२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेविसंघमा तदर्थ समिति बनाउन दबाब

काठमाडौँ — नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी तदर्थ समिति बनाउन नेविसंघका नेता तथा कार्यकर्ताले बिहीबार कांग्रेस शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।

यो कार्यसमितिले संघको महाधिवेशन गराउन र आसन्न स्ववियु निर्वाचन हाँक्न नसक्ने उनीहरूको निष्कर्ष छ ।


जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेतालाई भेटेर यस्तो दबाब दिएका हुन् । दबाब दिनेमा पौडेलपक्षीय बढी छन् ।


नेविसंघ काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्यको संयोजनमा गएको टोलीले तत्काल महर नेतृत्वको कार्यसमिति विघटन नगरे नेताहरूकै विरोधमा उत्रने चेतावनी दियो । उनीहरू मोटरसाइकल र्‍यालीसहित देउवा निवास बूढानीलकण्ठ र पौडेल निवास बोहराटार गएका हुन् ।


पार्टीले बुधबार महर नेतृत्वको कार्यसमितिलाई कामचलाउ हैसियतमा सीमित बनाएको थियो । भदौ २ गते नै म्याद सकिए पनि कार्यसमितिलाई महाधिवेशन गराउन दुई पटकमा ५ महिनाको थप समय दिइएको थियो । पटकपटक म्याद थप्दा पनि महाधिवेशन गराउन नसकेपछि पार्टी केन्द्रीय कार्यसमितिले तत्काल कामचलाउ हैसियतमा राख्ने निर्णय लिएको हो । तदर्थ समिति बनाउने या यही कार्यसमितिलाई महाधिवेशन गराउन अझै समय दिने भन्नेबारे पार्टीको आगामी १० गते हुने केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिनेछ ।


पौडेलले विद्यार्थीका मागबारे पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य अर्जुनरसिंह केसीलाई सँगै राखेर छलफल गरेका थिए । पौडेलले पनि तदर्थ समिति गठन गर्नभन्दा अहिलेकै कार्यसमितिबाट महाधिवेशन गराउन चाहेका थिए । आफ्नै समूहको ठूलो पंक्तिको विरोध पछि उनी तदर्थ समिति गठन गर्ने पक्षमा पुगेका हुन् ।

प्रकाशित : माघ ४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?