१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

केसीलाई भेट्न पूर्वप्रधानन्याधीशसहितको टोली इलाममा

अनशन नवौं दिन पनि जारी
विप्लव भट्टराई

(इलाम) — इलाम अस्पतालमा १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई भेट्न पूर्वप्रधान्याधीश सुशीला कार्कीसहितको टोली बिहीबार इलाम आएको छ । सत्याग्रहको ९ दिनसम्म पनि उनको मुद्दा सुनुवाइ नभएपछि त्रिभुुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, अधिकारकर्मी दमननाथ ढुंगानालगायतको टोली साँझ इलाम आइपुगेको हो ।

केसीलाई भेट्न पूर्वप्रधानन्याधीशसहितको टोली इलाममा

उनीहरूले यसअघि केसीका मुद्दा सम्बोधन गर्न सरकारलाई आग्रह गरिसकेका छन् ।


डा. केसीको स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट बुधबार नै विशेषज्ञ टोली आएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक डा. विकास शाहले केसीको अवस्था चिन्ताजनक रहेकाले तत्काल यहाँबाट रेफर गर्नुपर्ने बताइसकेका छन् । इलाम अस्पतालमा आईसीयू, सीसीयूलगायतका सुविधा नभएकाले जुनसुकै अवस्थामा पनि संकट हुन सक्ने सहयोगी धर्म गौतमको भनाइ छ । तर केसीले इलाम नछाड्ने अडान पटक–पटक राख्दै आएका छन् । डा. केसीको पक्षमा सदरमुकाममा हस्ताक्षर अभियान पनि सुरु भएको छ । सत्याग्रह थालेयता उनको पक्षमा सदरमुकाममा दिनहुँ र्‍याली निस्कने गरेका छन् । उनलाई समर्थन गर्ने संघसंस्था पनि थपिँदै गएका छन् ।


जीवन रक्षा गर्न अपिल

यसैबीच, कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा. केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई अपिल गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले सरकार र डा. केसीबीच भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । थापा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य हुन् ।


‘कसैले प्रतिष्ठाको विषय नबनाऔं, यो कुनै पार्टी वा दलको विषय होइन, डा. केसीको जीवन रक्षा गर्ने कुरा राष्ट्रिय सम्मानका लागि आवश्यक छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले मनमा आग्रह नराखी पहलकदमी गरेर हिजोका सम्झौताका आधारमा विधेयक संशोधन गरी समस्या समाधान गर्न आग्रह गर्छु ।’


सरकार आफैंले गरेको सम्झौता पूरा गरे केसीको जीवन रक्षा हुने उनको ठहर छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले कुनै पनि बेला अप्रिय घटना हुन सक्नेप्रति उनले सचेत गराए । ‘उदेकलाग्दो विषय त के छ भने सत्ताले जहिल्यै केसीलाई प्रतिपक्ष देख्छ, अहिलेको सरकार उनलाई कम्युनिस्टविरोधीको संज्ञा दिइरहेको छ, कांग्रेसको ट्याग भिराउँदै छ, हिजोका दिनमा पनि सत्ताको नेतृत्व गर्नेहरूले त्यसैगरी किनारा लगाए,’ उनले भने, ‘केसी एक फकिर हुन्, सन्त हुन् ।’

विजय थापाको पक्षमा र्‍याली

चिकित्सा शिक्षा विधेयक तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित इलाममा नै सत्याग्रह थालेका विजय थापाले पनि ७ आंै दिनसम्म सत्याग्रहलाई निरन्तरता दिएका छन् । चोक बजारस्थित लाँकुरी चौतारामा बसेका थापालाई पनि स्वास्थ्य स्थिति कमजोर भएको भन्दै इलाम अस्पतालमा सारिएको छ । चिसोमा बसेका कारण उनलाई खोकीको समस्या भएको चिकित्सकले बताएका छन् ।


राजधानी बाहिर निजी मेडिकल कलेज खोल्न पाउनुपर्ने, एमडी तथा पीजी कक्षाको कोटा कम्तीमा १ हजार ५ सय पुर्‍याउनुपर्ने, सरकारी तलब खाएर राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेलगायत माग उनका छन् ।

प्रकाशित : माघ ३, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?