२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मकालु जहाज दुर्घटना ‘हाइपोक्सिया’ले

छानबिन गर्न गठित आयोगले पाइलटकै कारण दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरेको छ
सुरज कुँवर

काठमाडौँ — मकालु एयरको सिंगल इन्जिनयुक्त विमान दुर्घटना पाइलटकै कारण भएको प्रतिवेदनले औंल्याएको छ । छानबिन गर्न गठित चार सदस्यीय आयोगले बिहीबार नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ‘दुर्घटनाको मुख्य कारण मानवीय पक्ष’ उल्लेख छ । 

मकालु जहाज दुर्घटना ‘हाइपोक्सिया’ले

‘हाम्रो अध्ययनअनुसार जहाज बादलभित्र नछिर्नुपर्ने,’ आयोगका एक पदाधिकारीले भने, ‘११ हजार फिट उचाइमा उड्नुपर्ने विमान १३ हजार फिट हाराहारीमा उडेको देखिन्छ ।’ उनका अनुसार यति उचाइमा उडदा पनि दुवै पाइलटले अक्सिजन मास्क नलगाएकाले ‘हाइपोक्सिया’ भएको देखिन्छ ।’ शरीरलाई आवश्यक अक्सिजन नपुग्नु ‘हाइपोक्सिया’ हो । हाइपोक्सिया हुँदा मान्छेमा मदिराले मातिएका बेलामा जस्तै आत्मविश्वास बढ्छ । ‘पाइलटहरूले अलिकति मात्रै बादल त होला नि भनेर जहाज बादलभित्र छिराउँदा दुर्घटना खेप्नुपर्‍यो,’ ती पदाधिकारीले भने, ‘हाइपोक्सियाका कारण ओभर कन्फिडेन्ट भएको देखिन्छ ।’


आयोग अध्यक्ष त्रिरत्न मानन्धरले नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सम्बन्धित निकायको सुझाव लिई दुई महिनापछि यसलाई अन्तिम रूप दिइन्छ । यो अन्तर्राष्ट्रिय उडडयन संगठन (इकाओ) को नियम हो ।

यो पनि पढ्नुहोस्

जेठ २ गते सुर्खेतबाट कार्गो लिएर उडेको विमान हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त हुँदा चालकदलका दुई सदस्यको घटनास्थलमै मृत्यु भएको थियो । विमानमा क्याप्टेन किरण भट्टराई र कोपाइलट आदित्य नेपाल मात्रै थिए । अमेरिकी सेस्ना कम्पनीको सेस्ना क्याराभान नामक उक्त विमान १९ वर्ष पुरानो थियो । नौ सिटको विमानमा क्यानेडियन प्याट एन्ड विटनी कम्पनीको इन्जिन थियो । विमानमा फलाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) उपकरण नभएकाले इन्जिन अध्ययनका लागि क्यानडा पठाइएको थियो । दुर्घटनामा इन्जिनको कारण नरहेको रिपोर्ट आएको अर्का पदाधिकारीले बताए । ‘क्यानडाबाट पठाइएको रिपोर्टअनुसार इन्जिनमा खराबी देखिएको छैन,’ ती सदस्यले भने ।


आयोगमा नेपाल वायुसेवा निगमका पाइलट गोपालसिंह विष्ट, बुद्ध एयरका इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ र नेपाली सेनाका चिकित्सक राजीव देव सदस्य थिए भने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव । टोलीले स्थलगत भम्रण, सम्बन्धित व्यक्ति तथा सरोकारवालासँग अन्तर्वार्ता, जहाजका कागजात अध्ययन, चालकदलको मेडिकल तथा प्याथोलोजिकल प्रतिवेदन अध्ययन गरेको मन्त्रालयले जनाएको छ । ‘मानवीय पक्षसँग जोडिएका सामाजिक, आर्थिक पक्षको अध्ययन पनि गरिएको थियो,’ मन्त्रालयका सहायक प्रवक्ता प्रकाश शर्मा ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस ५, २०७५ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?