५११ हिमताल थपिए

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।

५११ हिमताल थपिए

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो ।

नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ । थपिएका हिमतालले ओगटेको क्षेत्रफल १० दशमलव १ वर्गकिलोमिटर छ । २ हजार ४ सय ५६ देखि ५ हजार ८ सय ९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन् ।

थपिएका सबै हिमताल कोसी नदी बेसिनमा छन् । ४ हजार ४३ मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइमा रहेका १ सय २ वटा हिमताल भने हराएका छन् । अनुसन्धानमा खटिएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार २० वर्षको अवधिमा तालको औसत क्षेत्रफल २५ प्रतिशतले बढेको छ । नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा हिमताल थिए । सन् २०१७ मा आएर १ हजार ५ सय ४१ वटा पुगेको छ । यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउने ठकुरीले बताए ।

हिमतालहरुलाई तीन प्रकारमा वर्गीकरण गरेर अनुसन्धान गरिएको थियो । जसमा ‘सुप्रा ग्लेसियल,प्रो ग्लेसियल र अनकनेक्टेड’तालहरु छन् । हिमनदीको छेउछाउमा बनिने ‘प्रो ग्लेसियल’ ताल यो अवधिमा एक सय ८१ प्रतिशतको दरले बढेको पाइएको छ । यी तालहरुको क्षेत्रफल ८१ प्रतिशतको दरले बढेको अनुसन्धानले देखाएको छ ।


सगरमाथा नजिकै बनेको ईम्जा ताल । तस्बिर सौजन्यः सुदीप ठकुरी


हिमनदीका बरफ पग्लिएपछि पानी बनिने र त्यही पानी हिमनदीको हिउँलाई झन् पगाल्न मद्दत गर्छ । जसका कारण ‘प्रो ग्लासियल ताल’को संख्या बढेको ठकूरीले बताए । ‘प्रो ग्लेसियल’ तालले तापक्रम वृद्धिको अवस्था जनाउँछ । ठकुरीका अनुसार हालै गरिएको एक अनुसन्धानमा सन् १९७६ देखि २०१५ मा वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य चार प्रतिशतको दरले बढेको पाइएको छ ।


२०१५ मा भएको एक अध्ययनबाट वर्षाको परिणाम ९ मिलिमिटर प्रति वर्षको दरले घटेको देखिन्छ । ‘अनकनेक्टेड ताल’हरुले वर्षाको अवस्थाबारे जानकारी दिन्छन् । यी तालहरु २० वर्षको अवधिमा घट्दो रहेको अनुसन्धानकर्ता ठकूरीले बताए । उच्च हिमाली क्षेत्रमा रहेका तालहरुलाई वर्षा परिवर्तनको सूचको रपमा समेत चिनिन्छ ।


हिमाली क्षेत्रमा हिमतालहरुको संख्या बढेपछि यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरु हिमताल विष्फोटनको उच्च जोखिममा परेको ठकूरीले बताए । उनका अनुसार हिमताल विष्फोटनको खतरा बढेर गएको छ ।

उक्त अनुसन्धानले नेपाललाई हिमताल विष्फोटनको सम्भावित खतराहरुबाट जोगिन तत्काल उपायहरु खोज्न समेत सुझाएको छ । कर्णाली र गण्डकी खोलाको तुलानामा कोसी नदीको उपल्लो क्षेत्रहरुमा हिमतालहरुको क्षेत्रफल बढ्दो अवस्थाममा रहेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।


नेपालमा अबका दिनहरुमा हिमतालहरुको संख्या बढ्दै जाने निष्कर्ष निकाल्दै प्रत्येक दशकमा हिमतालहरुको अनुसन्धान तथा यस्ता क्षेत्रहरुमा नियमित अध्ययन आवश्यक रहेको औँल्याइएको छ । यो अनुसन्धानले नेपालको हिमतालहरुको संख्या समेत निर्धारण गरेको छ । भू–उपग्रहबाट लिएको तस्बिरबाट अनुसन्धान गरिएको थियो ।

प्रकाशित : पुस २९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?