माघे संक्रान्ति : देवघाटमा मकर स्नान, थारु गाउँमा खिचरा

रमेशकुमार पौडेल

चितवन — माघे संक्रान्तिका दिन आज चितवनकाे देवघाटधाममा मकर स्नान गर्न भक्तजनकाे घुइँचाे लागेकाे छ । देवघाटमा पुष अन्तिम दिन देखि मकर स्नान मेला सुरु हुन्छ । दुई दिनको अवधिमा पाँच लाखको हाराहारीमा भक्तहरु आउने अपेक्षा देवघाट क्षेत्र विकास समितिले राखेको छ । 

देवघाटधाममा मकर स्नान गर्दै । 

गोसाइकुण्डबाट आएको त्रिशुली र मुक्तिनाथबाट आएको कालिगण्डकी दोभान देवघाटमा माघे संक्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ। ‘स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरु पनि आउँछन्। हिन्दुका साथै यस दिन बौद्धहरु पनि आउने गरेका छन्’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने।

अध्यक्ष पौडेलका अनुसार पुराणहरुमा देवघाटलाई आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ, चक्रतीर्थ जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा चित्रण भएको छ। माघे संक्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन छ।

‘यस्ता धार्मिक कारणहरुले देवघाट आएर मकर स्नान गर्ने, जप, पुजा, हवन, दान तथा पितृ श्राद्ध गर्नेहरुको ठुलै जमघट हुन्छ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने। लाखौं मान्छेहरु आउने भएका कारण व्यवस्थापन गर्न पुस १० गतेदेखि नै तयारी सुरु गरेको उनले बताए। मुख्य धाम क्षेत्र तनहुँमा पर्ने भए पनि चितवनको नारायणगढ रामनगर हुँदै बसबाट यो ठाउँ पुग्नु पर्छ।

चितवनबाट देवघाट जाँदा त्रिशुली नदीमा झोलुङ्गे पुल मात्रै छ। जुन पुरानो भएका कारण धेरै मान्छेको चाप थेग्न गाह्रो हुने गरेको छ। त्यसैले त्रिशुली नदीमा प्रशस्तै डुंगाहरु राखेर नुहाउन जाने ठाउँसम्म पुग्ने व्यवस्था गरेको समितिका अध्यक्ष पौडेलले बताए।

नारायणगढबाट आँपटारी हुँदै देवघाट पुग्ने नियमित सडकमा संक्रान्तिका दिन एकतर्फी मात्रै गाडी चल्छन्। देवघाट जाँदा रामनगरबाट छिर्नुपर्ने छ। फर्कदा मात्रै आँपटारी हुँदै गाडी आउने छन्। गाडी भाडा, डुंगा भाडा, पार्किङ शुल्क सबै तय गरेर ठाउँ ठाउँमा मूल्य विवरण राखेको उनले बताए।

माघे संक्रान्तिलाई चितवनका आदिवासी थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँछन्। थारु गाउँमा आज विशेष परिकारहरुका साथ माघी धुमधामले मनाइदै छ।

चितवनका थारुहरुले माघ एकलाई खिचरा पनि भन्ने गर्छन्। पुर्वी चितवनको खैरहनीमा थारु कल्याणकारी सभाको आयोजानमा शनिबारदेखि खिचरा महोत्सव पनि सुरु भएको छ। अनदीको चामललाई बफाएर बनाएको विशेष परिकार चिच्चर, माछा यो दिनको मुख्य खाना हो।

मगर समुदायले पनि माघ एकलाई नै नयाँ वर्ष मान्ने गरेको छ। नयाँ वर्षलाई मगरहरु आफ्नो भाषामा मिन्हामल्हेस भन्ने गर्छन्। मिन्हामल्लेसका दिन आज नेपाल मगर संघ चितवनले नारायणगढ क्याम्पाचौरमा साँस्कृतिक कार्यक्रमसहित खाना महोत्सव पनि आयोजना गरेको छ। यो दिनलाई उनीहरु बोलीचालीको भाषामा माघे सकराती पनि भन्ने गर्दछन्।

