कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रियंका राजनीतिमा

प्रियंकालाई महासचिवको जिम्मेवारीले जनाधार गुमाउँदै गएको उत्तरप्रदेशमा कंग्रेसलाई पुनर्जीवन दिन सक्ने आकलन

नयाँदिल्ली — राजनीतिबाट पर रहँदै आएकी प्रियंका गान्धी अन्तत: पार्टीको एउटा चुनावी किल्ला सम्हाल्न औपचारिक रूपमा नियुक्त भएकी छन् । पार्टी अध्यक्ष रहेका दाइ राहुलले बुधबार उनलाई उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कंग्रेसको महासचिव जिम्मेवारी दिए । 

प्रियंका राजनीतिमा

पार्टी केन्द्रीय परिषद्को नयाँदिल्लीमा बसेको बैठकले उत्तर प्रदेशको पूर्व क्षेत्र हेर्ने गरी प्रियंकालाई महासचिव बनायो । अर्को महिनादेखि उनले पद सम्हाल्नेछिन् ।


मायावती र अखिलेश यादवले नेतृत्व गरेका क्षेत्रीय गठबन्धनबाट निराश बनेको उत्तर प्रदेशको पार्टी पंक्तिमा प्रियंकाले कंग्रेसजनलाई ऊर्जा भर्ने अनुमान गरिएको छ । दुई दशकदेखि त्यो आफ्नो पुरानो गढमा जनाधार गुमाउँदै गएको कंग्रेसलाई पछिल्लोपल्ट त भारतीय जनता पार्टीले भारी मतका साथ किनारा लगाइदिएको थियो ।


राजनीतिक विश्लेषक तथा पत्रकार विकास पाठकले प्रियंकाको चयनमार्फत कंग्रेसले भाजपा र मायावती–अखिलेश गठबन्धनलाई आगामी लोकसभा चुनावमा आफ्नो पक्षमा परिणाम ल्याउन कुनै पनि कमी नछाड्ने सन्देश दिएको बताए । ‘कंग्रेस जुनसुकै हालतमा पहिलो हुन चाहन्छ, त्यही उद्देश्यअनुसार प्रियंकालाई महासचिवको जिम्मेवारी दिइएको हो,’ पाठकले भने ।


प्रियंकालाई उत्तर प्रदेशमै केन्द्रित गराउने गरी भएको बुधबारको निर्णयले आगामी चुनावमा प्रदेशको राजनीतिक माहोल थप रोमाञ्चक बनाउने लख काटिएको छ । ५ सय ४५ सदस्यीय तल्लो सदनमा सबभन्दा धेरै उत्तर प्रदेशबाट ८० सांसद पुग्छन् । सन् २०१४ को चुनावमा सत्तारूढ दल भाजपाले ७१ सिट जितेको थियो ।


नयाँदिल्लीको सत्तामा पुर्‍याउन उत्तर प्रदेशको चुनावी परिणाम निर्णायकजस्तै हुने भएकाले सत्तारूढ र विपक्षी दुवैले आफ्नो सम्पूर्ण शक्ति त्यहाँ खन्याउने गरेका छन् । प्रदेशको जातीय समीकरण र कमजोर संगठनका कारण चुनावपिच्छे कंग्रेसको प्रदर्शन कमजोर बन्दै आएको छ ।


पार्टीले सन् १९८४ को चुनावमा त्यति बेलाको कुल ८५ सिटमध्ये ८३ सिट जितेकोमा त्यसको ठीक ३० वर्षपछि सन् २०१४ मा गान्धी परिवारकै विरासतमा रहँदै आएका अमेठी र रायबरेली लोकसभा सिटमात्रै जितेको थियो । कंग्रेस प्रवक्ता सञ्जय झाले भने प्रियंका राजनीतिक रूपमा निकै तीक्ष्ण, सफल रणनीतिकार हुनुका साथै जनतासँग सम्पर्क स्थापित गर्न सक्ने गुण भएकाले उनको चयनबाट पार्टीले प्रभावशाली नतिजा हात पार्ने बताए ।


