कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्ववियु चुनावमा जुटे विद्यार्थी

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका निम्ति विद्यार्थी संगठनहरू तयारीमा जुटेका छन् । त्रिभुवन विश्वविद्यालयले मातहत सबै कलेजलाई फागुन १४ गते स्ववियु चुनाव गराउन परिपत्र गरेको थियो । त्रिवि नियमावलीमा हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउने व्यवस्था छ । 

नेकपानिकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) संयुक्त उम्मेदवारी दिने तयारीमा छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन गराउने चटारोबीच स्ववियु चुनावमा निर्विकल्प ढंगले प्रस्तुत हुने तयारीमा छ । अन्य साना पार्टीनिकट विद्यार्थी संगठन पनि तयारीमा लागेका छन् ।


अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अनेरास्ववियु, क्रान्तिकारी र नेविसंघको संयुक्त मागअनुसार त्रिविले चुनाव गराउन लागेको बताए । ‘हामी तोकिएकै मितिमा चुनाव हुनुपर्छ भन्ने अडानमा छौं,’ उनले भने, ‘सबै संगठन मिश्रित प्रणालीअनुसार चुनाव गराउने पक्षमा छौं ।’ त्रिविले उम्मेदवार हुने उमेरहद २८ वर्ष तोकेको छ ।


‘पार्टी एकीकरण भए पनि तत्कालीन एमाले र माओवादी केन्द्रनिकट दुई विद्यार्थी संगठनबीच एकता हुन बाँकी छ,’ तामाङले भने, ‘संगठनको एकता र निर्वाचनमा सँगसँगै जान्छौं ।’ नेकपाले भ्रातृसंगठन मोर्चा प्रमुख गोकर्ण विष्टको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने विद्यार्थी संगठन एकीकरणका निम्ति विद्यार्थी फाँट प्रमुख रवीन्द्र अधिकारीलाई जिम्मेवारी दिएको छ । कार्यदल दुई विद्यार्थी संगठनलाई एकीकृत गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नामकरण गर्ने टुंगोमा पुगेको छ ।


दुई संगठन एकीकरणसँगै महाधिवेशनका निम्ति संयोजक र सहसंयोजकलगायत नेतृत्वको जिम्मेवारी कुन पक्षले कति पाउने भन्नेबारे विवाद रहेको अनेरास्ववियुका एक नेताले बताए । तत्कालीन एमालेनिकट अनेरास्ववियुकी अध्यक्ष नवीना लामा संघीय संसद्मा समानुपातिक सांसद छिन् ।


तत्कालीन माओवादी केन्द्रनिकट क्रान्तिकारीका अध्यक्ष तामाङ नेतृत्व आफूले पाउनुपर्ने पक्षमा लागेको स्रोतले जनाएको छ । ‘विधानको मस्यौदा टुंगो लागिसकेको छ,’ त्रिविका सबै क्याम्पसमा आफ्नो संगठनलाई स्ववियु निर्वाचनका निम्ति तत्पर रहन अनौपचारिक सर्कुलर जारी गरेको उल्लेख गर्दै उनले भने, ‘स्ववियु निर्वाचनअघि एकता हुन नसके संयुक्त निर्वाचन परिचालन समिति बनाएर एउटै उम्मेदवार घोषणा गर्छौं ।’


नेविसंघ अध्यक्ष नैनसिंह महरले २०३६ सालदेखि स्ववियुलाई संस्थागत बनाउने काममा आफ्नो संगठनले अगुवाइ गरेको बताए । ‘स्ववियु संस्थागत गर्ने काममा नेविसंघको रगतको साइनो छ,’ त्रिविले नियमित तालिकालाई पालना गर्ने उल्लेख गर्दै उनले भने, ‘देशभरिका क्याम्पसमा आआफ्नो तयारीमा जुट्न साथीहरूलाई भनेका छौं । नेविसंघको केन्द्रीय महाधिवेशन तयारीमा जुटदै गर्दा स्ववियु चुनाव जुनसुकै हालतमा सम्पन्न गराउने पक्षमा छौं ।’


यतिखेर त्रिविका अधिकांश क्याम्पसमा जाडो बिदा छ । माघ १० गतेदेखि बिदा सकिन्छ । नयाँ शक्ति विद्यार्थी युनियन त्रिवि इकाई अध्यक्ष बलबहादुर रम्तेलले क्याम्पस खुलेपछि तयारी तीव्र हुने बताए । ‘क्याम्पस खुलेपछि स्ववियु निर्वाचनको व्यापक तयारी हुनेछ,’ उनले भने ।


दुई वर्षअघिको स्ववियु निर्वाचन धेरै क्याम्पसमा हुन सकेको थिएन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले देशभरिका क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन जारी गरेको छ । ‘२०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्यको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले २०७५ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गराउन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

प्रकाशित : माघ ४, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?