मगर समुदायमा आज दिवंगत पिता पुर्खाको नाममा विशेष पूजा हुने गर्छ। ‘बिहान सवेरै कुवा र पँधेरोमा गएर घरमुलीले नुहाउने, चोखो भएर केराको पात ओछ्याएर पातमा एक मुठ्ठी चामल, दाल र अदुवा राखेर धुपबत्ती बालेर पूजा गर्ने चलन छ। यसलाई कुलपितृको स्मरण र पूजा भनिन्छ। अहिले कुवा र धारा छैन। घर घरमै यस्तो पुजा हुन्छ’ नेपाल मगर बौद्ध समाजका केन्द्रीय सल्लाहाकार टेकबहादुर थापामगरले भने।

कुलपितृ पूजापछि तरुल, पिँडालु, सखरखण्ड, सेलारोटी, बारा बटुक, खिचडी, मासु, अचार खाने चलन छ। यस्ता परिकारहरु अघिल्लो दिन नै तयार गरिने टेकबहादुर थापामगरले बताए। कुलपितृ पुजापछि चेलीबेटी र पाहुनालाई खुवाउने चलन छ। क्याम्पाचौरमा हुने माघे संक्रान्ति मेलामा पनि मिन्हामल्हेसका यो विधि पूरा गर्ने जिल्ला अध्यक्ष खिमबहादुर थापामगरले बताए। खाना महोत्सव अर्थात फुड फेष्टिभलमा मगर समुदायका यीनै परिकारहरुलाई राख्ने उनको भनाइ छ।

प्रकाशित : माघ १, २०७५ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

थारू बस्तीमा माघीको उल्लास

जिता, ढिक्री, घोंगी र मुसाका परिकार
गाउँगाउँमा बडघर चयन
छोराछोरीको विवाह मिति तय
प्रदेश ५ ब्युराे

बुटवल — पश्चिम तराईका थारू गाउँलाई माघीको रौनकले छपक्कै छोपेको छ । सोमबारदेखि खानपान र नाचगान सुरु भए । गाउँमा परदेशी फर्किएका छन् । यसलाई बहुआयामिक पर्व मानिन्छ । माघ १ गते परिवारका सबै सदस्य स्वतन्त्र हुन्छन् ।

माघीको अवसरमा दाङको घोराहीमा ढिक्री बनाउँदै थारू किशोरीहरू । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर 

आत्मनिर्णयको अधिकार उनीहरूलाई दिइन्छ । यसैले माघीलाई स्वतन्त्रताको पर्व भनिन्छ । ठूलो परिवार अलग–अलग हुन सक्छन् । छोराछोरीको विवाहको मिति तय गरिन्छ । घरमूली फेर्न पाउँछन् । गाउँका लागि आवश्यक नियम यही दिन तय गरिन्छ ।

‘गाउँका अगुवा (बडघर) पनि चयन गरिन्छ,’ अगुवा नारायण चौधरीले भने, ‘माघी लोकतान्त्रिक पर्व हो ।’ थारू समुदायले यसलाई वैज्ञानिक पर्वका रूपमा मनाउँछन् । यतिबेला घरमा खाद्यान्न र बारीमा तरकारी हुने भएकाले पर्व मनाउन सहज छ । बडघर छनोट गर्न गाउँभरिका परिवारका घरमूलीले आफ्ना मत वा तर्क पेस गर्छन् । थारू समुदाय संस्कृतिको खानी मानिन्छ । पछिल्लो समय संस्कृति बिर्सिन थालेपछि यसलाई सांस्कृतिक अभियानका रूपमा मनाउन थालिएको हो ।

