पार्टी कार्यकर्ता पोस्न चिकित्सा शिक्षा विधेयक : देउवा


ग्वाल्टार (सिन्धुली) — कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय व्यवस्थालाई कुल्चेर चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै रोष प्रकट गरेका छन् । डा. गोविन्द केसी अनशनमै रहेका बेलामा मरे, मर, बाँचेबाँच भनेर विधेयक पास गर्नु स्वास्थ्य माथिको खेलबाड भएको सभापति देउवाको भनाइ थियो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा शनिबार सहिद बाबुराम बरालको शालिक अनावरण गर्दै देउवाले संसदमा वेल घेरेको अवस्थामा जबरजस्ती गरिनु अधिनायकवादतर्फ वर्तमान सरकार गएको बताए । सरकारले विधेयक आफ्ना पार्टीका कार्यकर्ता पोस्नका लागि ल्याएको उनको आरोप थियो । आफूले गरेको संझौतालाई प्रधानमन्त्री केपी ओलीले लत्याएको भन्दै सभापति देउवाले सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्न नसकेको बताए ।
डा. केसीको जायज माग पूरा गराउन कांग्रेस लागिरहने भन्दै सभापति देउवाले गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाका नाममा रहेका अस्पताललाई प्रदेश मातहतमा नझार्न चेतावनी दिएका छन् । वर्तमान सरकार अपराधीलाई जोगाउन लागेको उनको आरोप थियो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रसंग कोट्याउँदै देउवाले प्रमाण नष्ट गर्न लुगा पखाल्ने र हत्यारालाई उन्मुक्ति दिन सरकार लागेको आरोप लगाए । कम्युनिष्ट सरकारलाई हटाउन तागत कांग्रेसमा रहेको उनले जिकिर गरे ।
प्रकाशित : माघ १२, २०७५ १८:१८