३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मंगलबार संसद्‌मा जे देखियो

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् र पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने थियो । सोमबारको बैठकमा पनि कांग्रेसले विरोध गरेपछि मंगलबार बैठक राखिएको हो ।

मंगलबार संसद्‌मा जे देखियो

सभामुख कृष्णबहादुर महराले निर्धारित ३ बजे बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरू उभिएर बैठक अवरुद्ध गरे । सभामुख महराले कांग्रेस सांसदहरूलाई भने, ‘माननीय सदस्यहरू हिजो उठिसक्नु भा’छ आज बस्नुस् ।’ सभामुखले आग्रह गर्दा कांग्रेस सांसदहरू हाँसिरहे । फेरि सभामुखले उनीहरूलाई बस्न आग्रह गरे । यति गर्दा पनि नमानेपछि महराले भने, ‘माननीय सदस्यहरूमध्ये कोही बोल्न चाहनुहुन्छ ?’ कांग्रेसका सांसद प्रकाशमान सिंहले बोल्न हात उठाए । अरू सांसद आफ्नो सिटमा बसे ।

सरकारले गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा श्वासप्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन पूर्वाग्रह राखेको उनले बताए । ‘दुई अस्पताललाई पूर्वाग्रह राखेर अरू नौवटा अस्पताललाई संघमा राखेको छ,’ उनले भने, ‘अरू अस्पताल ल्याउन हुने अनि यो दुईवटा चाहिँ किन नहुने ?

यो निर्णय अन्यायपूर्ण छ ।’ डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना नगर्दा सरकारको विश्वसनीयतामा प्रश्न उठेको उनले बताए । दुई अस्पताललाई संघअन्तर्गत ल्याएको जानकारी संसद्लाई नगराएसम्म बैठक अघि बढ्न नसक्ने उनले चेतावनी दिए । अनि कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर सभामुखको अघिल्लो भाग ‘बेल’ घेर्न निस्किए ।

महिला सांसदहरूलाई अघि बढाएर रोस्टमतर्फ अघि बढेका कांग्रेस सांसद र मर्यादापालकबीच केहीबेर घम्साघम्सी नै पर्‍यो । सांसदहरू रोस्टमसम्म जान अघि बढिरहेका थिए भने मर्यादापालकले अघि बढ्न दिएका थिएनन् । कांग्रेसले उठाएको विषयमा सरकारलाई ध्यानाकर्षण गराइसकेको महराले जानकारी गराइरहे । कांग्रेस सांसदहरू भने केही नाराबाजी गर्न थाले, केही बेलबाट अघि बढ्न मर्यादापालकसँग घम्साघम्सीमै थिए ।

सांसदहरूले चोर औंला ठडयाउँदै सभामुखको विरोध गर्न थालेपछि उनले बैठक अघि बढाउने चेतावनी दिए । ‘माननीय सदस्यहरू म संसदको बाँकी कारबाही अघि बढाउँछु । तपाईंहरू आफ्नो ठाउँमा जानुस् ।’ सभामुखको रुलिङमा नेकपाका सांसदहरूले ताली पिटे । अनि कांग्रेस सांसद मीनेन्द्र रिजालले चोर औंला ठडयाउँदै सभामुखलाई भने, ‘आफ्नो मर्यादामा बस्नुस् ।’ सभामुख महराले भने आफ्नो स्थान ग्रहण गर्न बारम्बार आग्रह गरिरहे । कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर’ भन्दै झन् चर्को आवाजमा नाराबाजी सुरु गरे ।

कांग्रेसले विरोध जारी राखेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरे । पहिलो बैठकको घम्साघम्सी र नाराबाजी १० मिनेटभन्दा बढी चल्यो ।

दोस्रो बैठक ४ बजे सुरु भयो । सभामुखले माननीय सदस्यहरू भन्ने शब्द उच्चारण गर्नेबित्तिकै कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर बेल घेर्न पुगे । सभामुख महराले पूरा वाक्य बोल्न नपाउँदै कांग्रेस अगाडि आएपछि महराले हाँस्दै भने, ‘मैले बैठक नै सुरु गरेको छैन माननीयहरू । आज माननीय सदस्यहरूले गल्ती गर्नुभयो ।’

