काठमाडौं महानगरपालिकामा अचाक्ली खर्च, बैठक भत्तामात्रै डेढ करोड

विद्या राई

काठमाडौँ — १ करोड ५८ लाख ६० हजार रुपैयाँ । यो कुनै विकास योजनाको बजेट होइन । काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो । महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ ।

वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार ८ रुपैयाँ हुन आउँछ । ३२ वडाका १ सय ५६ जनप्रतिनिधिले प्रतिबैठक १ हजार २ सय ३० रुपैयाँ लिएका छन् । जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले मेयरको अध्यक्षतामा बसे प्रतिबैठक २ हजार ५ सय तथा उपमेयर र कार्यकारी अधिकृतको अध्यक्षतामा बसे २ हजार रुपैयाँ लिन पाइने दाबी गरे ।

वडा तहमा मासिक तीनवटासम्म बैठकको भत्ता लिन पाइन्छ । तर, उनीहरूले कतिवटा बैठक बसे र कति–कति भत्ता बुझे, महानगरसँग कुनै अभिलेख छैन । बैठक भत्ता मात्र होइन, खाजा र यातायातमा पनि महानगरको खर्च अचाक्ली छ ।

यी तीन शीर्षकमा अघिल्लो आव २०७४/७५ को विवरण माग्दा सुरुमा सूचना अधिकारी आचार्यले आलटाल गरे । १५ दिनसम्म पनि विवरण नदिएपछि सूचनाको हकसम्बन्धी व्यवस्थाअन्तर्गत निवेदन दर्ता गरियो । अझै पनि पूरै पाइएन । गत भदौ ८ गते राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेपछि कात्तिक तेस्रो साता बल्ल महानगरले खर्च विवरण उपलब्ध गराएको हो ।

अस्वाभाविक खर्च
विवरण केलाउँदा पदाधिकारीले खाजा खर्च, बैठक भत्ता र सवारी साधनमा गरेको खर्च अस्वाभाविक देखियो। आव २०७४/७५ मा मात्रै यी तीन शीर्षकमा ३ करोड ८२ लाख खर्च भएको रहेछ। यसलाई हामीले दैनिक कार्यालय खुलेको समयसँग तुलना गर्‍यौं। महानगरपालिकका सूचना अधिकारी वसन्त आचार्यसँग बसेर निकालिएको हिसाब अनुसार, आव २०७४/७५ मा महानगरपालिका कार्यालय जम्मा २८४ दिन खुलेको थियो।

यस आधारमा महानगरपालिकाले खाजा खर्च, बैठक भत्ता र पदाधिकारीको सवारी साधनमा मात्रै दिनहुँ १ लाख ३४ हजार ५ सय खर्च गर्दोरहेछ भन्ने देखियो।

यसमध्ये कति स्वाभाविक खर्च हो र कति चाहिं कागजी बिल बनाएर खर्च गरेको देखाइएको होला भनेर विवरण केलाउन खोज्याैं। थुप्रै ठाउामा रकम दुरुपयोग भएको भेटियो। गएको वर्षभरि महानगरपालिकाको बोलपत्र मूल्याङ्कन समितिको बैठक र त्यसमा भएको खर्चलाई एउटा उदाहरण बनाएर हेर्‍यौं।

गएको वर्ष महानगरपालिकाअन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिका १३९ वटा बैठक बसेका रहेछन्। ती बैठकमा सहभागी सदस्यले प्रति बैठक १,३०७ भत्ता बुझेका रहेछन्। जबकि महानगरपालिकाको कार्यकारिणी अंग नगरकार्यपालिकाको बैठकले पारित गरेअनुसार उक्त समितिका सदस्यले प्रति बैठक ८०० मात्रै लिन पाउने व्यवस्था छ।

