२५ गाउँमा महतवा

करिश्मा चौधरी

वीरेन्द्रनगर — ३५ थारू गाउँ रहेको सुर्खेतको वीरेन्द्रनगरका २५ गाउँमा महतवा र अगह्वा चुनिएका छन् । थारू जातिले माघलाई नयाँ वर्षका रूपमा मनाउनुका साथै अगह्वा र महतवा चुन्ने गर्छन् । यो माघीको दोस्रो दिन हुन्छ ।

सुर्खेत वीरेन्द्रनगर १०, बुदबुदीको थारू गाउँमा बुधबार चुनिएका महतवा चन्द्रबहादुर थारू (बायाँ) र अगह्वा बुद्धि चौधरी । तस्बिर : करिश्मा/कान्तिपुर

विभिन्न सामाजिक, सांस्कृतिक काम गरिने माघमा थारूले अगह्वा र महतवा चुन्ने प्रक्रियालाई निकै महत्त्व दिन्छन् । नयाँ अगह्वा र महतवाले गाउँका लागि नयाँ योजना पनिबनाउने गर्छन् । यसअघि कार्यान्वयन भइरहेका नियम पनि पालना गराउँछन् । अघिल्लो
वर्षका अगह्वा र महतवाकोकाम चित्तबुझ्दो भए उनीहरूलाईनयाँ वर्षमा जिम्मेवारी दिइन्छ । चित्तबुझ्दोनभए अर्को व्यक्ति चुनिन्छ । महतवार अगह्वा चयन गर्दा धेरैजसोसर्वसम्मत हुन्छन् ।

नेतृत्व गर्ने चुन्ने र जिम्मेवारी दिन गाउँका सबैले छलफल गर्छन् । गाउँको भलाइ, सबैको माग र नियमअनुसार नै उनीहरूले काम गर्नुपर्ने हुन्छ । महतवा छनोटमा गाउँको सक्षम व्यक्ति खोजिन्छ । यस वर्षका लागि वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा चन्द्रबहादुर थारू महतवा र बुद्धि चौधरी अगह्वा चुनिए । त्यस्तै नयाँ गाउँमा टोल विकास संस्थाका अध्यक्ष बालकृष्ण चौधरीलाई महतवा छानियो । वीरेन्द्रनगरकै पदमपुरमा पनि दुर्गबहादुर थारू महतवा र गंगाराम चौधरी अगह्वा चुनिएका छन् ।

थारू गाउँमा विकास निर्माणका साथै भोजभतेर, विवाहपर्व तथा मान्छे बित्दा कामको बाँडफाँट र निर्देशन दिने काम महतवाले गर्छन् । अगह्वाले महतवाको निर्देशन पालना गर्छन् । गाउँमा कुनै विषयमा बेमेल भए, झैझगडा भए महतवाको अध्यक्षतामा मिलाउने गरिन्छ । अगह्वा र महतवालाई नेतृत्व विकाससँग जोडिन्छ । अगह्वा/महतवा केन्द्रीय समिति सदस्य दुर्गबहादुर थारूले महतवा टोल विकास संस्थाका अध्यक्षजस्तै नेतृत्वकर्ता रहेको बताए ।

महिला पनि अगह्वा र महतवा बन्ने चलन छ । सुर्खेतमा भने अहिलेसम्म महिला महतवा चुनिएका छैनन् । ‘चलनअनुसार महिला पनि महतवा बन्छन्, सुर्खेतमा छैन,’ उनले भने, ‘अधिकार लिन नखोजे कसले दिन्छ र ?’ महिला पनि अगह्वा, महतवा बने उनीहरूको नेतृत्व विकास हुने थारू बताउँछन् । थारू समुदायमा अगह्वा, महतवा चुन्ने परम्परालाई एकताका रूपमा लिन सकिने अगुवा जागुराम
थारू बताउँछन् ।

प्रकाशित : माघ ३, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

हराउँदै थारू गाउँ

आफ्नो संस्कृतिको मौलिकता जोगाउन नसक्दा थारू समुदाय बस्ती छोडेर अन्यन्त्र जान थाले
करिश्मा चौधरी

वीरेन्द्रनगर — चार दशकअघि वीरेन्द्रनगर नगरपालिका ९, आवास क्षेत्रमा रहेको आँप बगैंचा नजिकको बस्तीलाई थारू गाउँका रूपमा चिनिन्थ्यो । अहिले त्यो नामै बिरानो भएको छ । पूरै थारू बस्तीमा अहिले करिब आठ घर मात्र छन् ।

समाजमा बाह्य प्रभावका कारण थारू गाउँको संस्कृति र पहिचान हराउँदै गएको हो । वीरेन्द्रनगरमा ०२३ सालपछि मात्रै बसोबास सुरु भएको मानिन्छ । त्यसअघि उपत्यकामा थारू र राजी जातिको बसोबास थियो ।

उपत्यकामा बस्दा औलो लाग्नेभन्दै गैरथारू समुदाय लेकतिरै बस्थे । दिउँसो खेतका काममा तल झरे पनिबास बस्न माथि पुग्थे । विशेष गरीथारू समुदाय बस्ने उपत्यकामा खेती, पशुपालन गरिन्थ्यो । थारू समुदायको आफ्नै पृथक् संस्कृति छ । थारू मात्रै बसोबास गरिरहँदा संस्कृतिमा मौलिकता थियो । भाषा, पहिरन, चाडपर्व, संस्कृतिमा कसैको प्रभाव थिएन ।