दाङ, बाँके र बर्दियाका थारू बस्तीमा सोमबार मासुका लागि (जिता) सुँगुर–बंगुर मारिएका छन् । ढिक्री पकाउन सुुरु भइसकेको छ । घोंगी, माछा, मुसाका परिकार तयार भइसकेका छन् । राति माघी नहान (स्नान) गरिन्छ । गाउँगाउँमा सांस्कृतिक कार्यक्रम राखिएका छन् । माघीले समुदायमा उत्साह थपेको छ । सोमबार राति १२ बजेपछि तालतलैया, नदीमा गएर स्नान गरी शिवालयमा जल चढाउने परम्परा छ ।

स्नानपछि आफूभन्दा ठूलालाई ढोग गरी (निसराउ) चामल छुनुपर्छ । जुन चालम विपन्नलाई दान दिने र उब्रेमा दिदीबहिनीलाई कोसेली पठाइन्छ । ‘मासुका लागि जिता तयार भइसक्यो,’ बाँके बैजनाथ–८ का बडघर केदार चौधरीले भने, ‘सोमबार बिहानैबाट चहलपहल बढेको छ । रमाइलोसुरु भइसक्यो ।’

माघी लक्षित गरेर बैजनाथ गाउँपालिका गुरुदयालपुर, राप्ती सोनारी गाउँपालिकाको भुवरभवानी, बर्दियाका बाँसगढी नगरपालिका, ठाकुरद्वारा, सदरमुकाम गुलरियामा महोत्सव तथा मेला आयोजना गरिएको छ । त्यहाँ माघी परिकार बिक्रीमा राखिएका छन् । परम्परागत पहिरनमा सजिएर माघीका गीत गाउँदै रमाइरहेका छन् ।

ढिक्री र मघौटा
माघीमा थारू समुदायले पकाउने महत्त्वपूर्ण परिकार ढिक्री हो । यसले बेग्लै पहिचान बनाएको छ । अहिले माघीको रौनकसँगै थारू गाउँमा ढिक्री पाकिरहेका छन् । अन्य समुदायका मानिस यसको स्वाद लिन थारू गाउँ पस्छन् । अचेल औपचारिक कार्यक्रममा पनि खाजाका रूपमा ढिक्री खुवाउने गरिन्छ । यो चामलको पिठोको परिकार हो । यो बाफबाट पकाइन्छ ।

पकाउने तरिका म:मको जस्तै हो । ‘थारू समुदायका चाडपर्व भनेपछि ढिक्रीको नाम आइहाल्छ । ढिक्री नपकाएसम्म पर्व नै मनाइँदैन,’ घोराही १०, नारायणपुरकी सरस्वती चौधरीले भनिन्, ‘हामीले ढिक्रीलाई महत्त्वपूर्ण परिकार मान्दै आएका छौं । अरू समुदायका पनि थारू गाउँ आएपछि ढिक्री खोज्छन् ।’ माघीको अवसरमा ढिक्री पकाउने, अचार बनाउने, रोटी पकाउने, सुँगुर काट्नेलगायत काम चलिरहेका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेको छ । माछा, खसी, सुँगुर, कुखुरा मार्नुका साथै तरुल पनि खनिएका छन् ।

खास माघी पर्व माघ १ गते हो । यस दिन बिहानै नुहाउने, अग्रजसँग टीका ग्रहण गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा निसराउ दिन जाने चलन छ । माघीमा मघौटा गीत गाइन्छ । घरघरमा नाचगान गर्दै जाने र ढिक्री खाने परम्परा रहेको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘माघीमा मघौटा गीत र नाचसँगै ढिक्री खाएर रमाइलो गरिन्छ,’ उनले भने, ‘ढिक्री थारूको पुरानो परिकार हो । यसलाई विभिन्न पौराणिक कथासँग जोडेर व्याख्या गरिन्छ ।’ पाँच पाण्डवमध्येका सबैभन्दा बलिया भीम भएको र उनले पिठोको नपाकेको रोटी खाएको कहानीसँग पनि ढिक्रीको प्रसंग जोडिने उनले बताए ।