‘नरेन्द्र मोदी नेतृत्वको सरकार अर्थतन्त्र, राष्ट्रिय सुरक्षा र सामाजिक सहिष्णुताको सन्दर्भमा असफल प्रमाणित भइसकेको छ । प्रियंकाको नियुक्तिले पार्टीलाई ऊर्जा प्रदान गरेको छ । र, यो उत्तर प्रदेशका लागि मात्र होइन, भारतभर कंग्रेसलाई ऐतिहासिक सफलता दिलाउने अवसर पनि हो,’ उनले भने ।


प्रियंका सन् २००४ देखि नै अनौपचारिक रूपमा पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन् । उनले सन् २०१४ को चुनावमा राहुलको चुनावी क्षेत्र अमेठी र आमा सोनियाको रायबरेली क्षेत्रमा केन्द्रित गरेकी थिइन् । आफ्नी हजुरआमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीजस्तै ‘कार्यकर्तासँग सहजै घुलमिल हुन सक्ने र नेतृत्व क्षमता भएका कारण’ उनको सक्रिय राजनीतिमा औपचारिक प्रवेशको माग लामो समयदेखि पार्टीभित्र हुँदै आएको थियो । आमा सोनियाको छोरा राहुललाई स्थापित गराउने योजनाका कारण उनले बाहिरबाटै गतिविधिमा सघाउँदै आएको ठानिएको थियो ।


पार्टीको औपचारिक जिम्मेवारी नलिए पनि ४७ वर्षीया प्रियंकाले आमा सोनिया र राहुललाई पार्टीका महत्त्वपूर्ण निर्णयमा सघाउँदै आएकी थिइन् । ठीक एक वर्षअघि राहुल पार्टीको अध्यक्ष बनेपछि उनको सक्रियता बढेको थियो । उनले दाइ राहुललाई पार्टी सञ्चालनसम्बन्धी विषयमा सरसल्लाह दिँदै आएकी थिइन् । गत वर्ष दिल्लीमा भएको पार्टीको वार्षिक भेलाको व्यवस्थापनलाई उनले प्रत्यक्ष रूपमा हेरेकी थिइन् ।


उनी आफैंले पनि उत्तर प्रदेश राजनीतिमा विशेष चासो राख्दै आएकी थिइन् । सन् २०१७ मा उत्तर प्रदेशमा भएको विधानसभा चुनावमा अखिलेश यादवको समाजवादी पार्टी र कंग्रेसबीच गठबन्धन निर्माणमा पनि उनको भूमिका महत्त्वपूर्ण थियो । प्रदेश राजनीतिमा उनको सक्रियतालाई लिएर पार्टीमा महत्त्वपूर्ण भूमिका पाउने अडकलबाजी हुने गरेको थियो । उनले त्यसलाई नकार्दै आएकी थिइन् ।


प्रियंकालाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णयले कंग्रेसका लागि चुनौती पनि थपेको छ । कंग्रेसले विरोधीबाट थप आलोचनाको सामना गर्नुपर्ने हुन्छ । पछिल्लो समय भारतीय राजनीतिमा वंशवादविरुद्ध जनमत निर्माण भइरहेको छ । भाजपाले सन् २०१४ को चुनावदेखि नै कंग्रेसमा रहेको गान्धी परिवारको प्रभुत्वलाई खिस्याउँदै आएको छ । उनीहरूले भन्ने गरेका छन्, ‘कंग्रेसका लागि परिवार नै पार्टी हो र हाम्रा लागि पार्टी नै परिवार ।’


‘त्यो आरोपको अर्थ छैन । सबै आ–आफ्नो क्षमताले राजनीति गर्ने हो । आफ्नो पार्टीमा भएको परिवारवाद नदेख्ने अनि अरूलाई मात्र आरोप लगाउने?’ प्रवक्ता झाले भने, ‘भाजपाका पुनम महाजन, जयन्त सिन्हा, वसुन्धरा राजसिन्धे, मेनका गान्धी को हुन् ?’


प्रियंकाका पति रोबर्ट बाड्र्रामाथि हरियाणा र राजस्थानको जग्गा खरिदलाई लिएर भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहेको हुँदा भाजपाले चुनावताका त्यसलाई कंग्रेसविरुद्ध हतियारका रूपमा प्रयोग गर्ने सम्भावना छ । कंग्रेसले त्यसको सामना कसरी गर्छ र आगामी अप्रिल/मेको चुनावमा उत्तर प्रदेशको परिणामले प्रियंकाको राजनीतिक भविष्य दर्शाउने छ ।

प्रकाशित : माघ १०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?