मनाङमा राति हिमपात, दिउँसो घाम [तस्बिरहरु]

माइनस २० डिग्री पुग्यो तापक्रम
आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा हिजोआज रातको समयमा हिमपात र दिउँसो घाम लाग्ने भएको छ । तापक्रम भने माइनसमा छ । बिहीबार रातभर हिमपात भएपनि शुक्रबार दिनमा घाम लागेको स्थानीयले बताएका छन् ।

मनाङमा राति हिमपात, दिउँसो घाम [तस्बिरहरु]

माथिल्लो मनाङको मनाङ–ङिस्याङ गाउँपालिका–१, माथिल्लो पिसाङ गाउँका याङडुङ गुरुङका अनुसार रातभरी हिउँ परेको थियो । बिहान चिसोले मानिसहरु बाहिर निस्केनन् । घाम लागेपछिमात्रै निस्केका थिए । राति परेको हिमपात पग्लिने क्रममा रहेको उनले बताए ।


प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार जिल्लाका ४ वटै स्थानीय तह मनाङ ङिस्याङ, नारपाभूमि, चामे र नासों गाउँपालिकामा बस्तीसम्म आउनेगरी हिमपात भएको छ । नासोंमा भएको हिमपात बस्ती नजिकै आइपुगेको थियो ।


उनका अनुसार शुक्रबार बिहान ६ बजेको तापक्रम माइनस १९ डिग्री सेल्सियस थियो । दिउँसो साँढे १ बजेको तापक्रम माइनस १३ डिग्री सेल्सियस छ । घाम लागेपनि चिसो छ । ‘लगातार ८/९ घण्टाको हिमपातले चिसो बैस्सरी बढेको छ । दिउँसो घाम लागेको बेला माइनस १३ डिग्री तापक्रम हुनु भनेको चिसो कतिको होला ? आफैं कल्पना गर्नुस् ।’


प्रजिअ देवकोटाका अनुसार बिहीबार साँझ ६ बजेदेखि हिउँ परेको थियो । हुम्डेको मानव बस्तीमा ४ इन्चसम्म हिउँ जमेको थियो । ‘बिहान हिउँ पर्न रोकियो, एकछिन मुसलधारे पानी पर्‍यो । त्यसपछि घाम लाग्यो । दिउँसो २ बजेपछि चामेमा घाम डुब्यो । फेरी चिसो बढ्न थाल्यो,’ उनले भने ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार माथिल्लो मनाङ क्षेत्रमा बिहीबार साँझ साढे ६ बजेदेखि रातभर हिउँ परेको थियो । उनका अनुसार बिहान ४ बजेतिर माइनस २० डिग्री सेल्सियस तापक्रम थियो ।


‘लगातार हिउँ पर्‍यो । हिउँ धेरै पर्नुभन्दा पनि चिसो अचाक्ली बढ्यो,’ उनले भने । उनका अनुसार हिमपातपछिको चिसोले जनजीवन प्रभावित बनेको छ । पर्यटक पनि कम आएका छन् । ‘अहिले दैनिक २५/३० जनाको हाराहारी छ । हामीले चिसो र हिमपातको मौसम भएकाले सतर्क अपनाउन आग्रह गरेका छौं’ उनले भने । उनका अनुसार पर्यटक थोराङला पास र तिलिचो ताल जाँदैछन् । मौसम अनुकूलका बेलामात्रै हिँड्न अनुरोध गरिएको उनले बताए ।


प्रकाशित : पुस १३, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?