सभामुखले यति भनिरहँदा बेल घेर्न पुगेका कांग्रेस सांसद भने मर्यादापालकसँग धकेलाधकेल गरिरहेका थिए । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेस गर्न शिक्षामन्त्री पोखरेललाई रोस्टममा जान नदिने कांग्रेसको रणनीति थियो । विरोध चलिरहँदा सभामुख महराले यहीबीचमा बैठकको कारबाही अघि बढाउँदै भने, ‘१५ मिनेट स्थगित भएको बैठकको कारबाही प्रारम्भ हुन्छ । कार्यसूची अघि बढाउँछु । मन्त्री गिरिराजमणि पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिन्छु ।’

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ अघिअघि मन्त्री पोखरेल र नेकपाका सांसहरू पछिपछि लागे । नेकपाका सांसदहरू खगराज अधिकारी, सचेतक शान्ता चौधरी, निरुदेवी पाल लगायतले स्कर्टिङ गरेर मन्त्री पोखरेललाई रोस्टममा लैजान खोजेका थिए ।

कांग्रेसका महिला सांसदहरूले रोके । कांग्रेस सांसदहरू मन्त्री पोखरेललाई रेस्टममा जान रोकिरहेका थिए भने नेकपाका सांसदहरू धकेलेर भए पनि रोस्टममा पठाउन चाहन्थे । नेकपाका प्रमुख सचेतकसहितका सांसदहरूले सभामुखको दाहिनेतर्फबाट मन्त्री पोखरेललाई रोस्टममा लैजाने प्रयास असफल भयो । कांग्रेसका सांसद गगन थापा सभामुखले सांसदहरूलाई आपसमा लडाउन खोजेको हो ? भन्दै चिच्याइरहे ।

कांग्रेस र नेकपाका सांसदहरूबीच नै विवाद सुरु भयो । अघिल्लो बैठकमा आफ्नै सिटमा बसेका नेकपाका सांसदहरू दोस्रो बैठकमा भने कांग्रेससँग प्रतिवाद गरेर भए पनि मन्त्रीलाई रोस्टममा पठाउन बेलमै गए । मन्त्री पोखरेललाई जबर्जस्ती रोस्टममा पठाउन खोजे पनि सफल भएनन् । उनी सांसदहरूको घेराबन्दीमा परे । सांसहरूबीचको घम्साघम्सीको दर्शक बने सभामुख ।

अनि फेरि १५ मिनेटका लागि बैठक स्थगित गरे । बैठक स्थगित हुँदा पनि दुई पार्टीका सांसदहरूबीच भने रस्साकसी चलिनै रह्यो । दुई पार्टीका सांसदहरूको भीडबाट कोट मिलाउँदै मन्त्री पोखरेल आफ्नो सिटतर्फ अघि बढदै थिए । नेकपाका सांसद नारदमुनि रानाले च्याप्प समाएर फेरि रोस्टमतर्फ उचालेर अघि बढाए । कांग्रेसका सांसदले रोक्न खोजे पनि यो पटक भने सकेनन् । मन्त्रीलाई रोस्टममा पुर्‍याइँदा सभामुख महरा भने भित्र कार्यकक्षमा गइसकेका थिए ।

मन्त्रीलाई रोस्टममा पुर्‍याएपछि बैठकको कारबाही अघि बढाउने आशंका गर्दै कांग्रेस सांसदहरू भने सभामुखको कार्यकक्ष घेर्न गए । सभामुखलाई बैठक कक्ष रोस्टममा आउन नदिन सबै ढोकामा कांग्रेस सांसदहरू उभिरहे । ५:१५ मा बैठक स्थगित भएको सूचना आएपछि मात्रै कांग्रेस सांसदहरू आफ्नो सिटमा फर्किए ।

बैठक स्थगित भएपछि पनि नेकपाका सांसदहरू भने कसरी मन्त्रीलाई रोस्टममा पुर्‍याउने भन्दै योजना बनाइरहेका थिए । कांग्रेस सांसदहरूले घेराबन्दी गरेर आउन नदिएपछि बैठक स्थगित भएको नेकपा सांसदको आरोप छ । बैठक अघि बढाउँदा थप विवाद हुने भएपछि संसद् सचिवालयले शुक्रबार १ बजेसम्म बैठक स्थगित गरेको छ । कांग्रेसले मर्यादापालक र सत्तापक्षका सांसदले बेल घेर्न नदिएको आरोप लगाएको छ । नेकपाका सांसदहरूले भने कांग्रेसले संसदीय मर्यादाविपरीत सभामुखलाई कार्यकक्षबाट रोस्टममा आउन नदिएको, गालीगलौज गरेको आरोप लगाएका छन् ।


