अस्तासिन्याको उत्साह

हरि गौतम

रुकुमपूर्व — जिल्लाका मगर समुदायले माघी अर्थात् मकर संक्रान्तिलाई विशेष तवरले मनाउँछन् । भूम्या पर्वपछि यो उनीहरूको ठूलो चाड हो । माघीको अवसरमा मगर समुदायको बाक्लो बसोबास रहेको स्थानमा अस्तासिन्या पर्व सुरु भएको छ ।

हरेक वर्षको माघ महिनाको पहिलो दिनदेखि सुरु हुने यो पर्व ७ दिनसम्म चल्छ । यस वर्ष पनि मंगलबारबाट सुरु भएको अस्तासिन्या पर्व सोमबार सकिनेछ । मगर खाम भाषामा अस्तासिन्याको अर्थ तारो अर्थात् तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि नै तारो हान्ने चलन सुरु भएको स्थानीयहरू बताउँछन् ।

जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाकाका अधिकांश वडा र सिस्ने गाउँपालिकाका केही ठाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ६ वडा तथा साबिकको रन्मामैकोट तथा हुकाम, तकसेरालगायतका ठाउँमा ‘अस्तासिन्या’ अर्थात् तारो हान्ने चलन छ । पुथाउत्तरगंगा गाउँपालिकाको १ देखि ४ वडाका विभिन्न टोलमा ‘अस्तासिन्या’ को रौनक बेग्लै छ ।

टोलैपिच्छे मनाइने यो पर्वको रौनक सुरु भइसकेको छ । मंगलबारदेखि सुरु भएको यो पर्वमा हरेक दिन फरक–फरक टोलले कार्यक्रम गरेर ‘अस्तासिन्या’ हान्ने गरेका छन् । एउटा टोलमा हुने अस्तासिन्यामा अन्य टोलका सर्वसाधारण पनि
सहभागी हुने गरेका छन् ।

हरेक टोलले आफ्नो पालो परेको दिन अस्तासिन्या र तारो राखिएको स्थान (अस्ताकोला) का लागि रातो कपडा, रिवन र ऐनाको व्यवस्था गर्छन् । ‘जुन टोलमा तारो हान्नुपर्ने हो, त्यही टोलले तारो बनाउने प्रचलन छ,’ पुपाल युवा क्लबका अध्यक्ष भरतकुमार पुनमगरले भने, ‘तारो हान्न सबै सहभागी हुन्छन्, तारो बनाउने काम भने सम्बन्धित टोलको हुन्छ ।’

यस वर्ष बारघर टोलबाट तारो हान्न सुरु भएको छ । अस्तासिन्या घर्तीडेरा, कोटडेरा, कान्छाबारा, धारा टोल हुँदै काल्दुङ टोलमा पुगेर सकिने पुनले बताए । बिहानकोखानापछि नै यो खेल सुरु हुन्छ ।

अस्तासिन्या र अस्ताकोलाका लागि रातो कपडा, रिबन र ऐना इष्टपट्टिका चेली वा कुलकै चेलीबाट माग्ने प्रचलन छ । मैकोट निवासी कर्मसही घर्तीका अनुसार अस्ताकोलामै निसाना लाउनेलाई दिनैपिच्छे पुरस्कारको व्यवस्था गरिएको छ । हरेक वर्ष पुरस्कारको राशि फरक–फरक हुन्छ ।

पुरस्कारको व्यवस्था पनि सम्बन्धित टोलले नै गर्छन् । अस्तासिन्या सुरु गर्नुपूर्व यो चलन अन्तर्गत बिहान भाले बास्नेबित्तिकै घरकी छोरीबहिनी पुज्ने प्रचलन छ । त्यसपछि कुलभित्रका छोरीबहिनी पुज्ने परम्परा मगर समुदायमा छ । बिहानै छोरीबहिनीलाई पुजिसकेपछि उनीहरूलाई मीठामीठा खानाका परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । मगर समुदायले आफन्त, साथीभाइबीच भेटघाट र रमाइलो नाचगान गरेर यो पर्व मनाउने गर्छन् ।