०२४ सालतिर सरकारले औलो उन्मूलन अभियान थालेपछि उपत्यकामा पहाडी भेगबाट झर्नेको संख्या हात्तै बढ्यो । रैथाने थारूभन्दा गैरथारू समुदायको बस्ती बाक्लिन थाल्यो । थारूगाउँ वरपर गैरथारूको बस्ती भयो । यसले थारू कला, संस्कृति, भाषा, रहनसहनमा अन्य समुदायको प्रभाव पर्न थाल्यो । संस्कृतिमा मौलिकता कम हुँदै गयो । संस्कृतिसँगै बस्तीमा पनि यसको प्रभाव बिस्तारै पर्दै गयो । आफ्नो संस्कृतिको मौलिकता जोगाउन नसकेका थारू बस्ती छोडेर अन्यन्त्र जान थाले । यसले पुराना थारू बस्ती लोप हुँदै छन् ।

वीरेन्द्रनगर ९ स्थित नौलापुर एउटा त्यस्तै गाउँ हो । कुनै बेला थारूको मात्रै बसोबास गाउँमा अहिले थारू घर खोज्नुपर्ने अवस्था छ । नौलापुरमै अहिले थारूहरू अल्पसंख्यक बनेका छन् । गाउँमा न्यून संख्यामा रहेका उनीहरूको कला, संस्कृति, भाषा, रहनसहन पनि हराउँदै गयो । चार दशकअघि नौलापुरमा थारू बाहुल्य रहेको स्थानीय दानबहादुर थारू बताउँछन् । त्यो बेला एउटा मात्रै गैरथारू परिवार रहेको उनले सम्झिए । ‘ऊ ब्याला नौलापुरम थारू कल्ही त रलही,’ उनले थारू भाषामै भने, ‘असकाल बजार बन्गील ।’

आँपको बगैंचा, थारूहरूको मौलिक घर र आफ्नो संस्कृतिलाई उनी अहिले पनि सम्झिन्छन् । त्यो बेला नौलापुरमै बसेका उनी अरू समुदायको बसोबास बाक्लिन थालेपछि वीरेन्द्रनगरकै तल्लो भेगमा सरे । थारू मात्रै बस्दासम्म दसैंको बेला एक महिनासम्म बर्का नाचेको, माघी पर्वमा नाचगान गरेको, कृष्ण जन्माष्टमी, अटवारीलगायत सांस्कृतिक मौलिक पर्व मनाएको सम्झिए । पछि बिस्तारै त्यस्ता पर्व मनाउने तरिका पनि परिवर्तन हुँदै गए ।

बस्तीको मौलिकता हराउन थालेपछि थारू मात्रै होइन, गाउँको अरू परिवार पनि बस्ती सरे । कोही वीरेन्द्रनगरकै तल्लो भेग झरे भने कोही बर्दियातिर सरे । गाउँजस्तै त्यहाँबाट थारू संस्कृति पनि हराउँदै गएको स्थानीय रोशनी चौधरीले बताइन् । ‘गाउँका थारूमा गैरथारू संस्कृतिको प्रभाव पर्‍यो, आधुनिकता अँगाल्ने नाममा थारू संस्कृति हराए,’ चौधरीले भनिन्, ‘बस्तीमा गैरथारूको बसोबास बढ्नु अनि थारूहरू अन्यत्र सर्नुले नौलापुर थारू गाउँ थियो र भन्ने अवस्था आएको छ ।’

थारू अगुवा जागुरामले सोझोपना, चेतनाको कमी, गरिबी, देखासिखी र समाज वरपरको वातावरणले थारू बस्ती लोप हुनुको कारण बताए । ‘कुनै थारू गाउँ शिक्षा र विकासको खोजीमा लोप हुँदै गएका छन्,’ उनले भने, ‘कुनै गाउँ अशिक्षा र देखासिखीले हराउन थाले ।’

वीरेन्द्रनगरकै अर्को गाउँ बुदबुदीमा पनि थारू संस्कृति र मौलिकता संरक्षण चुनौती बन्दै गएको छ । दुई दशक अघिसम्म थारूको मौलिक बस्ती रहेको बुदबुदी अहिले मिश्रितजस्तै बनेको स्थानीय प्रेम चौधरीले बताए । अहिले बस्तीको चारैतिर अन्य समुदायको बसोबास छ ।

कर्णाली प्रदेशमा सुर्खेत र त्यसमा पनि वीरेन्द्रनगरमा मात्रै थारू जातिको बसोबास छ । यहाँ ३५ थारू गाउँ छन् । तीमध्ये करिब १५ को पहिचान हराउन थालेको छ । बुदबुदी, तातापानी, मसुरखेत, बिउराघारी, दौलतपुर, मनिकापुर, चारकुने, सुब्बाकुना र गाग्रेतालमा थारू संस्कृतिसँगै बस्ती हराउने अवस्थामा छन् । त्यस्तै, पिप्रहा, ढोलढुंगा, जब्दी, घामताप्ने, तिलपुरमा पनि संस्कृतिसँगै बस्ती संरक्षण गर्नुपर्ने अवस्था छ ।

प्रकाशित : पुस ३०, २०७५ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT