२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पार्टी पंक्तिलाई उत्साहित ढंगले अघि बढाउन नेकपाको जोड

रासस

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरूले धारणा राख्ने क्रम शनिवार पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् । 

पार्टी पंक्तिलाई उत्साहित ढंगले अघि बढाउन नेकपाको जोड

शनिवारको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि आज मात्रै आएकाले आइतबारको बैठकमा धारणा राख्नेछन् । बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले हालै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा गरेको अमेरिका भ्रमण र दुई पक्षीय वार्ताको बारेका जानकारी गराएका थिए । परराष्ट्रमन्त्रीको भ्रमण र वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बैठकलाई जानकारी दिएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।


यता वरिष्ठ नेता झलनाथ खनालले बैठकमा नेताले बोल्ने क्रम समाप्त भएकाले प्रतिवेदनउपर अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि प्रतिवेदनको टुंगो लगाइने बताए ।


गत मङ्सिर २९ देखि भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसंगठनको एकता लगायत विषय समावेश छन् ।


प्रतिवेदनउपर छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै भए गरेका कामको सबल र कमीकमजोरीका पक्षलाई केलाएर आम पार्टी पंक्ति र कार्यकर्तालाई उत्साहित ढङ्गले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकाल्ने नेता विश्वकर्माले उल्लेख गरे ।


बैठकले शुक्रवार अपरान्ह शैक्षिक अवलोकन गरेर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुःखद् निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ ।


घाइतेहरूको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा जनाइएको छ । स्थायी कमिटीको अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने नेकपाले जनाएको छ ।

प्रकाशित : पुस ७, २०७५ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?