सुन साट्ने बहानामा १० लाख लुटपाट

अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको ७४ किलो नजिक जङ्गलमा अज्ञात समूहले सुन साट्ने बहानामा एक युवाको १० लाख लुटेका छन् । मङ्गलवार दिउँसो बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले सुनसरीका निरोज घिमिरे र राजधानीका मेखराज खत्रीको सो रकम लुटेका हुन् । 

सस्तोमा सुन दिने सपना देखाएपछि उनीहरूलाई ७४ किलोको जङ्गलमा ‘साजन ’ नाम भएका व्यक्तिले बोलाएका थिए । त्यही स्थानमा कुटपिट गरी रकम लुटेर लगेको प्रहरीले जनाएको छ ।

‘रड प्रहार गरेपछि १० लाख लुटे, सोही अनजान लुटेरालाई खोजिरहेका छौँ,’ इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक गोपाल प्रसाद ढकालले भने । उनले प्रहरीमा यसबारे खबर आए लगत्तै अनुसन्धानलाई तीव्र बनाइएको सुनाए । ‘सुन साट्ने लोभ र ठग्ने गिरोहबाट १० लाख लुट्ने काम भएको देखिन्छ,’ उनले भने ।

यसरी भयो घटना
केही दिन यता सुनसरीका निरोज घिमिरे र काठमाडौँका मेखराज खत्रीको अज्ञात साजनसँग गफ भइरहेको थियो । आफूसँग एक किलो सुन भएको र २८ लाख दिएमा साट्ने प्रतिबद्धता सहित ‘साजन’ भेट्न तयार भए ।

७४ किलोमा भेट्ने योजनालाई मानेर उनीहरूले बलेफी गाउँपालिका ५ स्थित ७४ किलो जङ्गलमा पुगे । ‘साजन’ नामक अपरिचित व्यक्तिले फोनमै दुई जना मात्रै आउने सर्त राखेपछि एक जना साथी बलेफीमा छोडेर दुई जना मात्रै गएका हुन् ।

राजधानीबाट ‘साजन’भन्ने व्यक्ति एक किलो सुन लिएर आउने आसमा १० लाख लिएर एक घण्टा कुरिरहेका उनीहरूलाई पछाडिबाट रुमालले मुहार छोपेका तीन व्यक्तिले प्रहार गरे ।

अनजान तीन व्यक्तिले घिमिरेको टाउको रड र खत्रीलाई निर्घात कुटे । हालै १० लाख दिए एक किलो सुन पाउने सपना बुनेका उनीहरूलाई मुर्छा पर्ने गरी कुटेपछि १० लाखको झोला लिएर फरार भए ।

प्रकाशित : पुस १८, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

वादीको रकम अदालतबाट प्रतिवादीलाई

न्यायाधीशको फैसलाविपरीत करिब १५ लाख रुपैयाँ कर्मचारीद्वारा प्रतिवादीलाई फिर्ता
देवनारायण साह

मोरङ — अदालतमा वादीका लागि रोक्का राखेको १४ लाख ९१ हजार ५४ रुपैयाँ प्रतिवादीलाई फिर्ता दिइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले गरेको फैसला विपरीत कर्मचारीको मिलेमतोमा प्रतिवादीलाई नै बिगो रकम फिर्ता गरिएको हो । 

विराटनगर ३ की विष्णुमाया नेपाल अधिकारीले १९ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगरेको भन्दै स्थानीय केदार पराजुलीविरुद्ध जिल्ला अदालत मोरङमा २०७४ माघमा लेनदेन मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा न्यायाधीश दाहालले पराजुलीबाट साँवा १९ लाख र ब्याज ६ लाख ७२ हजार २ सय ८७ रुपैयाँ भराउन ०७५ असार २७ गते फैसला गरेको थियो । फैसला आएसँगै रिजाल फरार भए ।

यसैबीच, पराजुलीले विराटनगर ३ की बबिता बानियाँ रायमाझीविरुद्ध पनि लेनदेन मुद्दा दायर गरेका थिए । ०७१ चैत १२ गते सापटी लिएको १२ लाख रुपैयाँ फिर्ता नगरेको भन्दै उनले दायर गरेको मुद्दामा जिल्ला अदालत मोरङले ०७३ जेठ २५ गते साँवा १२ लाख र त्यसको ब्याज र कोर्ट फी भराउन आदेश दिएको थियो ।

