सभामुख र अध्यक्षलाई गाडीको लस्कर

मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । 


सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २/२ वटा गाडी चढिरहेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको
ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था छ ।

सचिवालयका अनुसार सभामुख महराले बा१झ १२६८ जिप, बा१झ ८८८२ स्कोर्पियो (नयाँ), बा२झ २८६३ नं.को कार (गृहबाट प्राप्त) र बा१झ ८४८४ नम्बरको स्कोर्पियो लिएका छन् । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले संसद् सचिवालयबाट चारवटा गाडी लिएको भए पनि सभामुखले एउटा मात्रै गाडी प्रयोग गरेको बताए । ‘सभामुखज्यूले नियमअनुसार एउटा मात्रै गाडी प्रयोग गर्नुहुन्छ,’ उनले भने ।

सहसचिवस्तरका स्वकीय सचिवले सचिवालयको नियमअनुसार एउटा, निजी सचिवालयमा एउटा र औपचारिक कार्यक्रममा जान गृहले दिएको कालो गाडी प्रयोग हुने गरेको उनले जानकारी दिए ।
त्यस्तै, अध्यक्ष तिमल्सिनालेबा२झ ७८९४ जिप, बा२झ २८७० नयाँ स्कोर्पियो, गृहले उपलब्ध गराएको बा१झ ८२२९ कार र बा२झ १६९१ किया कम्पनीको कार सचिवालयबाट लिएका छन् ।

अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले चारवटा गाडी लिए पनि अध्यक्षले दुईवटा मात्रै प्रयोग गरेको बताए । उनका अनुसार गृह मन्त्रालयले दिएको कालो गाडी औपचारिक कार्यक्रममा प्रयोग गर्ने, एउटा निजी सचिवालयले प्रयोग गर्ने र दुईमध्ये एउटा अध्यक्षले नियमित प्रयोग गरेको उनले बताए ।

‘अध्यक्षज्यूले चढ्ने एउटा गाडी सर्भिसिङमा पठाउँदा र बिग्रँदा प्रयोग गर्नुहुन्छ,’ उनले भने ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले बा२झ १६९० कार र बा२झ २८७३ नयाँ स्कोर्पियो लिएकी छन् । महासचिव मनोहरप्रसाद भट्टराईले ५ वटा गाडी लिएको कर्मचारीको आरोप छ ।

सचिवालयको रेकर्डमा भने उनले बा१झ ८२०६ र बा२झ १६८६ नम्बरको कार लिएका छन् । रेकर्डमा भएका दुईभन्दा अरू गाडी आफूले नलिएको भट्टराईले बताए । ‘मैले दुईवटा गाडी मात्रै लिएको छु,’ उनले भने । पदाधिकारीमध्ये राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले बा२झ २८७४ स्कोर्पियो लिएकी छन् । ‘मलाई एउटा भए पुगिहाल्छ । थप गाडी माग्न गइनँ, हामीसँग छ, लैजानुस् भनेर कसैले दिएका पनि छैनन्,’ उनले भनिन् । अरू पदाधिकारीको जस्तै उनले पनि चार जना रहेको निजी सचिवालय बनाएकी छन् ।

सचिवालयले सभामुख, अध्यक्षसहित पदाधिकारीका लागि थप सवारीसाधन खरिद गर्न २० करोड ३२ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको थियो । अर्थले ५ वटा गाडी किन्न ३ करोड रुपैयाँ खर्च गर्न सैद्धान्तिक सहमति दिएको छ ।

अन्य पदाधिकारीलाई आउँदो आर्थिक वर्षको बजेटमा प्रस्ताव गर्न अर्थले सचिवालयलाई पत्र पठाएको छ । ‘पदाधिकारीले अहिल्यै ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् भने थप गाडी किन किन्नुपर्‍यो ?’ संसदीय समितिका एक सभापतिले भने, ‘हामीले चढ्ने गाडी धकेलेर हिँड्नुपर्ने अवस्थाका छन्, सभामुख र अध्यक्षले चाहिँ गाडीको लस्कर लगाउनुपर्ने ?’

