सेनाद्वारा ऐतिहासिक गढी मर्मत

हरिहरसिंह राठौर

धादिङ — मर्मत र संरक्षण अभावले ओझेलमा परेको धादिङ जिल्लाको दक्षिणी भेगस्थित ऐतिहासिक कान्द्राङगढी नेपाली सेनाले मर्मत गरेको छ । उक्त गढीको संरक्षणमा चासो देखाएको नेपाली सेनाले मर्मतपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।

चितवनको सिमनामा पर्ने बेनीघाट रोराङ–२ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरूको पालामा निर्माण भएको जनविश्वास रहेको छ । समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै साना ठूला गरी चारवटा सुरुङ देख्न सकिन्छ ।


गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरू सजिलैसँग देख्न सकिन्छ । तत्कालीन सेन शासकहरूले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनहरूले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास छ । केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि संरक्षणका निम्ति कसैले चासो नदिँदा

ती शिलालेखहरू अहिले हराइसकेको बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष टंकबहादुर थापाले बताए ।


तत्कालीन सेन वंशहरूको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ । कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष देवीप्रसाद सिलवाल बताउँछन् । पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ । चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ ।


ऐतिहासिक महत्त्व बोकेको कान्द्राङ गढीको संरक्षणका लागि अहिलेसम्म राज्यको तर्फबाट कुनै चासो नदेखाइएपछि सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्त्वपूर्ण धरोहरका रूपमा रहेका गढीको पुनर्निर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न रक्षा मन्त्रालयमार्फत सरकारसँग अनुमति पाएको छ ।


गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा सेनालाई दिन सरकारले निर्णय गरिसकेको छ । ऐतिहासिक महत्त्वका गढीहरू आगामी पाँच वर्षभित्रमा मर्मत, पुनर्निर्माण संरक्षण गर्ने कार्ययोजना नेपाली सेनाले बनाएको र

सोही अभियानअन्तर्गत कान्द्राङगढीको संरक्षणका लागि पहिलो चरणमा गढी क्षेत्र सरसफाइ गरिएको मर्मतमा खटिएका नेपाली सेनाको गजुरीस्थित देवीदत्त गुल्मका सेनानी गौरव सिलवालले बताए ।

प्रकाशित : पुस ११, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?