ती १३९ वटा बैठकमा सहभागी पााच सदस्यीय समितिमा सहसचिव भरत अर्याल अध्यक्ष र अन्य पदेन चार सदस्यले नियमानुसार ५ लाख ५६ हजार भत्ता बापत पाउनुपर्ने हो। तर, उनीहरूले ३ लाख ५२ हजार बढी लिएको महानगरपालिकाको बजेट खर्चबाट देखिन्छ। यो विवरण अनुसार एक जनाले एक वर्षमा नियम भन्दा बाहिर रु.७० हजार भन्दा बढी भत्ता बुुझेको देखिन्छ।

महानगरको प्रशासन विभागका निर्देशक गणेशप्रसाद थपलियाका भनाइमा 'महानगरपालिका भित्र आव २०७४/७५ मा यस्ता समिति कति बने भन्ने विवरण नै छैन।' यसबाट थाहा हुन्छ यस्ता समिति र उपसमितिका नाममा महानगरमा हुने खर्च अचाक्ली छ।

दैनिक ५६ हजार बैठक भत्ता
महानगरपालिकामा कहिलेकाहीं बाहेक कार्यालय सञ्चालनकै समयमा मात्रै बैठक बस्छन्। आव २०७४/७५ मा के–कति बैठक बसे महानगरपालिकासाग अभिलेख छैन।

तर, उसले वर्षभरिमा १ करोड ५८ लाख ६० हजार बैठक भत्ता बापत भुुक्तानी गरेको विवरणमा भेटियो। कार्यालय खुलेको दिनका आधारमा महानगरपालिकाले बैठक भत्तामा मात्रै दैनिक ५५ हजार ८ सय खर्च गर्दो रहेछ भन्ने देखिन्छ।

यो शीर्षकको खर्च बैठक बसेर भएको होला कि बैठक समेत नबसिकन कागजमा मात्रै देखाइयो होला भनेर पनि खोजी गरियो। तर त्यो पुष्टि गर्न सकिएन। एउटा तथ्य के फेला पर्‍यो भने यहाा पनि महानगरपालिकाद्वारा निर्धारित दर भन्दा धेरै बैठक भत्ता लिएको भेटियो। महानगरपालिकाले उपलब्ध गराएको विवरणमा ३२ वडाका १५६ जना जनप्रतिनिधिले प्रति बैठक १,२३० लिएको देखियो।

जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा भने एउटा बैठक बापत रु.१००० मात्रै लिन पाउने व्यवस्था छ। सूचना अधिकारी आचार्यका अनुसार, बजेट व्यवस्थामा महानगरमा मेयरको अध्यक्षतामा बैठक बसे प्रति बैठक २,५००, उपमेयर र कार्यकारी अधिकृतको अध्यक्षतामा बसे २,००० र वडाध्यक्षको अध्यक्षतामा बसे प्रति बैठक १००० बैठक भत्ता लिन पाउने व्यवस्था छ।

वडामा मासिक अधिकतम तीन वटा बैठकको भत्ता लिन पाउने व्यवस्था छ। तर, उनीहरूले कतिपटक बैठक बसे र कति पटकको भत्ता लिए भन्ने अभिलेख भेट्टाउन सकिएन। यसको अभावमा महानगरपालिकामा कसको अध्यक्षतामा कति पटक बैठक बस्यो र कति सहभागीले कति पटक, कति भत्ता बुझे यकिन विवरण पाउन सकिएन।

दैनिक ४७ हजारको जलपान
महानगरपालिकाका पदाधिकारीहरूले जलपानमा मात्रै दैनिक ४७ हजार ३०० खर्च गर्दा रहेछन्। आव २०७४/७५ मा उनीहरूले गरेको १ करोड ३४ लाख ४५ हजारलाई कार्यालय खुलेको दिनका दरले हिसाब गर्दा यो अंक निस्कन्छ।

दिनमा कति वटासम्म बैठक बस्ने, मेयर/उपमेयरले जलपानमा कतिसम्म खर्च गर्न पाउने भन्ने महानगरसाग कुनै नियम रहेको भेटिएन। महानगरको वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धरका भनाइमा, 'आवश्यकता अनुसार जति पनि बैठक बस्न सक्छ र जलपानका लागि पनि यति नै खर्च गर्नुपर्छ भन्ने छैन।'

