१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई वाइडबडी खरिद गर्दा साढे ३ अर्ब बढी खर्च

कृष्ण ज्ञवाली

काठमाडौँ — नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा करिब साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको देखिएको छ । एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्चिएको देखिन आएको हो । 

दुई वाइडबडी खरिद गर्दा साढे ३ अर्ब बढी खर्च

वाइडबडी खरिद अनियमितताबारे प्रारम्भिक अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च स्रोतले कान्तिपुरलाई आधारमूल्य तालिका उपलब्ध गराएको हो । प्रस्ताव मूल्यांकनका लागि निगमबाट गठित ११ सदस्यीय टोलीको प्रतिवेदनको अनुसूची ‘सी’ मा समेत उक्त विवरण छ ।

निगमले खरिद गरेको वाइडबडी विमानको आधारमूल्य १० अर्ब ४० करोड रुपैयाँ हो । आशयपत्र जारी गरेपछि ११ वटा कम्पनीले पेस गरेको प्रस्ताव मूल्यांकन क्रममा सन् २०१६ को आधारमूल्य ८ करोड ८० लाख ९९ हजार ३१७ (८८.०९ मिलियन) अमेरिकी डलर निर्धारण गरेको थियो तर निगमले करिब १० करोड ८१ लाख (१०८.१ मिलियन) का दरले दुईवटा विमानका लागि करिब २१ करोड ६३ लाख ८८ हजार डलर (२१.६३ मिलियन) डलर भुक्तानी गर्‍यो ।

एयरबसले पठाएको मूल्यसूची र भुक्तानी हेर्दा साढे ३ अर्बको ‘चलखेल’ भएको देखिन्छ । एयरबसबाट पठाएको कागजात भने गोप्य राखिएको छ ।

अनुसूची तालिकामा ए–३२०–२०० को मूल्य भनी उल्लिखित विवरणमा एयरफ्रेम भनी ७ करोड ३४ लाख (७३.४ मिलियन) डलर र इन्जिन भनी एक करोड ४६ लाख ९९ हजार ३१७ (१४.६९ मिलियन) मूल्य विश्लेषण गरिएको छ ।

यी दुवै जोडदा ८ करोड ८० लाख ९९ हजार ३१७ (८८.०९ मिलियन) अमेरिकी डलर हुन आउँछ । यसमा एयरफ्रेमको मूल्यको हिस्सा ८३ प्रतिशत छ भने इन्जिनका लागि १७ प्रतिशत निर्धारण गरिएको छ ।

अख्तियार स्रोतले उपलब्ध गराएकै विवरण संसद्को सार्वजनिक लेखा समितिमा पुगेको प्रस्ताव मूल्यांकन प्रतिवेदनमा समेत छ । विवरण स्रोतका रूपमा ५ नोभेम्बर २०१६ मा निगम र एयरबसबीचको सम्झौतालाई उल्लेख गरिएको छ । विवरण भएको पानामा उपसमितिका ११ सदस्यकै हस्ताक्षर छ ।

यो विवरणलाई महालेखा परीक्षक कार्यालयले पनि ‘सही’ ठहर्‍याउँछ । गतवर्ष महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार दुईवटा न्यारोबडी विमान खरिद क्रममा एयरबसले वाईडबडीको समेत ‘अफर’ गरी दररेट पठाएको थियो ।

निगम स्रोतका अनुसार विवरणमा उल्लिखित रकम नै विमानका बारेमा एयरबसबाट उपलब्ध पछिल्लो आधिकारिक आधारमूल्य हो । ‘त्यो विवरण आधिकारिक र यथार्थ हो, विभिन्न कम्पनीको प्रस्ताव मूल्यांकन क्रममा बढाएर ११८ पुर्‍याइएको हो,’ स्रोतले भन्यो, ‘सबैतिर गायब बनाउन खोजिएको उक्त विवरण झुक्किएर उपसमितिको प्रतिवेदनमा समावेश भएको हुनुपर्छ ।’

निगमको उक्त कागजात लेखापरीक्षण क्रममा महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिले हेरिसकेका छन् भने अख्तियार र लेखा समिति सचिवालयमा समेत पुगिसकेको छ ।

उक्त मूल्यलाई त्यतिबेला ११ करोड ८० लाख(११८ मिलियन) डलर भनी लागत अनुमान तय गरिएको थियो । पछि अमेरिकी कम्पनी एएआरको प्रस्ताव स्वीकृतिका क्रममा १० करोड ४० लाख(१०४ मिलियन) डलरमा विमान खरिद सम्झौता भएको थियो । त्यही सम्झौतामा मूल्य समायोजन भनी थप ४० लाख(४ मिलियन) डलर भुक्तानी दिने सम्झौता भएको थियो । लेखा समिति बैठकमा सांसद प्रेम आलेले बढीमा ९४ मिलियन पर्ने जहाजलाई १०४ का दरले हिसाब गरिएको भन्दै आपत्ति जनाएका थिए ।

चलखेल

विमान खरिद गर्दा ८ करोड ८० लाख(८८ मिलियन) डलरलाई लागत अंक मान्नुपर्ने थियो । त्यतिबेला सोझै एयरबसबाट विमान खरिद प्रयास गर्ने, त्यो सम्भव नभए त्यही रकमलाई आधार मानी एजेन्टलाई सीमित कमिसन दिएर विमान ल्याउनुपर्ने थियो तर निगम व्यवस्थापनले ११ करोड ८१ लाख ६३ हजार ७७३ डलर (८८ मिलियनको साटो बढाएर ११८.१६ मिलियन) निर्धारण गर्‍यो ।