ऐनमा भनिएको छ, ‘सवारीसाधन एक, इन्धन र मोबिल उपलब्ध गराइनेछ ।’ ऐनअनुसार पदाधिकारीले प्राप्त गरेको इन्धन र मोबिलको बिल भौचर बुझाउनु पर्दैन । संसद् सचिवालयले एउटा मात्रै गाडीको मोबिल, पेट्रोलखर्च पदाधिकारीको तलबभत्तामै पठाइदिने गरेको छ । ‘अरू गाडीको तेल खर्च भ्रमण जाँदाको खर्चमा गाभेर लिने गरेको पाइएको छ,’ सचिवालय स्रोतले भन्यो ।

पूर्वकार्यवाहक महालेखा परीक्षक सुकदेव खत्रीले ऐनअनुसार निर्धारण गरिएको र अर्थ मन्त्रालयले बनाएको मापदण्डभन्दा बढी सवारीसाधन प्रयोग गर्नु अनयिमितता भएको बताए । ‘कानुनले तोकेको भन्दा बढी गाडी प्रयोग गर्नु अनियमितता हो । राष्ट्रिय स्रोतसाधनको दुरुपयोग पनि हो,’ उनले भने, ‘कानुन बनाउनेले पालना नगर्नु त भएन । परिवारलाई पनि पुग्ने गरी सवारी लिनु भनेको ठूलो अनियमितता हो ।’

प्रकाशित : पुस १६, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

अपराधीबीच सम्बन्ध विस्तार गर्ने थलो बन्दै कारगार, जेलभित्रै हुन्छ अपराधको सेटिङ

जनकराज सापकोटा

काठमाडौँ — गत वैशाख २० गते । जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा नख्खु जेलमा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनुवार अचानक बिरामी परे । उपचारकै क्रममा पाटन अस्पतालमा उनको मृत्यु भयो ।


शंकास्पद मृत्युको यो घटनामा प्रहरी परिसर ललितपुरले तथ्य पहिल्याउन सकेन । गृह मन्त्रालय र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त अनुसन्धान अघि बढाए । उक्त टोलीले पनि नसकेपछि केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइयो ।

ब्युरोले जेलभित्रै रहेका ‘सिरियल किलर’ अभिषेकराज सिंहले विषादी खुवाउँदा भक्तको मृत्यु भएको निष्कर्ष निकाल्यो । कर्तव्य ज्यानका तीन र ज्यान मार्ने उद्योगको एक गरी चार मुद्दामा सजाय खेपिरहेका अभिषेकलाई सघाएका थिए, ध्रुवकृष्ण शर्मा र बैंकिङ कसुरमा कैद भोगिरहेका मनोजकुमार चौरसियाले ।

सामान्य चोरी मुद्दामा नख्खु जेल पुगेपछि ध्रुवको हेलमेल अभिषेकसँग भएको थियो । यही चिनजानका कारण कैद भुक्तान गरेको केही महिनामै उनी हत्याको मतियार बनेर फेरि जेल चलान भए । ध्रुव जेल परेर सुध्रिएनन्, उल्टै अपराधको जालो बुन्न सिके ।

देशका ७२ जिल्लाका कारागारमा २० हजारजति कैदी विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका छन् । तीमध्ये कति जना आचरण सुधारेर सामान्य जीवनमा फर्केलान् ? कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली यसबारे कुनै अध्ययन नरहेको बताउँछन् । ‘कति सप्रेका पनि छन् तर कतिपय फेरि अपराधमै लागेका छन्,’ उनले भने, ‘कतिपय आपराधिक मानसिकता भएका हुन्छन् । तिनीहरू कसै गरे सुध्रिन्नन् ।’

२०७४ माघ १० गते । सूर्यविनायक ८ गणेश चोकस्थित मनोहर बस्नेतका घरमा हतियारधारी समूह पस्यो । गरगहना, मोबाइल र नगद गरी १६ लाख ८० हजार रुपैयाँ बराबर लुटियो । ५ दिनपछि महानगरीय प्रहरी अपराध महाशाखाले भोजबहादुर थापामगर, मिलन भनिने रत्नबहादुर थापामगर, विष्णु भनिने अमृत तामाङलाई पक्राउ गर्‍यो ।

करिब ६ महिनापछि रामेछाप, दोरम्बा ३ का टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोक, मेलम्ची १ का अदीप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ पनि पक्राउ परे । दुई अझै फरार छन् ।

प्रहरीले उक्त डकैतीमा संलग्न सबै यसअघि पनि विभिन्न पटके चोरीमा कैद भुक्तान गरेका व्यक्ति रहेको थाहा पायो । फरकफरक मुद्दामा केन्द्रीय कारागार पुगेका उनीहरूको त्यहीँ चिनजान भएको रहेछ ।
प्रहरीका अनुसार भोजबहादुर २० वर्षदेखि चोरीमा संलग्न छन् ।

उनी कतिपल्ट पक्राउ परे, जरिवाना तिरे, हिसाबकिताबै छैन । विष्णुको विगत पनि उस्तै छ । उनी २०६९ सालमा मोटरसाइकल चोरीमा जेल परेका थिए । काठमाडौंबाट मोटरसाइकल चोर्ने र सिन्धुपाल्चोकका दुर्गमा गाउँ पुर्‍याएर बेच्ने उनको धन्दा थियो ।