प्रकाशित : माघ २, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

खरको छानामा आगोको डर

गिरुप्रसाद भण्डारी

प्यूठान — केटाकेटी खेल्ने क्रममा आगलागी हँुदा तीन घर जले । लाखौंको क्षति भयो । खरको छानामा आगोको लप्काले छिटो भेटयो । गुहार माग्दा माग्दै आगो सल्किसकेको थियो । तत्काल गाउँले जम्मा भएकाले प्यूठान नगरपालिका–८ भेडाबारीकी ७५ वर्षीया चिमारी नेपालीको घर पूरै जल्नबाट जोगियो । 

२०३० सालमा बनाएको खरले छाएको घर अहिलेसम्म जस्तामा बदल्न नसक्दा आगलागी हुने जोखिम रहेको चिमारीले बताइन् । ‘श्रीमान् बितेको १० वर्ष भइसक्यो,’ आँगनमा बसेर घरतर्फ देखाउँदै उनले भनिन्, ‘उहाँको पालामा छाउन सकिएन । छोराको पालामा पनि यस्तै छ ।’

दैनिक ज्यालादारीमा घर निर्माण गर्ने काममा लागेका छोरा रेशमको कमाइले ५ जनाको परिवार जेनतेन चलेको उनले सुनाइन् । गत शुक्रबार भएको आगलागीमा जलेका काली, प्रकाश र बिर्खे नेपालीका परिवार उनकै घरमा आश्रय लिएका छन् । ‘हाम्रो घर बचेकाले आश्रय लिने ठाउँ भो,’ उनले भनिन्, ‘गर्मीको दिन भएको भए हाम्रो घर बच्ने अवस्था थिएन ।’

गाउँमा खरले छाएका धेरै घर रहेकाले आगलागी हुँदा सबैका घर जल्ने सधैं त्रास रहिरहेको उनले बताइन् । सरकारले खरका छाना हटाउने कुरा रेडियोमा सुने पनि आफ्नो गाउँमा त्यो कुरा कसैले नगरेको उनले बताइन् । नगरपालिकाको सबैभन्दा पछाडि परेको भेडाबारी बस्तीमा २०/२५ घर खरले छाएका रहेको स्थानीय लोकबहादुर सार्कीले बताए । ‘देशमा राजनीतिक व्यवस्था परिवर्तन भो,’ उनले भने, ‘हाम्रो भेडाबारीका जनताको अवस्था उस्तै छ ।’

यस दलित बस्तीमा आज कमाएको आजै खाने अवस्था रहेको सार्कीले बताए । ‘सरकारले गरिब परिचयपत्र दिएको छ,’ उनले भने, ‘गरिबलाई कुनै सेवा दिएन ।’

नगरपालिकाभित्र रहे पनि भेडाबारी बस्ती निकै दुर्गम रहेको सामाजिक अगुवा खुमबहादुर थापाले बताए । ‘धर्मावतीको भेडाबारी निकै पछाडि परेको बस्ती हो,’ उनले भने, ‘स्थानीय सरकारले यसलाई अन्यजस्तै बनाउन पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ तर त्यसो गरेको पाइँदैन ।’

भेडाबारीमा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता न्यूनतम मानवीय आवश्यकता समेत पूरा नभएको थापाले बताए । ‘भेडाबारी नगरपालिकाकै पिछडिएको बस्ती हो,’ वडाध्यक्ष लीलाबहादुर केसीले भने, ‘स्थानीयलाई अगाडि बढाउन नगर कार्यपालिकाको ध्यान पुग्नुपर्छ ।’ वडाबाट भेडाबारीलाई प्राथमिकता दिएर अगाडि बढाउन लागिपरेको केसीले बताए । ‘धेरै घर खरले छाएका छन्,’ उनले भने, ‘आगलागी हुँदा निकै डर हुन्छ । अझै दमकल जाने बाटो बनेको छैन ।’

उनले हालै अगलागी भएका भेडाबारीका तीन घरलाई जस्तापाताले छाउनका लागि २५/२५ हजार रुपैयाँ दिएको बताए । ‘तीन वर्षभित्रमा नगरका खरका छानालाई जस्तामा बदल्ने भनेका छौं,’ उनले भने, ‘घर त जस्तामा बदलिएला तर उनीहरूको जीवन बदल्न धेरै वर्ष कुर्नुपर्छ ।’

प्रकाशित : माघ २, २०७५ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्