वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस् : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरीदमा भएको अनियमितता छानबिनको माग गर्दै थप दबाब सिर्जना गर्ने जनाएको छ । केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिकसमेत गरिसकेको जानकारी गराउँदै दबाब बढाउने बताएका हुन् ।

वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस् : कांग्रेस

उनले यही २१ गते तोकिएको देशभरको प्रदर्शनका क्रममा पनि उक्त विषयलाई उठाइने बताए । 'वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न हामीले संसद्‍मा र सार्वजनिक रुपमा पनि आवाज उठाउँदै आएका छौं' प्रवक्ता शर्माले भने, 'माघ २१ को विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने छ ।'


प्रवक्ता शर्माले ३३ किलो सुन काण्डमा ‘ठूला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्तिअनुरूप ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भनी प्रश्न गरे । उनले प्रदेश नं ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरीद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारवाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने जानकारी दिए ।


त्यस्तै बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि के रहस्य लुकेको छ भनी प्रश्न गर्दै उनले आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा ढिलासुस्तीको विषय विरोध प्रदर्शनमा उठाइने जानकारी दिए । काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउँदै तिनलाई उद्धार गरी सकुशल स्वदेश फर्काउन तत्कालै पहल गर्न र त्यसमा संलग्न दोषीलाई कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।


यो पनि पढौं : दुई वाइडबडी खरिद गर्दा साढे ३ अर्ब बढी खर्च

यसरी भयो वाइडबडी किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता

संसद्‌मा माघ ११ गते भएको घटना, डा गोविन्द केसीको अनशनप्रति सरकारको संवेदनहीन व्यवहार, कोइरालद्वयका नामका अस्पताललाई नामेट गर्न गरेको दुष्प्रयास, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गरेको घटनालाई विरोधका मुख्य मुद्दा बनाइने उनले जानकारी दिए । प्रवक्ता शर्माले भने, 'देशव्यापीरूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सम्बन्धित पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको छ महीना पुगी सक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दामा प्रदर्शन केन्द्रित हुनेछ ।'

प्रकाशित : माघ १६, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?