कारागारमै चिनाजानी भएपछि उनीहरूले चोरीमा सजाय भुक्तान गरिरहेका अन्य कैदीसँग पनि हेलमेल बढाए । अदीपको पनि चोरीडकैती कर्मको फेहरिस्त लामो छ । उनी २०६४ माघ १३ मा कर्तव्य ज्यान मुद्दामा जेल चलान भएका थिए । ९ वर्ष जेल बसेपछि २०७३ जेठ १५ गते गणतन्त्र दिवसमा कैद छुट पाए । निस्केर पुरानै कर्ममा लागे ।

चोरी काण्डबाट छुटेपछि डाँका मुद्दामा पक्राउ गरिएका थिए, २०७० भदौ २२ मा कारागार चलान भएका टोकल । उनी २०७४ असोज ९ गते थुनामुक्त भए । त्यसपछि पनि डकैती छाडेनन् । महाशाखाको मुद्दा शाखाका एक प्रहरी अधिकारी भन्छन्, ‘जेल त उनीहरूका लागि अपराध सिक्ने पाठशालाजस्तो भएको देखिन्छ ।’

महाशाखाको खोजी सूचीमा अहिले प्रकाश भनिने तेजबहादुर तामाङ छन् । पटके चोरी हुँदै डकैतीमा प्रवेश गरेका प्रकाशको अपराध कर्मको आफ्नै गोरेटो छ । यसमा उनले कुख्यात डाँका टीके भनिने टीकाबहादुर थापामगरको साथ पाए ।

प्रहरीका अनुसार भिन्नाभिन्नै मुद्दामा थुनामा रहेका बेला टीका र प्रकाशको चिनजानी भएको थियो । दुवै मिलेर मोटरसाइकल र गाडी चोरीको धन्दा चलाएका थिए ।

टीकेले २०६४ पछि विभिन्न पटक गरी पाँच वर्ष कारागारमा बिताएका छन् । २०७३ असार ७ गते पक्राउ परेका यी दुवै जनही २६ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । २०७३ पुसमा कौशलटारस्थित एक बैंकबाट निस्केकी मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेर फरार भएका टीके २६ पुसमा पक्राउ परे । प्रकाशलाई नक्कली लाइसेन्स प्रयोग गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गर्‍यो ।

डिल्लीबजारस्थित कारागारमा राखिएका टीके प्रहरीलाई झुक्याएर माघ ४ गते भागेपछि खोजी सूचीमा थिए । उनलाई माघ १३ गते महाशाखाको टोलीले चितवनको टिकौली जंगलमा गोली हानेर नियन्त्रणमा लियो । टीके चोरी र डकैतीका फरकफरक १५ घटनामा संलग्न रहेको प्रहरी दाबी छ ।

प्रकाशका लागि पनि अपराध गर्नु, जेल जानु र निस्केपछि झन् ठूलो अपराधमा संलग्न हुनु सामान्य भइसक्यो । २०७१ यता चोरी र डकैतीका ९ मुद्दामा उनी संलग्न रहेको प्रहरी अभिलेख छ ।

२०७१ माघ २१ गते मध्य बानेश्वरमा बैंकबाट रकम लिएर निस्केकी कलंकीकी सरस्वती आचार्यको साथबाट झन्डै १९ लाख रुपैयाँ लुटेकोदेखि २०७२ जेठ २१ गते बौद्धस्थित भाटभटेनी सुपरमार्केटको पार्किङबाट रामकाजी श्रेष्ठको मोटरसाइकल चोरेको घटनासम्म उनी संलग्न थिए ।

मोटरसाइकल चोरीको पछिल्लो धन्दामा टीकेको पनि साथ थियो । प्रहरी रेकर्डमा २०७३ जेट ३१ गते नागार्ज‘न नगरपालिका १ की राज्यवती त्रिपाठी र २०७३ असार २८ गते नार्गजुन २ की संगीता अधिकारीको घरबाट नगद तथा गरगहना चोरीको घटनामा पनि उनको संलग्नता उल्लेख छ । प्रहरीका अनुसार प्रकाश विभिन्न आठ चोरी तथा डकैती घटनाका फरार अभियुक्त हुन् ।

मंसिर २१ दिउँसो महाशाखाको टोलीले राजन लिम्बूमाथि रातोपुल सडकछेउ गोली चलायो । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली हानेर भाग्न खोजेपछि जवाफी फायरिङ गर्नुपरेको महाशाखाको दाबी छ । राजन पनि लामो समयदेखि डकैतीमा संलग्न छन् । पक्राउ पर्नु, जेल चलान हुनु, छुट्नु अनि फेरि अपराध कर्ममै लाग्नु उनका नियमित घटना हुन् ।

