कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्व बिदा पुनरावलोकन गर्ने प्रधानमन्त्री ओलीको आश्वासन [भिडियोसहित]

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न समुदायको पर्व बिदा पुनरावलोकन गर्ने आश्वासन दिएका छन् । तमु ल्होछारको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले पर्वमा सार्वजनिक बिदा दिनुपर्नेलगायत जायज माग प्रक्रिया मिलाएर पूरा गर्ने बताए ।

पर्व बिदा पुनरावलोकन गर्ने प्रधानमन्त्री ओलीको आश्वासन [भिडियोसहित]

'मैले तपाईंहरूको भावना र माग बुझें, जायज माग पूरा गर्न पहल गर्नेछु’, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदले गरेको ल्होछार कार्यक्रममा उनले भने, 'मैले यहाँ घोषणा गर्न मिलेन । प्रक्रियाअनुसार तपाईंहरूको जायज माग पूरा हुन्छ ।’


ओलीले प्रक्रिया पूरा गरेर माग सम्बोधन गर्ने आश्वासन दिए । 'मैले यहीं घोषणा गरें भने फेरि मलाई स्वेच्छाचारी भयो भनिहाल्छन्, म सबै जातजातिका मानिस नेपाली हौं भन्नेमा विश्वास गर्छु, तपाईंहरूको जायज माग पूरा गर्छु’, उनले थपे ।


गुरुङ, मगर, राई, लिम्बू, थारू, तामाङलगायत आदिवासी जनजाति तथा मुस्लिम धर्मावलम्बीको प्रमुख चाडमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरी समुदाय विशेषलाई मात्र बिदा दिने गरिएकामा विरोध भइरहेको छ । उनीहरूले पुन: सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।


प्रधानमन्त्रीभन्दा अघि स्वागत मन्तव्यका क्रममा छोंज धिं अध्यक्ष रेशम गुरुङले बिदा कटौतीको निर्णय पुनरवलोकन नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए । ‘गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ तर गुरुङहरू गण्डकीमा मात्रै छैनन्, प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि छन् । हामी टुँडिखेलमा जम्मा भएर पनि खुसीसाथ ल्होछार मनाउन सकेका छैनौं’, उनले भने, ‘बिदा कटौती गर्ने निर्णयले हाम्रो चित्त दुखेको छ ।’


गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन् । विभिन्न पेसा र व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्नेहरुले टुँ‌डिखेलमा जम्मा भएर ल्होछार मनाउँदै आएका छन् ।


भिडियो

प्रकाशित : पुस १५, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?