२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कर्मचारीको वृत्तिविकास नरोक्न भारतीय प्रशासन विज्ञहरूकाे सुझाव

नयाँदिल्ली — भारत भ्रमणमा रहेका सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री लालबाबु पण्डितलाई भारतीय प्रशासन विज्ञहरूले केन्द्रबाट प्रदेशमा खटिने कर्मचारीको वृत्तिविकास अवरुद्ध नगर्न सुझाव दिएका छन् । 

संघीयता कार्यन्वयनका लागि केन्द्रदेखि स्थानीय तहसम्म कर्मचारी व्यवस्थापनमा भारतीय अनुभव अध्ययन गर्न आएका पण्डितलाई नयाँदिल्लीमा आयोजित एक दिने कार्यशालामा उनीहरूले त्यस्तो सुझाव दिएका हुन् । उनीहरूले संघीयता कार्यान्वयनका बेला कर्मचारी व्यवस्थापनमा देखिने चुनौती र तिनको व्यवस्थापनका उपायसमेत सुझाए ।

भारतको विदेश मन्त्रालयद्वारा भारतीय लोक प्रशासन संस्थानमा आयोजित कार्यशालामा विज्ञहरूले भारतले सात दशकमा हासिल गरेको अनुभव र त्यसबाट सिकिएका पाठबारे जानकारी गराएका थिए ।

भारतमा अल इन्डिया सर्भिसेजअन्तर्गत प्रशासन, प्रहरी, सञ्चार, वनलगायत सेवा समूह छन् ।

केन्द्रीय लोकसेवा आयोगले सहायक सचिव (नेपालमा शाखा अधिकृत) पदमा मात्र परीक्षा लिने गर्छ । त्यसभन्दा माथिको पदमा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने गर्छ । माथिल्लो तहमा वैज्ञानिक, अर्थशास्त्री, कानुन विज्ञ, सञ्चार विज्ञ, इन्जिनियर र डाक्टरजस्ता जनशक्ति चाहिए नयाँ पद सिर्जना गरेर खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ ।

लोकसेवा उत्तीर्ण भएकालाई तालिमपछि २९ वटा प्रदेश र ७ वटा केन्द्र प्रशासित राज्यमा खटाइन्छ । सामान्यतया कुनै एउटा राज्य वा प्रदेशमा खटिएका अधिकृतहरूले त्यहाँ करिब १५ वर्ष बिताउँछन् । त्यसपछि क्रमश: बढुवा हुँदै केन्द्रसम्म पुग्छन् ।

भारतको प्रशासन संयन्त्र राजनीतिक हस्तक्षेपबाट धेरै हदसम्म मुक्त छ । यसो हुनुको प्रमुख कारण ट्रेड युनियन नहुनु हो । भारतमा शारीरिक श्रम गर्ने निम्न स्तरका बाहेक कर्मचारी ट्रेड युनियनमा सहभागी हुन पाउँदैनन् ।

‘नेपालमा अधिकृतहरूसमेत ट्रेड युनियनको सदस्य छन् भन्दा भारतीय विज्ञ छक्क परे,’ कार्यशालाका एक नेपाली सभागीले बताए । भारतमा ट्रेड युनियनसम्बन्धी व्यवस्थालाई आफूले पनि सकारात्मक ढंगले लिएको मन्त्री पण्डितले बताए ।

‘भारतमा त टेबुलमा बसेर काम गर्नेहरूका लागि ट्रेड युनियनको व्यवस्था रहेनछ, त्यसैले नेपालमा ट्रेड युनियनमा आबद्ध हुनेहरूले पनि काम गर्नुपर्छ,’ मन्त्री पण्डितले भने ।

प्रकाशित : पुस ८, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?