कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘तलब’ खाने वडा सदस्य भूमिकाविहीन

कालीकोट र वीरेन्द्रनगर — डेढ वर्षअघि स्थानीय तह निर्वाचनमा वडा सदस्य जित्दा कालीकोट, पलाताका सूर्यबहादुर बमको बाचा थियो, पूरै समय जनताका लागि खर्चनेछु । तर, अहिले उनी मौसमी व्यापार गर्न भारततिर लागेका छन् । केही समयअघि कान्तिपुरसँगको भेटमा उनी भन्थे, ‘हाम्रो खासै काम छैन, वडाध्यक्ष भए पुगिहाल्छ, किन गाउँमै बसिराख्नुपर्‍यो र ?’

उनीजस्तै ‘खासै काम छैन’ भन्ने मानसिकताले अहिले वडा सदस्यमा चुनाव जितेकाहरू कोही पैसा कमाउन विदेशतिर गएका छन्, यहीँ भएका पनि भूमिकाविहीन छन् । यस्ता वडा सदस्यको खोजी गाउँ तथा नगरसभाको बेलामात्र हुने गरेको छ । ‘वडा सदस्यहरू कामका लागि बाहिर जान्छन्, अहिले भने फर्किने क्रम सुरु भएको छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण बम भन्छन्, ‘भूमिकाविहीन भएर बस्नुभन्दा आफ्नो रोजीरोटी गरेर बस्नु राम्रो ।’


जनप्रतिनिधिमा निर्वाचित भएका उनीहरू सुरुमा निकै उत्साही थिए । जिम्मेवारीविहीन भएर बस्नुपर्दा अहिले निराशा बढेको छ । तत्कालीन एमालेबाट निर्वाचन लडेकी खाँडाचक्र नगरपालिका ३ की दलित महिला सदस्य सरुनी बमले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले विजयी भइन्् । ‘उतिबेला खुबै ठूलो नेता भएँजस्तो लाग्यो, अहिले जाँगरै मरेको छ,’ ६३ वर्षीया सरुनीले भनिन्, ‘बैठक कहिले अदाछन् (गर्छन्) ? क्या (के) निर्णय हुन्छ केही थाहा हुँदैन ।’


तीन नगरपालिका र ६ गाउँपालिका भएको कालीकोटका ८२ वडामध्ये आधाजसो वडाध्यक्ष सामान्य साक्षर छन् । ६० प्रतिशत वडा सदस्य त लेखपढ गर्न जान्दैनन् । अधिकांशको काम वडामा कुनै कार्यक्रम भयो भने आशन ग्रहण गर्नेमै सीमित छ । केही सदस्यले भने वडाको बजेट विनियोजन क्रममा सहभागी हुने गरेको बताए । त्यस्तैमध्येका एक खाँडाचक्र नगरपालिका ४ का सदस्य जगे विश्वकर्मा भन्छन्, ‘कहिलेकाहीँ त वडाध्यक्ष नभएको बेला कार्यवाहकको जिम्मेवारी पनि सम्हाल्ने गरेको छु ।’


नीतिगत रूपमा वडा सदस्य भूमिकाविहीन पद भने होइन । वडामा हुने विकास निर्माणका योजनाको रेखदेख गर्ने, सामाजिक विकासमा सहजीकरण गर्ने, गाउँटोलका सामान्य समस्या समाधान गर्ने उनीहरूको जिम्मेवारी हो । तर अधिकांश वडा सदस्यलाई आफ्नो कार्यविवरण नै जानकारी छैन । तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना भन्छिन्, ‘कामको कर्तव्य र जिम्मेवारी भए पनि अधिकांश वडा सदस्य आफूलाई घरायसी काम र व्यापार व्यवसायमा व्यस्त राख्छन् ।’


कामको जिम्मेवारी नबोके पनि वडा सदस्यहरूले मासिक रूपमा पारिश्रमिक भने लिइरहेका हुन्छन् । कर्णाली प्रदेशसभाले बनाएको ऐनअनुसार ‘सेवा सुविधाबापत’ उनीहरूलाई मासिक ७ हजार रुपैयाँ दिइन्छ । ‘मासिक रूपमा पारिश्रमिक पाउने भएकाले उनीहरूलाई कामको जिम्मेवारी दिन वडाध्यक्षलाई निर्देशन दिइएको छ,’ खाँडाचक्र नगरपालिका प्रमुख जशीप्रसाद पाण्डेले भने, ‘सरसल्लाह गरेर काम गर्ने हो भने त कसैले पनि खाली हात बस्नुपर्दैन ।’


मेलमिलापदेखि निगरानीसम्म

सुर्खेत, बराहताल गाउँपालिका ८ को एउटा घरको बारीमा अर्को घरको गोरु पसेर बाली खाएपछि विवाद चुलियो । बाली क्षति भएको परिवारले बिगो माग्यो । गोरुधनीले नदिने अडान लिए । यसले विवाद बढ्दै गयो । छिमेकी बीचमा भएको विवाद थाहा पाएपछि वडा सदस्य गोमा सारु मगर मिलाउन पुगिन् । छलफलपछि बालीको खर्च बेहोर्ने गरेर दुई परिवारबीच मेलमिलाप भयो ।


यो एउटा उदाहरण हो । आफ्नो टोलमा हुने यस्तै प्रकारका झैझगडाको मेलमिलाप अहिले वडा सदस्यले गरिरहेका छन् । वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा पनि सदस्यको भूमिका महत्त्वपूर्ण हुन्छ । आफूले यस्तो कार्यक्रमबारे टोलमा सूचना दिने, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्ने काम गरिरहेको सदस्य मगरले बताइन् । विभिन्न प्रकारका नयाँ सिफारिस खुल्दा जानकारी गराउने काम पनि गरिरहेको उनले बताइन् ।


बराहतालमा मात्रै होइन, सबै स्थानीय तहका वडा सदस्यको जिम्मेवारी छ । फरक यत्ति हो, कुनै सदस्यले तोकिएको जम्मेवारी पूरा गर्छन्, कसैले गर्दैनन् । जनता र समाजको सेवालाई आफ्नो जिम्मेवारी मानेर काम गर्ने सदस्यको भूमिका वडाको विकासमा महत्त्वपूर्ण हुने वडाध्यक्षहरू बताउँछन् ।


वीरेन्द्रनगर ८ का अध्यक्ष सुरवीर चन्द इत्राखोलामा तटबन्ध निर्माणका साथै वडामा हुने विकास निर्माणको नियमित अनुगमन गर्छन् । ‘गाउँघरमा केही समस्या आए मिलाउने, विकास कार्यक्रमका अनुगमन गर्ने गर्छु,’ उनले भने, ‘चुनाव जितेर गएपछि केही न केही त गर्नै पर्‍यो ।’

प्रकाशित : माघ ४, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?