कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

२५ गाउँमा महतवा

करिश्मा चौधरी

वीरेन्द्रनगर — ३५ थारू गाउँ रहेको सुर्खेतको वीरेन्द्रनगरका २५ गाउँमा महतवा र अगह्वा चुनिएका छन् । थारू जातिले माघलाई नयाँ वर्षका रूपमा मनाउनुका साथै अगह्वा र महतवा चुन्ने गर्छन् । यो माघीको दोस्रो दिन हुन्छ ।

२५ गाउँमा महतवा

विभिन्न सामाजिक, सांस्कृतिक काम गरिने माघमा थारूले अगह्वा र महतवा चुन्ने प्रक्रियालाई निकै महत्त्व दिन्छन् । नयाँ अगह्वा र महतवाले गाउँका लागि नयाँ योजना पनि बनाउने गर्छन् । यसअघि कार्यान्वयन भइरहेका नियम पनि पालना गराउँछन् । अघिल्लो

वर्षका अगह्वा र महतवाको काम चित्तबुझ्दो भए उनीहरूलाई नयाँ वर्षमा जिम्मेवारी दिइन्छ । चित्तबुझ्दो नभए अर्को व्यक्ति चुनिन्छ । महतवा र अगह्वा चयन गर्दा धेरैजसो सर्वसम्मत हुन्छन् ।


नेतृत्व गर्ने चुन्ने र जिम्मेवारी दिन गाउँका सबैले छलफल गर्छन् । गाउँको भलाइ, सबैको माग र नियमअनुसार नै उनीहरूले काम गर्नुपर्ने हुन्छ । महतवा छनोटमा गाउँको सक्षम व्यक्ति खोजिन्छ । यस वर्षका लागि वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा चन्द्रबहादुर थारू महतवा र बुद्धि चौधरी अगह्वा चुनिए । त्यस्तै नयाँ गाउँमा टोल विकास संस्थाका अध्यक्ष बालकृष्ण चौधरीलाई महतवा छानियो । वीरेन्द्रनगरकै पदमपुरमा पनि दुर्गबहादुर थारू महतवा र गंगाराम चौधरी अगह्वा चुनिएका छन् ।


थारू गाउँमा विकास निर्माणका साथै भोजभतेर, विवाहपर्व तथा मान्छे बित्दा कामको बाँडफाँट र निर्देशन दिने काम महतवाले गर्छन् । अगह्वाले महतवाको निर्देशन पालना गर्छन् । गाउँमा कुनै विषयमा बेमेल भए, झैझगडा भए महतवाको अध्यक्षतामा मिलाउने गरिन्छ । अगह्वा र महतवालाई नेतृत्व विकाससँग जोडिन्छ । अगह्वा/महतवा केन्द्रीय समिति सदस्य दुर्गबहादुर थारूले महतवा टोल विकास संस्थाका अध्यक्षजस्तै नेतृत्वकर्ता रहेको बताए ।


महिला पनि अगह्वा र महतवा बन्ने चलन छ । सुर्खेतमा भने अहिलेसम्म महिला महतवा चुनिएका छैनन् । ‘चलनअनुसार महिला पनि महतवा बन्छन्, सुर्खेतमा छैन,’ उनले भने, ‘अधिकार लिन नखोजे कसले दिन्छ र ?’ महिला पनि अगह्वा, महतवा बने उनीहरूको नेतृत्व विकास हुने थारू बताउँछन् । थारू समुदायमा अगह्वा, महतवा चुन्ने परम्परालाई एकताका रूपमा लिन सकिने अगुवा जागुराम

थारू बताउँछन् ।

प्रकाशित : माघ ३, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?