२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सांसदको शपथ लिएका रेशम चौधरीको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने

काठमाडौँ — कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका रेशमलाल चौधरीले कारागारमा बसुञ्जेल पारिश्रमिक, सेवा र सुविधा नपाउने भएका छन् ।

सांसदको शपथ लिएका रेशम चौधरीको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने

संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य(सांसद) पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिने प्रावधान अनुसार बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले चौधरी शपथ पछि पुनः पक्राउ परेको जानकारी संसदलाई गराएका थिए । उनले भने, 'संविधानले दिएको अधिकार अनुसार चौधरीलाई शपथ ग्रहण गराइएको थियो । शपथपछि पक्राउ गरेर फेरि थुनामा राखिएको पत्र संसद सचिवालयमा गृहमन्त्रालयले पठाएको जानकारी गराउँछु ।'


सभामुख महराले प्रतिनिधि सभा नियमावली, २०७५ को (३) अनुसार संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने जानकारी गराए ।


चौधरीदलाई गत पुस १९ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसदको शपथ खुवाइएको थियो । उनलाई डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याएर शपथ ग्रहण गराइसकेपछि फेरि डिल्लीबजारमा नै लगेर थुनामा राखिएको छ ।


०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।


उनले चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।


चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।


प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ ।


प्रकाशित : पुस २५, २०७५ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?