कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्टेयरिङ नमोडिँदा बस खस्यो

७ जनाको मृत्यु, ३३ घाइते

पर्वत/बागलुङ — म्याग्दीको बेनीबाट बिहीबार बिहान नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा–१ मालढुंगामा सडकबाट खस्दा ७ यात्रुको मृत्यु भएको छ ।

स्टेयरिङ नमोडिँदा बस खस्यो

चालकले घुमाउन खोज्दा पनि स्टेरिङ नमोडिएपछि ग१ख ६१०८ नम्बरको बस सडकबाट करिब ६० मिटर तल कालीगण्डकी किनारमा खसेको हो । घटनास्थलमै ३ जनाको र उपचारक्रममा अञ्चल अस्पताल बागलुङमा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३३ घाइते छन् ।


मृत्यु हुनेमा पर्वत जलजला–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती, जलजला ७ की अमिसरा पुन, म्याग्दी पाखापानीका राजेश पुन, विष्णुमाया पुन र बागलुङ कुँडुलेकी शान्ति केसीे छन् । एक जनाको साँझ अबेरसम्म सनाखत हुन नसकेको पर्वतका डीएसपी भुवनेश्वर तिवारीले बताए ।


घाइतेलाई बागलुङमा प्राथमिक उपचारपछि कास्की र काठमाडाैंका अस्पतालमा पठाइएको छ । गम्भीर घाइतेलाई भने सेना र निजी कम्पनीका हेलिकप्टरबाट उपचारार्थ पठाइएको बागलुङका एसपी दीपक रेग्मीले बताए । पोखरा–बागलुङ राजमार्गका विभिन्न स्थानमा सडक निर्माण भइरहेकाले १० बजेदेखि आवागमन बन्द हुने गरेको छ ।


बिहीबार उक्त समयअगावै बाटो काट्न तीव्र गतिमा गुडेको बस सन्तुलन गुमाएर नदीमा खसेको प्रहरीको अनुमान छ । घटनामा घाइते सहचालक अमिर क्षत्रीका अनुसार चालकले बस तीव्र गतिमा चलाएका थिए । यात्रुले विस्तारै चलाउन आग्रहसमेत गरेको क्षत्रीले बताए । क्षत्रीको हात भाँच्चिएको छ । चालक तिलक पराजुलीको ढाड भाँच्चिएकाले उपचारका लागि पोखरा लगिएको छ ।


घटनालगत्तै सबै घाइतेलाई धौलागिरि अञ्चल अस्पताल ल्याइएको थियो । ठाउँ अभावले भुइँमै राखेर उपचार गरिएको थियो । उद्धारका लागि बागलुङ, पर्वत र म्याग्दीका प्रहरी टोली घटनास्थल पुगेका थिए । धौलागिरि अञ्चल अस्पतालमै आएर सेनाको २३ नम्बर बाहिनीका डाक्टर र अन्य स्वास्थ्यकर्मीले उपचार गरेका थिए । पर्वत जिल्ला अस्पतालका डाक्टरको टोलीसमेत बागलुङ अस्पताल पुगेको थियो ।


चालक पराजुलीका अनुसार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको बसका लागि बेनी काउन्टरमा १४ यात्रुले टिकट लिएका थिए । बस छुटेलगत्तै पर्वतबेनी बजारमा केही यात्रु चढे । पर्वतबेनीदेखि मालढुंगासम्म १२ किमि दूरीमा पनि यात्रु चढे । सिट क्षमताभन्दा बढी यात्रु थिए ।


‘पोखरा–बागलुङ सडक खण्डको मोदी गाउँपालिकामा पर्ने बेतेनीदेखि कास्कीको नयाँपुलसम्म १० बजेपछि ६ घण्टा सडक जाम हुने भएकाले त्यो समयअघि नयाँपुल कट्नुपर्ने थियो,’ उनले भने, ‘सडक साँघुरो र केही घुमाउरो थियो । बल गरेर घुमाउँदा पनि स्टेयरिङ मोडिएन, कामै गरेन । अगाडिका दुवै पाङ्ग्रा नियन्त्रणबाहिर गए अनि बस खस्न पुग्यो ।’ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पराजुलीको टाउको र ढाडमा चोट छ ।


पोलमा ठोक्किँदै खस्यो

गाडीमा काम गर्न आएको दुई दिन मात्र भयो । पोखरा पुग्ने सडक धेरै ठाउँमा भत्काएर फराकिलो बनाउँदै छन् । जाम कटेपछि ढुक्कले जान पाइन्छ भनेर गुरुजीले गाडी हुइँक्याउनुभएको थियो । मालढुंगा नजिकै पुगेपछि गाडी अनियन्त्रित भयो ।


सडक छेउका पोलमा ठोक्किँदै जान थालेपछि सबै यात्रु आत्तिए । कतिपयले हल्ला पनि गरेका थिए । छेउका १०/१२ वटा पोल ढालेपछि गाडी भीरबाट खस्यो । म ढोकाबाट हाम्फालें । हात भाँच्चियो । बस ढुंगामा ठोक्किँदै कालीगण्डकी किनारमा पुग्यो । सकी–नसकी तल झरेर हेर्दा गुरुजीको ढाड भाँच्चिएको रहेछ । एकैछिनमा गाउँले जम्मा भए ।


केहीबेरमै प्रहरी आएर बसभित्रका घाइतेको खोजी गर्न थाले । घटनास्थलमै तीन जनाको मृत्यु भएको रहेछ । घाइते रोइकराइ गर्दै थिए । कोही बोल्न नसक्ने अवस्थामा थिए । प्रहरी र स्थानीय मिलेर मसहितका घाइतेलाई बागलुङ अस्पताल पठाए । हात भाँच्चिएकाले प्लास्टर गरेर आराम गरिरहेको छु ।

अमिर क्षत्री, (सहचालक)

प्रकाशित : माघ ४, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?