चलन हरायो
माघी थारू समुदायको नयाँ वर्ष हो । यस दिन वर्षभरिको योजना तर्जुमा गरिन्छ । जिम्मेवारी बाँडफाँट हुन्छ । पहिले माघीका दिन मुखिया चुन्ने चलन थियो । सबैले सम्मान गर्ने र न्याय गर्न सक्ने व्यक्तिलाई वर्षदिनका लागि मुखिया चुन्थे । गाउँघरमा झगडा, दु:ख पर्दा, सहयोग आदानप्रदान मुखियाको निर्देशनमा हुने र जग्गाको तिरो उनैमार्फत बुझाउने चलन थियो ।

अहिले उक्त चलन हराएको छ । पश्चिम नवलपरासीको सरावलका ७५ वर्षीय जितबहादुर चौधरीलाई गाउँमा मुखिया चुन्ने परम्पराको अझै सम्झना छ । ‘गाउँभरिका जम्मा भएर नाचगान गर्ने, मीठो खाने र आपसमा सहमति गरेर एक अगुवालाई मुखिया चुन्ने गरिन्थ्यो,’ उनले भने, ‘बहुदल आएपछि राजनीतिक पार्टीको चहलपहलले यो प्रथा हराएजस्तो भयो ।’

थारू गाउँ मिश्रित समुदाय भयो । नयाँ पुस्ताले आफ्नो भाषा नजान्ने अवस्था आएपछि यसको संरक्षणमा थारू अगुवाले चासो देखाएका छन् । मौलिक पोसाक र संस्कृति संरक्षणका लागि विभिन्न स्थानमा महोत्सव गर्ने, मौलिक नाच प्रतियोगिता गर्ने र नयाँ पुस्तालाई मौलिक संस्कृतितर्फ आकर्षण गर्न खोजिएको स्थानीय मनीराम थनैतले बताए ।

चेली पुज्ने पर्व
माघी ठाउँ र परिवेशअनुसार फरक–फरक तरिकाले मनाइन्छ । पूर्वी रुकुममा मीठो खाने, सिस्नो हान्ने र परम्परागत खेल खेलेर मनाउने चलन छ । केही क्षेत्रमा छोरीबहिनीलाई पुज्ने गरिन्छ । मगर समुदायले माघीमा चेली पुज्ने गर्छन् । पुथाउत्तरगंगा र भूमेका अधिकांश र सिस्ने गाउँपालिकाका केही ठाउँमा छोरीबहिनीको पूजा गरिन्छ ।

यो चलन ठाउँपिच्छे फरक छ । कति ठाउँमा बिहान भाले बास्नेबित्तिकै र कति ठाउँ ढिला गरेर छोरीबहिनी पुज्ने गर्छन् । पुजिसकेपछि उनीहरूलाई मीठा परिकार, लत्ताकपडाका साथै दक्षिणा दिने चलन छ । ‘दिन लामा हुने, रात छोटा हुने, जाडो भाग्ने र न्यानो लाग्ने संक्रान्तिका रूपमा यसलाई लिइन्छ,’ भूमेका अध्यक्ष रामसुर बुढामगरले भने, ‘छोरीबहिनी पुज्ने चलन उहिल्यैदेखिको हो ।’

मगर समुदायले छोरीबहिनी पुजिसकेपछि ‘अस्तासिन्या’ सुरु गर्छन् । हरेक वर्षको माघ महिनाको पहिलो दिन सुरु हुने ‘अस्तासिन्या’ सात दिनसम्म चल्ने गर्छ । खाम भाषामा ‘अस्तासिन्या’ को अर्थ तारो अर्थात तिर हान्नु हो । दुस्मनलाई पराजित गरेको खुसियालीमा परापूर्वकालदेखि ‘अस्तासिन्या’ हान्न थालिएको भनाइ छ ।

जिल्लाको पुथाउत्तरगंगा, भूमे गाउँपालिकाका अधिकांश ठाउँ र सिस्नेका केही गाउँमा यो पर्व मनाइन्छ । पुथाउत्तरगंगाको १ देखि ४ वडामा यो पर्व विशेष धुमधामसाथ मनाइन्छ ।

प्रकाशित : माघ १, २०७५ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT