छाउपडी विरुद्ध किशोरी

करिश्मा चौधरी

वीरेन्द्रनगर — पश्चिम सुर्खेतका महिलामा महिनावारी भएको बेला छाउगोठमा बस्नुपर्छ भन्ने मान्यता कायमै छ । त्यसैले पूर्ण रूपमा हट्न नसकेको छाउपडी प्रथा हटाउन यहाँका किशोरी सक्रिय भएका छन् । 

छाउपडी विरुद्ध किशोरी

छाउपडीबिरुद्ध सक्रिय युवती हुन्, चौकुने गाउँपालिका–६, की १५ वर्षिया धर्मा विसी । अहिले उनी छाउगोठमा बस्न छोडेकी छिन् । ‘महिनावारी हुन थालेदेखि छाउगोठमै बस्नु पर्थ्यो । तर, मलाई राम्रो लाग्थेन,’ उनले भनिन्, ‘अचेल महिनावारी भए पनि घरमै बस्छु ।’


पश्चिम सुर्खेतका महिलालाई महिनामा तीनदेखि एक हप्तासम्म छाउगोठमै बस्नुपर्ने बाध्यता छ । छाउगोठमा नबस्नेहरू पनि समाजको डरले खुलेर भन्न सक्दैनन् ।


हरेक महिना बाहिर बस्नुपर्दा धर्माले घरमै बस्ने सोच्थिन । तर, समाजले सुनाएको डरलाग्दो बहानाबाट मुक्त हुन सकेकी थिइनन् उनी । कक्षा ९ मा पढ्ने धर्माले छाउगोठमा बस्दाको पीडाबारे साथीहरूसँग कुरा पनि गर्थिन् । तर, ती कुरामै सीमित हुन्थे । छाउगोठमा बस्नै मन नलाग्ने धर्मा त्यति बेला खुसी भइन, जतिबेला उनले छाउगोठमा बसाउनु कानुनी रूपमा दण्डनीय भएको कुरा थाहा पाइन् ।


सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) बाट जीवन उपयोगी तालीम लिएपछि उनी छाउपडीबिरुद्ध थप सक्रिय भएकी छिन् । ‘तालिममा महिनावारी नियमित र आवश्यक प्रक्रिया भएको थाहा पाए, छाउगोठमा बसाल्नेलाई जेल जानुपर्छ भन्ने बुझे,’ उनले भनिन्, ‘छाउगोठमा बस्ने चलन नराम्रो भएको थाहा पाए र आफू नबस्ने अठोट गरे ।’


बराह ताल गाउँपालिकाका केही स्थानमा पनि महिनावारी हुँदा छाउ गोठ बस्ने पुरानै चलन हो । वडा नम्बर ८ की १७ वर्षीया बसन्ती बोगटी पनि समाजको यो चलनबाट टाढा रहन सकिनन् । सबैले छाउ गोठ बस्ने देखेकी बसन्तीलाई छाउ गोठ बस्नै पर्दो रहेछ जस्तो लाग्थ्यो । १२ वर्षमा महिनावारी हुन थालेदेखि उनी छाउगोठमै बस्दै आएकी थिइन् ।


तर, उनले जब यो कुप्रथा भएको थाहा पाइन् त्यसपछि उनी छाउ गोठ बस्न छोडिन । जीवन उपयोगी सीपको तालिम लिएपछि आफू छाउपडीप्रथाबिरुद्ध सक्रिय भएको उनको भनाइ छ । महिनावारी प्राकृतिक प्रक्रिया भएको र छाउगोठमा बसाउनु गैरकानुनी भएको भन्दै विभिन्न सचेतनामूलक कार्यक्रममा आफू हुने गरेको उनले जनाइन् ।


‘तालिममा सिकेका कुरा आमालाई भने, आमाले बाबालाई, अनि दुबै जना मानेपछि हाम्रो घर छाउ गोठ मुक्त भयो, बोगटीले भनिन्, ‘जब मैले आफ्नो घरबाट छाउ गोठ हटाए, मेरो मनले मानेन त्यसपछि आसपासका साथीहरूसँग मिलेर अभियान चलाउने निधो गरे ।’


उनी र उनका साथीहरूले दुई सय ९ घरमा पुगेर छाउपडीबिरुद्ध घरदैलो अभियान गरिसकेका छन् । अभियानपछि ६५ घरमा छाउ गोठ हटाउन सफल भएको उनको भनाइ छ ।


पछिल्लो समय पश्चिम सुर्खेतका केही महिला तथा किशोरीहरू छाउ गोठ बस्न छाडेका छन् । छाउपडी विरुद्ध आएका कानुन, महिलाहरूमा फैलिएको जनचेतना तथा विभिन्न संघसंस्थाले ल्याएका कार्यक्रमले केही महिलाहरूले छाउ गोठ बस्न छोडेका हुन् । तर, अझै पनि सबै महिलाहरू महिनावारी भएको समयमा घरमै बस्ने अवस्था आउन सकेको छैन ।

प्रकाशित : पुस २, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?