२०६२ यता डकैती तथा व्यक्ति हत्याका विभिन्न ६ घटनामा राजनको संलग्नता रहेको प्रहरी दाबी छ । २०६२ कात्तिक २ गते काठमाडौं प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्‍यो । काठमाडौं जिल्ला अदालतले प्रतिवादी थमन गुरुङसहित ६ जनाले हातहतियारसहित सन्तोष लिम्बूलाई नियन्त्रणमा लिएर लुटपाट गरेको ठहर गर्‍यो ।

उक्त मुद्दामा अन्य पक्राउ परे पनि राजन फरार थिए । २०६३ मा भक्तपुरस्थित एक मनी चेन्जर कम्पनीका सञ्चालक माधव बनेपालीलाई लुटेरा समूहले गोली हान्यो । उक्त घटनामा यिनै राजनको संलग्नता रहेको पत्ता लागेपछि पक्राउ परे ।

झन्डै दस वर्ष कैद भोगेर गत जेठमा सुनसरीको झुम्का कारागारबाट छुटेका उनी फेरि अपराधकर्ममै लागे । मंसिर १२ गते इटहरीस्थित एक मनी ट्रान्सफर कम्पनीबाट ३ लाख लुटे । महानगरीय प्रहरीले ९ दिनपछि उनलाई फेरि पक्राउ गर्‍यो ।

महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार लामो समय जेल बस्दा राजनले आफ्नो नेटवर्क झनै विस्तार गरेको देखिन्छ । त्यसैको बलमा उनी जेलबाट निस्केर फेरि अपराधको संसारमा छिरे । सिंहको बुझाइमा केही अपराधी यस्ता छन् जसले जेलबाटै अपराधको पाठ सिकेका छन् ।

उनले भने, ‘टीके, प्रकाश र राजनजस्ता डाँकाहरूले जेलमा कैद भुक्तान गर्दा नै आफ्नो नेटवर्क विस्तार गरेको देखिन्छ ।’ सामान्य अपराधमा जेल परेकाहरू पनि सिरियल किलरदेखि ठूला अपराधीसम्मको संगतमा पर्ने गरेको सिंहले बताए ।

ध्रुव, प्रकाश र टीके हुन् वा राजन, सबैको शृंखलाबद्ध अपराध पैसा आर्जनमा केन्द्रित देखिन्छ । पूर्वडीआईजी देवेन्द्र सुवेदी अपराधलाई नै जीविकोपार्जन बनाएकाहरूले जेलमा झन् धेरै अपराध कर्म सिक्ने र झनै खुंखार बन्ने गरेको अनुभव सुनाउँछन् । ‘नेपालका जेलहरू अपराधको तालिम केन्द्रजस्तो बनिसकेका छन्,’ उनले भने ।

कारागार अपराध सिकाउने केन्द्र
– देवेन्द्र सुवेदी, पूर्वडीआईजी

नेपालका कारागारहरूको व्यवस्थापन यति झुर छ कि कुरा पनि कहाँबाट सुरु गरौं । जेलभित्र कैदीहरूका विभिन्न अनौपचारिक ग्याङ बन्छन् । कमजोर जेल प्रशासनका कारण सामान्य अपराधमा जेल परेकाहरूले भित्रै अपराधका अनेकन कथा, अनुभव र तौरतरिका सुन्छन् । यसले झन् ठूलो अपराधी बन्ने खतरा देखिन्छ । जेलभित्र अपराधको ज्ञान वितरण भइरहेको छ ।

२०७२ सालको कुरा । म मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख थिएँ । रामेछापको एक जेल निरीक्षणका क्रममा चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदीसँग कुराकानी भयो । उनी मुढा बुनिरहेका थिए । मैले जिज्ञासा राखें, ‘मुढा बुन्न सिक्नुभएछ । अब कैद सकिएपछि यही सीप काम लाग्ला नि ?’ उनको उत्तरले मलाई झस्काइदियो । भने, ‘यसले पोस आउँदैन । गर्ने त त्यही हो ।’

अर्थात् उनी फेरि चोरी कर्ममै फर्किनेमा निश्चिन्त थिए । एक थरी कैदी चोरी र डकैतीलाई नै अर्थोपार्जनको माध्यम मान्छन् । उनीहरू पक्राउ परे पनि जेलभित्र सुध्रिनुको सट्टा अपराधकै पाठ सिक्छन् । संगठित अपराधमा पक्राउ परेकाहरू पनि सजाय भुक्तानपछि पुरानै ग्याङमा लाग्ने गरेको देखिन्छ ।

कोही कैद भुक्तानपछि आफ्नै ग्याङ पनि बनाउँछन् । किनकि उनीहरूले जेलभित्र सुध्रिने वातावरणभन्दा आपराधिक संसारकै कुरा सुन्छन् ।

प्रकाशित : पुस १६, २०७५ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्