जलपान खर्चको विवरण नियाल्ने क्रममा हामीले २०७५ जेठ महीनाको खर्च हेर्‍यौं। मेयर विद्यासुन्दर शाक्यले बागदरबारको कार्यालयमा जेठ महीनामा मात्रै ८७ हजार जलपानमा खर्च गरेका छन्। उपमेयर हरिप्रभा खड्गीले २०७५ जेठ र असार महीनामा गरेर १ लाख ३२ हजार जलपानमा खर्च गरेकी छन्।

महानगरका कर्मचारीहरू यतिविघ्न खर्च भयो होला भनेर पत्याउादैनन्। एक जना कर्मचारी भन्छन्, 'मेयर र उपमेयरकोमा मान्छे त टन्नै आउाछन्। तर, जलपानमा यति धेरै खर्च चाहिं अस्वाभाविक नै हो।'

८९ लाख सवारी खर्च
महानगरपालिकाले आव २०७४/७५ मा जनप्रतिनिधिको परिवहन सुविधामा ८८ लाख ९७ हजार खर्च गरेको भेटियो।

यसमा महानगरका कर्मचारीले प्रयोग गर्ने, पूर्वाधार विकास, सरसफाइमा प्रयोग हुने गाडीको खर्च समावेश छैन। मेयर, उपमेयर, तीन जना मनोनीत सदस्य र ३२ वडाका १५६ जनप्रतिनिधि गरी १६१ जनाले लिएको परिवहन सुविधाको खर्च हो, यो।

कुन जनप्रतिनिधिले कति सुविधा लिए भन्ने यकिन विवरण महानगरबाट पाउन सम्भव भएन। यतिसम्म कि गाडीको सुविधा पाएका मेयर र उपमेयरको महीनामा तेल खर्च मात्रै कति हो भन्ने पनि विवरण पाइएन।

वार्षिक प्रशासनिक बजेट व्यवस्थामा वडा समितिको बैठकमा उपस्थित वडा अध्यक्ष र वडा सदस्यले प्रति बैठक १००० का दरले प्रत्येक महीनामा अधिकतम तीन वटा बैठकको परिवहन भत्ता लिन पाउने व्यवस्था छ। तर कुन कुन वडामा वर्षभरिमा कति कति पटक बैठक बस्यो भन्ने अभिलेख महानगरपालिकासाग देखिंदैन।

एउटा बेथिति के फेला पर्‍यो भने बैठकमा सहभागी नभएका पदाधिकारीले समेत ढिलो उपस्थित भएर वा बैठकमा आउादै नआई बैठक भत्ता दाबी गर्ने प्रवृत्ति महानगरमा रहेछ। जस्तो कि ३० साउन २०७५ का दिन यो संवाददाता मेयर विद्यासुन्दर शाक्यको सचिवालयमा भएको बेला एक जना वडा सदस्य आफू ढिलो आएको भए पनि समितिको बैठकमा हाजिर गर्न पाउनुपर्ने जिकिर गरिरहेका थिए। हाजिर गर्न पाउनुपर्छ भन्नुको अर्थ उनी बैठक भत्ता दाबी गरिरहेका थिए।

असारे खर्चको बाढी
बैठक भत्ता, जलपान खर्च र परिवहन शुल्कको रकम पनि असार महीनामा आएर बढी खर्च हुने गरेको भेटियो। यी तीनवटै शीर्षकमा हुने भुक्तानी विकास निर्माणको ठेक्का प्रक्रिया जस्तो हैन। अर्थात् अन्यत्र वर्षभरि भएको कामको भुक्तानी असार महीनामा धेरै हुन्छ।

ठेक्कालगायतका कामको प्रकृति र प्रशासनिक झन्झटका कारण केही हदसम्म यो स्वाभाविक पनि हो। तर; बैठक भत्ता, जलपान र सवारी साधनको खर्च जस्तो काम भएकै दिन निकासा गर्नुपर्ने यी तीन शीर्षकमा समेत असार महीनामा आएर बढी खर्च भएको देखिनुले यो खर्च स्वाभाविक छैन भन्ने आशंकालाई बलियो बनाउँछ।

महानगरपालिकाले वर्षभरि गर्ने खर्चको एकचौथाइ खर्च अन्तिम एक महीनामा गरेको देखिन्छ। यी तीन शीर्षकमा भएको ३ करोड ८२ लाख खर्चमध्ये १ करोड १ लाख २७ हजार अर्थात् २६.५१ प्रतिशत खर्च असार महीनामा मात्रै भएको देखिन्छ।

११ महीनामा २ करोड ८० लाख ७५ हजार मात्रै खर्च गर्ने महानगरपालिकाले एकै महीनामा यी तीन शीर्षकमा १ करोड १ लाख खर्च गरेको देखाउनुले यो शीर्षकमा बजेट दुरुपयोग भएको अनुमान गर्न सकिन्छ। तर, असार महीनाको कागजात विस्तृत रूपमा अध्ययन गर्न नपाएका कारण हामीले कहाँ–कहाँ कसरी रकम दुरुपयोग भयो भनेर देखाउन सकेनौं।

६ गुणाले बढ्यो सुविधा
अर्को पक्ष के छ भने महानगरपालिका यी तीन शीर्षकमा खर्च गर्ने रकम प्रत्येक वर्ष बढाइरहेको छ। गएको आवमा विनियोजन भएको रकम, चालु आर्थिक वर्षको बजेटको अंक र भविष्यका लागि गरिएको प्रक्षेपणले यो स्पष्ट गर्छ।

आव २०७३/७४ मा बैठक भत्ताबापत १९ लाख ६६ हजार विनियोजन गरेको महानगरपालिकाले जनप्रतिनिधि आएपछि आव २०७४/७५ मा यो बजेट ६ गुणाले बढाएर १ करोड २५ लाख पुर्‍याएको छ। उसले आवको अन्त्यसम्ममा विनियोजन गरेभन्दा ३३ लाख ६० हजार बढी खर्च गरेको छ भने चालु आव २०७५/७६ का लागि रु.१ करोड ५३ लाख बजेट प्रक्षेपण गरेको छ।

जलपानमा मात्रै आव २०७३/७४ मा ३८ लाख २५ हजार विनियोजन गरेको थियो। आव २०७४/७५ मा ९० लाख विनियोजन गर्‍यो। पुन: संशोधन गरेर यो अंक १ करोड २० लाख पुर्‍याइयो। चालु आव २०७५/७६ का लागि १ करोड ५० लाख प्रक्षेपण गरिएको छ।

यसैगरी परिवहनमा २०७४/७५ मा महानगरपालिकाले ३ करोड १० लाख बजेट विनियोजन गरेको थियो। उसले विनियोजन गरेभन्दा निकै कम खर्च गर्‍यो। तर चालु आव २०७५/७६ का लागि गएको वर्षभन्दा दोब्बर अर्थात् ७ करोड ५ लाख ६० हजार खर्च हुने अनुमान महानगरको छ।

३२ वटै वडामा आव २०७४/७५ मा जलपानबापत एक चौमासिकको १६ लाखका दरले तीन पटकमा रु.४८ लाख निकासा भएको छ। प्रथम नगरसभामा खाजा र खाना बापत ११ लाख १४ हजार खर्च भएको छ।

बागदरबारस्थित मेयरको कार्यकक्ष र सचिवालयमा जलपान तथा खाना खर्च ७ लाख र राष्ट्रिय सभागृहमा रहेको मेयरको अर्को कार्यालयमा ६ लाख ८९ हजार गरी १३ लाख ८९ हजार खर्च भएको छ।

यसैगरी उपमेयरको सचिवालयमा गएको आवमा ५ लाख ५१ हजार जलपानमा खर्च भएको छ।
जनप्रतिनिधि आएपछि महानगरको प्रशासनिक खर्च बढ्नु सामान्य भए पनि वर्षैपिच्छे यो अंक बढ्नु गलत हो भन्छन् पूर्व शहरी विकास सचिव किशोर थापा।

