अब देश विकासको तीव्र गतिमा अघि बढ्छ : प्रधानमन्त्री - समाचार - कान्तिपुर समाचार

अब देश विकासको तीव्र गतिमा अघि बढ्छ : प्रधानमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको उल्लेख गर्दै अब देश विकासको तीव्र गतिमा अघि बढ्ने बताएका छन् ।

बिहीबार किर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाह शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने,‘संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकवर्ष हामीले कानुन बनाउने काममा बितायौँ । अब हामीले काम गर्ने वातावरण बनाएका छौँ । अब देश तीव्र गतिमा अघि बढ्छ । ’


कितिर्पुर नगरपालिकाको साबिक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारस्थित ११ दशमवल ७७ हेक्टर जग्गामा करिब १ अर्ब ४८ करोड ३४ लाख रुपैंयाको लागतमा बन्दरगाह सम्पन्न हुने लक्ष्य लिइएको छ ।


बन्दरगाह शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले अब काठमाडौ‌ंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताए । दक्षिण र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रूपमा बन्दरगाह उपयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।


उनले स्थानीयवासीका गुनासा र भनाइ सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सरकारले त्यसलाई सकारात्मक ढङ्गले लिने बताए । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्थानीवासीका लागि रोजगारीका धेरै अवसर सिर्जना हुने बताए । उनले निर्माण कर्ता कम्पनीलाई समयमै काम सक्न आग्रह गरेका छन्।


यो पनि पढ्नुहोस्ः

सुख्खा बन्दरगाहको विरोधमा चोभारमा प्रदर्शन

प्रकाशित : माघ ३, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

एएफपी

वासिङटन — अमेरिकी अधिकारीहरुले चीनको प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । 

गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने रोबोटिक उपकरणको चोरी गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी कम्पनीको गोपनीयता, प्रविधि र रोजगारी खासेको आरोप लगाउँदै आएका छन् । उनले चीनसँग बढ्दो व्यापार घाटा नियन्त्रण गर्न २ सय अर्ब डलर बराबरका चिनीयाँ सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन् । चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोगमार्फत सूचना चोरी गरेको आरोपमा अमेरिकी नेतृत्वमा विश्वभर नै दबाब सिर्जना गरिएको छ ।

हुवावे र न्याय विभाग दुवैले उक्त समाचारका बारेमा कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

तर, हुवावेले सन् २०१७ मै हुवावे र टी–मोबाइलबीचको विवाद टुंगिएको जनाएको छ । अमेरिकी जुरीको आदेशमा दुई कम्पनीबीच भएको व्यवसायिक साझेदारीमा कुनै नोक्सानी नभएको तथा जानाजान कुनै उपकरण हात नपारेको उल्लेख छ । तर, टी–मोबाइलले आफ्नो व्यापारिक गोपनीयता चोरी गरेको आरोप हुवावेमाथि लगाएको छ ।

अमेरिकी न्याय विभागको उक्त नयाँ कदमले चीन र अमेरिकाबीच पहिल्यैदेखि जारी व्यापार विवादलाई अरु बढाउने चर्चा सुरु भएको छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओको क्यानाडामा भएको गिरफ्तारीले चीनसँग अमेरिका र क्यानाडाको सम्बन्धमै तिक्तता आएको छ ।

प्रकाशित : माघ ३, २०७५ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×