दोस्रोपटक पनि कांग्रेसद्वारा संसद् अवरुद्ध- समाचार - कान्तिपुर समाचार

दोस्रोपटक पनि कांग्रेसद्वारा संसद् अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रोपटक पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सोमबार बिहान १२ बजे बसेको बैठकमा प्रतिपक्षी कांग्रेस सांसदले उठेर अवरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

तस्बिरः अंगद ढकाल

पहिलो बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दाबाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गरेका थिए । उनले सरकारले यो निर्णय नसच्याएसम्म संसदको कुनै कारबाही अगाडि बढ्न नदिने बताएका थिए ।


दोस्रोपटक सभामुखले बैठक सुरु भएको घोषणा गर्नु अघि नै कांग्रेस सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख महराले पटकपटक प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए । उनले प्रतिपक्षी सांसदलाई पहिलाको एजेन्डा भन्दा अन्य विषयमा केही छ ? भन्दै प्रश्न गरेका थिए । तर कांग्रेस सांसद केही नबोली उभिरहे ।


सभामुख महराले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्रीले पनि यस विषयमा कुरा राखिसकेको हुनाले प्रतिपक्षीले गरेको जस्तो आशंका नगर्न आग्रह गरे । उनले भने, 'यसमा सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु ।'


फेरि सभामुख महराले आजको सबै कार्यसूची हटाएर आज उठाएकै विषय चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न आग्रह गरे पनि सांसदहरुले उठेर विरोध गरिरहे । उनले भने, ' अघि उपनेताले उठाउनु भएको यो विषय (चिकित्सा शिक्षा विधेयक) आजै हल गर्नुपर्ने विषय भएकोले यो मात्रै कार्यसूचीमा राखेर जाउँ भनेर मैले विशेष अनुरोध गरे। एउटा कार्यसूची मात्रै अगाडि बढाऔं ।'


तरपनि प्रतिपक्षी सांसद उभिरहेपछि सभामुखले माघ ८ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित : माघ ७, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

आफ्ना नेताको नामका अस्पताल केन्द्र बाहिर राख्ने निर्णय नसच्चिएसम्म कांग्रेसले स‌ंसद चल्न नदिने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दाबाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । 

सोमबार बसेको संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदार । तस्बिरः अंगद ढकाल

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका उपनेता तथा सांसद विजयकुमार गच्छदारले बैठकको सुरुमै सभामुख समक्ष समय माग गर्दै सरकारले गरेको यो निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेका हुन् । उनले निर्णय नसच्चिएसम्म स‌सद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले गत पुस १९ गते मन्त्रिपरिषद् बैठकमार्फत ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेवारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ति जनाएको हो।

गच्छदारले नेपाली कांग्रेसका नेताबाट ती अस्पतालको नाम राखिएकै कारण केन्द्र सरकारको माताहतबाट हटाएर अस्तित्व नै मेटाउन खोजेको आरोप लगाए । 'सरकारको नियत नै खराब छ । प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका नेताहरुको योगदानलाई नै अनादार गरेको छ,' उनले भने, 'सरकारले यसमा खेलवाड नगर्न आग्रह गर्छाै‌ं । गठन आदेशबाट तबसम्म यो सदनको कारबाही अगाडि बढ्न सक्दैन ।'

देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा के कारणले निर्णय हुन नसकेको हो भनी प्रश्न गर्दै उनले सोबारेमा जानकारी दिन आग्रह गरे ।

आफ्नो पार्टीका नेताका नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको आरोप लगाउँदै उपनेता गच्छदारले भने, 'दोस्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र संविधान निर्माण गर्ने व्यक्तित्व सुशील कोइरालाको नाम जोडिएका अस्पताललाई थप संस्थागत गर्न सरकार लाग्नुपर्छ ।'

प्रकाशित : माघ ७, २०७५ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×