कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातपछि मुस्ताङमा पहिरो

घनश्याम खडका,

म्याग्दी — बाक्लो हिमपातपछि मुस्ताङमा पहिरो गएको छ । घरपझोङ गाउँपालिका–२ छैरोमापहिरो गएको हो । घरपझोङगापा-१ मार्फा र २ छैरो बिचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीगण्डकी केहीबेर अवरुद्ध भएको थियो ।

हिमपातपछि मुस्ताङमा पहिरो

‘बिहान केही बेर कालीगण्डकी अवरुद्ध भएको रहेछ । अहिले नदी बगेको छ तर सानो ताल परेको छ । जोखिम भने छैन’ घटनास्थलमा रहेका प्रहरी निरीक्षक थमनबहादुर रजालीले भने,‘नदी किनाराको अग्लो डिल मध्य २० मिटर जति भत्केर कालीगण्डकीमा खसेको हो ।’


बेनी–जोमसोम सडकको टुक्चे र मार्फा खण्डमा पर्ने सामाग्री भन्ने ठाउँको पूर्वपट्टिको पाखो बगेर नदीमा खसेको हो । पहिरो गएको क्षेत्रमा अहिले १ फिट बढी बाक्लो हिउँ जमेको छ । भूकम्पपछि चर्किएको क्षेत्रमा बाक्लो हिमपात हुँदा पानी सिपेज भई पहिरो गएको स्थानीयले बताएका छन् ।


‘०७२ सालको भूकम्पपछि चर्किएको करिब ५ सय मिटर पाखो मध्ये अहिले २० मिटरबढी नदीमा खसेको छ’ स्थानीय सकेन्द्र गौचनले भने, ‘हिमपात भइरहेको र पहिरोको आवाज नआएकोले पहिरोको समय थाहा भएन । बिहान हिउँ पर्न रोकिएपछि बल्ल पहिरो झरेको थाहा भयो ।’


कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा हिउँदे पहिरो गएकोले ठुलो जोखिम रहेन तर पहिरो झर्ने जोखिम बाँकी छन् । निलगिरी र टुक्चे पिक हिमालकोबिच सबैभन्दा छोटो दूरीकोबिचमा पर्ने हुँदा यस क्षेत्रमा बाक्लो हिउँ र बर्खायाममा पनि ठुलो पानी पर्ने गर्छ ।

प्रकाशित : माघ ९, २०७५ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?