'जनप्रतिनिधिले सेवासुविधा विना काम गर्न सक्दैनन्, प्रशासनिक खर्च छुट्याउनुपर्छ ठीक हो तर वर्षैपिच्छे बजेट बढाउादै जाने प्रवृत्ति रोक्नुपर्छ' थापाले भने, 'नत्र जनप्रतिनिधि र कर्मचारीबीच प्रशासनिक खर्च गर्ने प्रतिस्पर्धात्मक प्रवृत्तिले विकृतिको रूप लिन्छ, किनकि सेवासुविधा त जति भए पनि अपुग नै हुन्छ नि !'

सुविधा तीव्र, काम सुुस्त
बैठक भत्ता, खाजा खर्च र परिवहनमा यति धेरै खर्च गरेको महानगरपालिकाले बजेटमा तोकिएका कार्यक्रमहरू चाहिं कति पूरा गर्‍यो त? हामीले यसबारे केही विवरण केलायौं।

आव २०७४/७५ का लागि २०७४ असारमा १८ वटा शीर्षकमा महानगरपालिकाले १८७ वटा नीति तथा कार्यक्रम ल्याएको थियो। स्थानीय तह निर्वाचनका बेला मेयर विद्यासुन्दर शाक्यले घोषणा गरेको ‘१०० दिनमा गर्ने १०१ काम’ पनि यसमा समावेश थिए। मेयर शाक्यले आव २०७४/७५ मा गरेका मुख्य कार्य प्रगति भनेर ५५ वटा बुँदा बाहिर ल्याएका छन्। तिनमा अधिकांश काम अघि बढेकै छैनन्, केहीको बल्ल प्रक्रिया शुरू भएको छ।

काठमाडौं धुवाा र धूलोको शहर भइसकेको बेला ‘क्लिन सिटी अभियान’ शुरू गर्ने, हराभरा वातावरणमैत्री स्वच्छ र सफा शहर बनाउने कार्यक्रम प्राथमिकतामा थियो। यसको एउटा कार्यक्रम सडकमा धूलो सफा गर्न आव २०७४/७५ मा पाँच वटा जेट र ब्रुमर मेशीन भित्र्याउने लक्ष्य थियो।

ब्रुमर, जेट मेशीन तथा ट्री ट्रान्स प्लान्टर खरीद समिति र उपसमितिले बैठक भत्ताबापत रु.१ लाख ६७ हजार खर्च पनि गरे। पााच वटा जेट मेशीन आइसकेको छ भने पाँच वटा ब्रुमर मेशीन खरीद प्रक्रियामै छन्।

ट्राफिक जाम सुधार्ने, तीन वर्षभित्र काठमाडौंमा मोनो रेल सञ्चालन गरेर आफैं सार्वजनिक सवारी साधन चढ्ने मेयरका महत्वाकांक्षी योजनाहरू कागजमै सीमित छन्। मेयरले सार्वजनिक सवारी साधन चढ्ने घोषणा गरेकै वर्ष महानगरपालिकाले ३२ वटै वडामा वडाध्यक्ष र वडासदस्यहरूका लागि परिवहनमा मात्रै वार्षिक रु.५७ लाख ६० हजार खर्च गरेको छ।

महानगरपालिका खर्च गर्न जति अगाडि छ, महानगरवासीप्रति थोरै पनि सेवामुखी र जिम्मेवार देखिंदैन। “महानगरको सेवासुविधा कत्तिको चित्तबुझ्दो पाउनुभएको छ भनी असन चोकदेखि ठमेलचोकसम्म सोध्दै जानु मेयरलाई गाली नगर्ने कोही हुादैनन्”, असनचोकमा भेटिएका एक स्थानीयले भने।

मेयर शाक्य आफैं पनि महानगरपालिकाको कार्यसम्पादनबाट सन्तुष्ट छैनन्। 'महानगरवासीसाग बीसौं वर्षदेखिको कुण्ठा छ। जनप्रतिनिधि आएपछि तुरुन्तै समस्या समाधान हुन्छ भन्ने अपेक्षा छ तर जनचाहना पूरा गर्न थुप्रै बाधाअड्चन छन्,' उनले भने।

