कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘नेपालको अध्यागमन केही महिनापछि बेलायतकै सरह’

नवीन पोखरेल

लन्डन — नेपालको अध्यागमन प्रणाली बेलायत, हङकङ वा सिङ्गापुरकै सरह बनाउने तयारी भइरहेको एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । प्रशिक्षणका लागि यतिखेर बेलायत रहेका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ‘नेपाली पोर्ट सफ्टवेयर मार्फत करिब ८/ ९ महिनाभित्र नेपालको अध्यागमन प्रणाली पूर्णरुपमा परिवर्तन हुने बताएका हुन् । 

‘नेपालको अध्यागमन केही महिनापछि बेलायतकै सरह’

लाखौँ विदेशीहरूको पहिलो अनुभव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनबाटै सुरु हुन्छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरिसकेको अवस्थामा अध्यागमन र विमानस्थलभित्रका कयौँ कमी कमजोरीबिच पौडेलले करिब २४ करोड रुपैयाँ बजेटमा अध्यागमन प्रणालीमा व्यापक सुधारको तयारी भइरहेको जानकारी दिए । अध्यागमन सुधारको यो उपयुक्त समय भएको र यसमा नयाँ युग आउने उनको जिकिर छ ।


‘अब विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रुलाई सुरुमै पोसाक र ब्याच लगाएका महिला अधिकृतहरूले स्वागत गर्नेछन्’, पौडेलले सुनाए,‘कस्टमर फ्रेण्डलीमात्र होइन, उच्चप्रविधियुक्त बायोमेट्रिक,फोटो क्याप्चर र डेटाबेस प्रणाली सुरु गरिनेछ ।’ पर्यटक र गैर पर्यटक भिजाको वर्गीकरण पनि गरिने उनले जनाए ।


अध्यागमन विभाग महानिर्देशक पौडेल सहित विभागका निर्देशकहरू विष्णुहरि उपाध्याय र आनन्द पौडेल, अध्यागमन सल्लाहकार कुल शेखर अर्याल तथा गृह उपसचिव चूडाराज न्यौपाने बेलायतको अध्यागमन प्रणालीबारे अध्ययन तथा प्रशिक्षण लिन बेलायत आएका हुन् ।


उनीहरूलाई यूके बोर्डर फोर्स, नेशनल क्राइम एजेन्सी र नक्कली कागजात पहिचान गर्ने ‘फोर्जर युनिट’ पदाधिकारीले तालिम दिएका थिए । टोलीले गैर कानुनी आप्रवासीलाई राखिने हिथ्रोको ‘डिटेन्सन सेन्टर’ समेत निरीक्षण गरेको थियो । ‘हामीहरू सबैको यो बेलायत भ्रमण हो । यहाँ सिकेका कुराहरू नेपालमा समेत लागू गर्न हाम्रो प्रयास रहनेछ’, महानिर्देशक पौडेलले भने ।


यसैबिच, गैर आवासीय नेपाली सङ्घ बेलायतले शुक्रवार साँझ अध्यागमन अधिकारीहरूसँग लन्डनमा एक अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रमका सहभागीले नेपालको अध्यागमनका झन्झटिलो प्रक्रिया, ढिला सुस्ती, कर्मचारीको रूखो व्यवहार र पक्षपात आदिबारे गुनासा गरेका थिए ।


एनआरएनए यूकेले करिब ३६ लाख गैर आवासीय नेपाली विदेशमा रहेको जनाउँदै उनीहरूको स्वागतका लागि विमानस्थलमा बेग्लै ‘एनआरएन डेस्क’ राख्न माग गरेको थियो । प्रतिउत्तरमा महानिर्देशक पौडेलले विमानस्थलमा अध्यागमन प्रक्रियामा धेरै सुधार भइसकेको र अब छिट्टै नयाँ युग सुरु हुने विश्वास दिलाए । नेपाल सरकारले एनआरएनलाई फरक दुरीमा राखेर नहेरेको पनि उनको भनाइ थियो ।

प्रकाशित : माघ १३, २०७५ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?