‘कांग्रेसले संसदीय मर्यादा उल्लंघन गर्‍यो’

देवप्रसाद गुरुङ

प्रमुख सचेतक, नेकपा

संसदीय मर्यादा र प्रक्रियालाई कांग्रेसले उल्लंघन गरेको छ । दुई पटक संसद् अवरुद्ध भयो । प्रधानमन्त्री स्वदेश फर्केपछि दुई अस्पतालको विषय टुंग्याउने भन्दाभन्दै विरोध जारी छ । विधेयक अघि बढाउन दिइएन । उहाँहरूको द्वैध चरित्र राम्रैसँग उजागर भएको छ ।

एकातिर गोविन्द केसीलाई अनशन बसाउने र अर्कोतिर विधेयक पारित हुन नदिने उहाँहरूमा दोहोरो चरित्र देखियो । बैठक सुरु नहुँदै बेल घेर्नुभएको छ । बेलमा उभिएर जस्ता शब्द प्रयोग भएका छन्, ती संसदीय प्रक्रिया र मर्यादाविपरीत छन् । सदन सञ्चालन गर्न नदिन गेट–गेटमा घेराबन्दी गर्नुभएको छ । यो राम्रो भएको छैन ।


‘कुहिनाले घोचे’

गिरिराजमणि पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

गोविन्द केसीसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक ल्याइएको हो । चिकित्सा शिक्षा सुधारका लागि पारित गर्न ढिलाइ भइसक्यो । फेरि अघि बढाउन प्रतिबद्ध छु । मलाई केही भएको छैन ।

रोस्टममा मन्त्री जाने ठाउँबाट जान्छु । प्रतिपक्षका साथीहरूका कुहिनाले मलाई घोच्यो । यो संसदको मर्यादाभित्र पर्छ ? कांग्रेसका साथीहरूले सभामुखलाई चेम्बरबाट रोस्टममा समेत जान नदिने भन्ने कहीं हुन्छ ? सुन्दा पनि लाज लाग्ने कुरा भयो ।


‘सभामुखले क्षमा माग्नुपर्छ’

गगन थापा

सांसद, कांग्रेस

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गराउँछु भन्ने सरकारको प्रपञ्चमा सभामुख ‘पार्टीको कार्यकर्ता जस्तो भएर सहभागी हुनुभयो । योभन्दा पहिला पनि पटक–पटक यस्ता घटना भएका छन् । तर, कहिल्यै पनि यति धेरै एउटा दलप्रतिको रुझान राखेर सभामुखले व्यवहार गरेको हामीलाई थाहा छैन ।

सरकार शक्तिपृथकीकरणको सम्पूर्ण सिद्धान्तहरू कुल्चिएर अगाडि बढ्न चाहेको छ । सभामुख पनि त्यसमा सहभागी हुनुभयो । आज सदनमा प्रतिपक्षसँग जुन व्यवहार भएको छ, यो एउटा डरलाग्दो परिदृश्यको संकेत हो । यसलाई हामीले सामान्य घटनाका रूपमा लिएका छैनौं । कांग्रेसले यसको प्रतिरोध सदनबाट पनि गर्छ, संसद् बाहिरबाट पनि गर्छ । सरकारको नियत जसरी हुन्छ सदनमा विधेयक टेबल गर्ने ।

अनि सदनको नियत पनि एउटै हुन्छ ? सदन र सरकार एक भएर देखाइदिने भनेर आउने ? देखाइदिने कुराको प्रतिरोध हुन्छ । आज पनि भयो, फेरि पनि हुन्छ । ११ गतेको बैठक बस्नु अगाडि यो घटनाबारे कांग्रेससँग बसेर सभामुखले बुझ्ने गरी क्षमायाचना र आइन्दा यस्तो घटना नहुने सुनिश्चितता नगर्दासम्म सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रमुख प्रतिपक्षलाई त उभिने ठाउँ दिइँदैन भने बाँकी कसैले यो देशमा उभिन पाउँछु भन्ने भ्रम नपाले हुन्छ ।

प्रकाशित : माघ ९, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?