्दा छाडेका छैनौं’ : विश्वप्रकाश शर्मा

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वाइडबडी जहाज खरिद प्रकरणसम्बन्धी मुद्दा पार्टीले नछाडेको बताएका छन् ।

‘वाइडबडीको मुद्दा छाडेका छैनौं’ : विश्वप्रकाश शर्मा

केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै शर्माले आगामी माघ २१ गते देशैभर आयोजना हुने विरोध प्रदर्शनमा वाइडबडी जहाज खरिद अनियमिततासम्बन्धी मुद्दा पनि प्रमुख रूपमा उठाइने बताए । यसअघि वाइडबडी प्रकरणसम्बन्धी विषयलाई ठूलो मुद्दा बनाएको कांग्रेस पछिल्लो समय यसबारे मौन छ । सभापति शेरबहादुर देउवाको नाम यो प्रकरणमा जोडिएर आउन थालेपछि कांग्रेस चुप लागेको भन्दै आलोचना भएको छ ।


‘सबैभन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले वाइडबडी जहाज खरिदको अनियमितता छानबिनका लागि संसद्मा बोल्नुभएको हो, त्यसयता कांग्रेसले निरन्तर यो मुद्दा उठाइरहेको छ,’ शर्माले भने, ‘यसमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न हामीले संसद्मा र सार्वजनिक रूपमा पनि आवाज उठाइरहेका छौं । माघ २१ को विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिनेछ ।’


कांग्रेस केन्द्रीय कार्यसमितिको माघ १० गतेको बैठकले तय गरेका ६ वटा मुद्दामा वाइडबडी प्रकरणबारे उल्लेख छैन । बैठकले तय गरेका मुद्दामा संसद्मा बलजफ्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएको, डा. गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताललाई संघ मातहतबाट हटाइएको, प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक र विभिन्न संवैधानिक आयोगमा नियुक्ति, निर्मला पन्तको बलात्कार र हत्या प्रकरणदेखि महँगी, भ्रष्टाचारसहित जनविरोधी कदम भनेर उल्लेख गरिएका छन् ।


‘माघ १० को निर्णयमा पनि भ्रष्टाचार शब्द उल्लेख छ, त्यसैले यसलाई समेट्छ,’ सञ्चारकर्मीको जिज्ञासामा शर्माले भने । उनले बूढीगण्डकी नेपाल आफैंले बनाउन उपयुक्त हुने भन्दै सरकारले बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु रहस्यमय रहेको बताए ।


उनले ३३ किलो सुनकाण्ड र निजगढ विमानस्थलमा आवश्यकताभन्दा दोब्बर रूख काट्ने निर्णयको समेत विरोध गरिने जानकारी दिए । ‘३३ किलो सुन काण्डमा ठूला माछा सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आयो, ती ठूला माछा को हुन्, सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ?’ उनले भने, ‘यसमा सरकारको कदम रहस्यमय छ ।’


उनले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको श्वासप्रश्वास र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताल संघ मातहतमै राख्ने गरी सरकारले निर्णय सच्याएको जानकारी औपचारिक रूपमा प्राप्त नभएको बताए ।


प्रकाशित : माघ १७, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?