दुवै अंकको तुलना गर्दा लागत निर्धारणमै प्रति विमान चलखेल गरिएको रकम ३ करोड ६४ हजार ४५६(३०.०६ मिलियन) डलर हुन आउँछ । आइतबारको विनिमय दरअनुसार प्रतिडलर ११२ रुपैयाँ मान्दा उक्त रकम करिब ३ अर्ब ३६ करोड ७२ लाख रुपैयाँ हुन्छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले समेत यही विषयमा आपत्ति जनाएको छ । ‘सन् २०१६ मा पछिल्लो दररेट प्राप्त भएको थियो । सोही दररेटलाई आधार लिई सन् २००८ देखि २०१७ सम्म मूल्यवृद्धि हिसाब गरेर वाइडबडी विमान खरिद गर्न ११८ मिलियन लागत अनुमान कायम गरियो,’ प्रतिवेदनलाई उद्धृत गर्दै महालेखा स्रोतले भन्यो, ‘आज भोटाहिटीमा गएर स्वेटरको भाउ बुझेर ५ वर्ष अघिदेखिको मूल्यवृद्धिको हिसाब गरेर लागत अनुमान तयार गर्ने काम भयो ।’

निगम र एएआर कम्पनीबीचको सम्झौताअनुसार विमान खरिदका लागि ९ करोड २० लाख २६ हजार ८०० (९२.०२ मिलियन) डलर मूल्य निर्धारण गरिएको थियो । उसले ‘एससीएन (स्पेसिफिक चेन्ज नोटिस)’ भन्ने शीर्षकमा ५१ लाख २८ हजार ९ सय (५.१२ मिलियन) र सिटलगायत सामानको ‘बायर फर्निस्ड इक्विपमेन्ट’ को मूल्य ७६ लाख ४४ हजार ३ सय (७.६४ मिलियन) डलर गरी कुल १० करोड ४८ लाख (१०४.८ मिलियन) मा सम्झौता गरेको थियो ।

एयरबसले निगमलाई पठाएको दररेट अनि निगम र एएआर कम्पनीबीचको सम्झौताको मूल्य हेर्दा २ करोड ६७ लाख १० हजार (२६.७१ मिलियन) डलर बढी निर्धारण भएको देखिन्छ । यो एउटा विमानको खरिददरको अन्तर हो । दुईवटा खरिद गरिएकाले यो रकम ५ करोड ३४ लाख २० हजार (५३.४२ मिलियन) हुन आउँछ ।

आइतबारको विनिमय दरअनुसार प्रतिडलर ११२ रुपैयाँ मान्दा लागत अंकमा फरक पर्ने उक्त रकम करिब ५ अर्ब ९६ करोड ६ लाख रुपैयाँ हुन्छ । यो रकम लागत अंकको मात्रै हो । मूल्य निर्धारण गर्दा भने योभन्दा कम रकम भुक्तानी भएको थियो ।

विमान खरिद क्रममा छनोट भएको एएआरले पछि ‘कन्सोर्टियम’ खडा गर्‍यो र सम्झौता भयो । यही कन्सोर्टियमले बनाएको हाइफ्लाई ‘एक्स’सँग खरिद सम्झौता गरी निगमले करिब १० करोड ८१ लाख (१०८.१ मिलियन) का दरले दुईवटा विमानका लागि करिब २१ करोड ६३ लाख ८८ हजार डलर (२१.६३ मिलियन) डलर भुक्तानी गरेको थियो ।

सन् २०१६ मा एयरबसले पठाएको मूल्यसूचीलाई दुई वर्षसम्म २.७ प्रतिशतका दरले मूल्यवृद्धि हुने अनुमान गरी दर कायम गर्दा एउटा विमानको मूल्य ९ करोड २९ लाख २० हजार ९०४ डलर (९२.९२ मिलियन) डलर हुन आउँछ । यो रकम करिब १० अर्ब ४० करोड ७१ लाख रुपैयाँ हो ।

दुईवटा विमानको मूल्य १८ करोड ५८ लाख ४१ हजार ८०९ डलर पर्‍यो । यो रकमसँग तुलना गर्दा निगमले दुईवटा विमानका लागि ३ करोड ५ लाख ४६ हजार १९० डलर (३०.५४ मिलियन) डलर बढी भुक्तानी गरेको देखिन्छ । आइतबारको विनिमय दरअनुसार प्रतिडलर ११२ रुपैयाँ मान्दा उक्त रकम करिब ३ अर्ब ४२ करोड ११ लाख रुपैयाँ हो ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले संसद्को सार्वजनिक लेखा समितिमा स्पष्टीकरण दिँदै ११ करोड ८० लाख डलर (११८ मिलियन) लागत अनुमान गरिएको जहाज १०९ मिलियन डलरभन्दा कमका दरले आयात गरिएको भन्दै यत्तिको सस्तोमा कसैले पनि विमान उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिए । उनले भनेका थिए, ‘हामीले यति सस्तोमा जहाज पाएको थाहा पाएपछि कतिपय कम्पनीका साथी आक्रोशित भएर एयरबसलाई मुद्दा हाल्नुपर्‍यो भनेर रिसाएका पनि थिए ।’

प्रकाशित : पुस १६, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?