अदालतको आदेशविरुद्ध रायमाझीले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् । तर उच्च अदालतले ०७४ असार २९ गते जिल्लाकै आदेश सदर गरेपछि रायमाझीले साँवा, ब्याज, कोर्ट फीसहित १४ लाख ९३ हजार ५४ रुपैयाँ ०७४ साउन ११ गते जिल्ला अदालतमा बुझाएकी थिइन् ।

रायमाझीले अदालतमा रकम जम्मा गरेपछि विष्णुमायाले रिजालविरुद्ध आफ्नो मुद्दा अन्तिम किनारा नलागुन्जेलसम्म रोक्का राखिपाऊँ भनी ०७४ फागुन २९ गते जिल्ला अदालतमा निवेदन दिइन् । जिल्ला न्यायाधीश दाहालले उक्त निवेदनअनुसार ०७४ चैत ३० गते पराजुलीले पाउने गरी बानियाँले दाखिल गरेको १४ लाख ९३ हजार ५४ रुपैयाँ रोक्का राखी अदालतको लेखा शाखालाई जानकारी गराउन आदेश गरे ।

पराजुलीले कर्मचारीको मिलेमतोमा कात्तिक ३० गते विपक्षीले अदालतमा राखेको रकम फैसला बमोजिम दिलाइपाऊँ भनी निवेदन दिए । उक्त रकम रोक्का राख्ने आदेश विपरीत मंसिर ८ गते नै लेखा र अभिलेख शाखाले टिप्पणी तयार पारेर स्रेस्तेदार ईश्वरमणि ओझाकहाँ आदेशका लागि पेस गरेका थिए ।

ओझाले मंसिर ११ गते रकम फिर्ता गर्न टिप्पणी र आदेश दिए । उक्त आदेश अनुसार पराजुलीले मंसिर १२ गते उक्त रकम बुझेर लगेको अदालतको लेखा शाखाले जनाएको छ ।

अदालतको अभिलेख शाखाका डिठ्ठा प्रकाश नेपालले उठाएको टिप्पणीमा लेखा प्रमुख शान्ताबहादुर थापाले हस्ताक्षर गरेकामा स्रेस्तेदारले प्रमाणित गरेका थिए । स्रेस्तेदार ओझाले अदालतको कार्यबोझले उक्त रकम रोक्का भएकोबारे आफूलाई जानकारी नै नभएकाले आदेश गरेको बताए । अधिकारीले निवेदन दिएपछि मात्रै आफूले उक्त रकम रोक्का रहेकोबारे जानकारी पाएको उनले बताए ।

‘अदालतको रोक्का राख्ने आदेश विपरीतको रकम पराजुलीलाई भुक्तानी दिएको विषयमा नेपाल र लेखा प्रमुख थापालाई स्पष्टीकरण सोधेको छु,’ उनले भने, ‘उनीहरूले दिएको स्पष्टीकरण सहित कारबाही गर्न सर्वोच्चमा रायका लागि पठाउन जिल्ला न्यायाधीशलाई पेस गरिसकेको छु ।’

मानवीय त्रुटि भएकाले धरौटी फिर्ता लगेका व्यक्तिको जायजेथा खोजेर वादीको फैसला अनुसार रकम असुल गर्ने काम अघि बढेको ओझाले बताए । अधिकारीले अदालतको फैसला अनुसार रकम भुक्तानीका लागि निवेदन दिन अदालत गएपछि पराजुलीले भुक्तानी लिइसकेको जानकारी पाएको बताइन् ।

‘अदालतको फैसला एउटा छ, व्यवहार अर्कै छ ।’ विष्णुमायाका पति सेमन्तराज अधिकारीले भने, ‘फैसलापछि लेखा शाखा पुग्दा धरौटीको रकम फिर्ता लगिसकेको रहेछ ।’ अदालतबाटै अन्यायमा परेको बताउँदै उनले आफूलाई न्याय दिलाउन माग गरेका छन् । उनले कर्मचारीको मिलेमतोमा आफू ठगिएको बताए ।

प्रकाशित : पुस १८, २०७५ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्