महानगरमा जनप्रतिनिधिहरूले कर्मचारीबाट पर्याप्त सहयोग नपाएको शाक्यको भनाइ छ। शाक्यले भने, 'कर्मचारी साथीहरू यतिसम्म गर्नुहुन्छ कि जनप्रतिनिधिले फाइल अगाडि बढाउन लगाए वास्ता गर्नुहुन्न तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक फोन गर्दा काम गर्न अघि सरिहाल्नुहुन्छ।'

(खोज पत्रकारिता केन्द्रको सहयोगमा)

प्रकाशित : पुस ३, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

महानगर सफाइमा हरेक शनिबार ब्रुमर प्रयाेग

सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी
विद्या राई

काठमाडौँ — धूलोधूवाँ र फोहोर काठमाडौंको मुख्य समस्या । महानगरको एउटै लक्ष्य ‘नो मास्क सिटी’ । महानगरले विभिन्न स्थानमा ‘ग्रिनरी मेन्टेन’ गर्ने, ‘आइल्याड’ बनाएर पानी हाल्ने काम गर्दै आएको पनि हो ।

काठमाडौंको जमलस्थित सडकमा ब्रुमरको सहायताले सडक सफा गरिँदै । तस्बिर : विद्या राई/कान्तिपुर  

त्यतिले मात्रै कुरूप महानगरको सौन्दर्य फेर्न नसक्ने भएपछि पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी आफैं सरसफाइमा जुटेका छन् ।

उनीहरू हरेक शनिबार बिहान झाडु, डस्टबिन, बेल्चा, ब्रुमर, जेट मेसिन, गाडी लिएर रत्नपार्कमा जम्मा हुन्छन् । सडक सफाइ गर्दै विभिन्न स्थानमा पुग्छन् । नियमित सफाइमा सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालाले पनि साथ दिँदै आएका छन् ।

गत कात्तिक २९ गते सहरी व्यवस्थापनका लागि विकास साझेदारसँग गरेको प्राविधिक सल्लाहपछि महानगरले सडक नालीमा बनाइएका अनावश्यक र्‍याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र जेट मेसिनले पखाल्ने काम गर्दै आएको छ ।

मेयर शाक्यले अभियानको औपचारिक उद्घाटन गरेका थिए । रत्नपार्कबाट सुरु भएको सडक सफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो भने दोस्रो हप्ता पनि यही रुटमा सफाइ भएको थियो ।

तेस्रो हप्ता रत्नपार्कबाट सुरु भएर जमल हुँदै महाराजगन्जसम्म सफाइ गरेको छ । हरेक हप्ता छुट्टाछुट्टै सडक खण्डमा सफाइ गर्दै जाने कार्यक्रम छ । जुन कार्यक्रम रत्नपार्कबाटै सुरु हुन्छ । महानगरले सडकमा धूलो उठाउन थप सहजताका लागि पाँच ओटा बु्रमर खरिद प्रक्रियालाई अघि बढाएको छ ।

महानगरलाई धूलोधूवाँमुक्त बनाउन नसकेसम्म अभियानले निरन्तरता पाउने मेयर विद्यासुन्दर शाक्यको दाबी छ । ‘अभियान जारी रहन्छ, महानगरलाई चाँडै नै सफा र सुन्दर सहर बनाउने छौं,’ उनले प्रतिबद्धता जनाए ।

महानगरसँगै विभिन्न संघ–संस्थाले अलग–अलग रूपमा सफाइ अभियान सञ्चालन गर्दै आएका छन् । कतिपय ठाउँमा महानगर आफैंले सफाइ गर्छ । कतिपय ठाउँमा सडक विभागले । उपमेयर हरिप्रभा खड्गी सफाइलाई महानगरको विशेष अभियान भएकाले महानगरवासीहरू पनि सचेत हुनुपर्ने बताउँछिन् । ‘जनप्रतिनिधिलाई जिताएर पठाएको भनेर जनता चुपचाप बस्न भएन, आफ्नो तहतप्काबाट सचेत भयो भने महानगरलाई धुलोमुक्त बनाउन समय लाग्दैन,’ उनले भनिन् ।

महानगरको अस्तव्यस्त, कुरूप र दुर्गन्धित अवस्थालाई सुधार्नका लागि वातावरण व्यवस्थापन विभागले विशेष योजनाहरू बनाएको छ । विभागका प्रमुख हरि कुँवरका अनुसार महानगरभित्र हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण र संरक्षण गर्ने योजना छ । अव्यवस्थित तार तथा पोल र खानेपानीका पाइप व्यवस्थापन चाँडै सुरु गर्दै छ ।

सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्ने, सडक मर्मत तथा मार्किङ गर्ने, ट्राफिक व्यवस्थापन गर्ने योजना छन् । यसका लागि सडक विभाग, टेलिकम, विद्युत्, मेलम्ची खानेपानी आयोजना, नेपाल प्रहरी, सशस्त्र, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने कुँवरले बताए ।

महानगरमा प्रदूषण बढ्नुको मुख्य कारण भनेकै सडक तथा पूर्वाधार निर्माण छन् । भूकम्पका कारण जीर्ण संरचनाको पुनर्निर्माण, मेलम्ची खानेपानी आयोजना, कलंकी सडक विस्तार समयमा सम्पन्न नहुँदा महानगरबासीलाई धूलोधूवाँको सास्ती छ ।

यसैगरी महानगरभित्र छिर्ने सवारीसाधनहरूसँगै भित्रने धूलोधूवाँलेपनि महानगरमा प्रदूषण बढाउँदै गएकोछ । सरोकारवालाहरू कारणहरूपहिचान गर्दै समाधानका लागि जागरुक भए चालु आर्थिक वर्षको अन्त्यसम्ममा सफा र सुन्दर महानगर बनाउन सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

यसका लागि महानगर, प्रदेशसरकार र नेपाल सरकारको सहकार्य महत्त्वपूर्ण हुन्छ । सडक निर्माणका कार्यले प्रदूषण हुनमा सहयोग पुगेकाले सडक कालोपत्रेका कार्यहरू चाँडै सम्पन्न गर्नुपर्ने उनी बताउँछन् ।
राजमार्ग सफाइ गरेर चिटिक्कपारे पनि शाखा कच्ची सडकहरूलेगर्दा धूवाँधूलोको मात्रा उस्तै हुन्छ ।

धूलोको स्रोतलाई नै बन्द गर्नका लागि महानगरका सबै सडक कालोपत्रे गर्न जरुरी रहेको बताउँदै मन्त्री महासेठले भने, ‘सडक व्यवस्थापनमा भौतिक पूर्वाधार सहयोग गर्न तयार छ, भौतिक पूर्वाधार मन्त्रालय र महानगरपालिका मिलेर समयमै काम गर्ने प्रतिबद्धता गर्‍यौं भने असम्भव केही छैन ।’

विकसित देशहरूमा जस्तै कलंकी तथा साँखुबाट छिर्ने सवारीसाधनहरूलाई नाकामै धोइपखाली गर्ने चलन प्रयोगमा ल्याउनुपर्ने बताउँछन् । यसबारे महानगरले वार्षिक नीति तथा कार्यक्रम पनि बनाएको छ । जनप्रतिनिधि पाएको १८ महिनापछि भए पनि धूलोधूवाँको सास्ती सम्बोधन भएकोमा महानगरबासी पनि खुसी भएका छन् । ‘जनप्रतिनिधिबाट विकास र निकासका थुप्रै सपना बुनेका छाैं, सरसफाइजस्तै
वर्षौंदेखिका कुण्ठा सम्बोधन हुँदै जानुपर्छ,’ उनीहरूको भनाइ छ ।

प्रकाशित : मंसिर २६, २०७५ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्