कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मनाङमा हेर्दाहेर्दै जम्छ पानी

लमजुङ — मनाङ चामेकी मेलिना गुरुङ मर्स्याङ्दी किनारमा होटल सञ्चालन गर्छिन् । उनी बिहान उठ्दा मस्र्याङ्दीछेउ पानी जमिरहेको हुन्छ । धारामा पानी आउँदैन । बाहिर थापेर राखिएको पानी बरफ बनिसक्छ ।

मनाङमा हेर्दाहेर्दै जम्छ पानी

‍उनका अनुसार जब घाम डुब्दै जान्छ, हेर्दाहेर्दै भाँडामा राखिएका तथा बाटाका पानी बरफ भएर जम्छ । दिउँसो धारामा पानी आइरहेको हुन्छ । भोलिपल्ट बिहान उठेर त्यही धारामा पानी थाप्दा आउँदैन ।


कारण, अत्यधिक चिसो । ‘दिउँसो अलि ठिकै हुन्छ । साँझ परेपछि बेस्सरी चिसो हुन्छ । बाहिर निस्कन सकिँदैन । जमेको पानी दिउँसो १/२ बजेतिर पग्लिन्छ । त्यतिबेलासम्म घाम डुबिसकेको हुन्छ,’ उनले भनिन् । चिसोले धारा, बाटोघाटो तथा स–साना पोखरीका पानी जमेको उनले बताइन् ।


मेलिनालाई जस्तै समस्या अहिले मनाङवासीलाई छ । माथिल्लो मनाङका मुखिया गोतामेका अनुसार मनाङी भेष लगाएर बाक्लो लुगा लगाए पनि चिसोले कठ्यांग्रिने गरेको छ । हिउँ पर्ने गरेको छ । ‘हामी हिँडिरहेका छौं । तर हिउँ र चिसोमा बानी नपरेकालाई साह्रै गाह्रो छ,’ उनले भने ।


मनाङ ङिस्याङ गाउँपालिकाकी उपाध्यक्ष मेङखु गुरुङका अनुसार साँझ र बिहान बाहिर निस्कनै मुस्किल हुने गरी चिसो बढेको छ । हिउँ पर्नुका साथै चिसोका कारण मोबाइल सेवा र इन्टरनेटमा समस्या आएको उनले बताइन् । ‘मोबाइल र इन्टरनेटको टावर माथि डाँडामा छ । हिउँ र चिसोले सोलारले काम नगरेको हुन सक्छ । यताउता सम्पर्क गर्न नै गाह्रो भएको छ,’ उनले भनिन् ।


स्थानीयका अनुसार मनाङको गाउँबस्ती चिसिन लागेको करिब ३ साता हुन लाग्यो । यहाँका बासिन्दा दैनिक चिसो र हिमपातसँग जुधिरहेका छन् । हिमपात कहिले बस्तीसम्मै आइपुग्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार माथिल्लो मनाङमा रातको समय माइनस १३ डिग्री सेन्टिग्रेटसम्म तापक्रम झरेको बताए ।


बिहान माइनस ७/८ डिग्री सेन्टिग्रेट देखिने उनले बताए । ‘चिसो बढेको छ । हामीले चिसो र यहाँको मौसमबारे पर्यटकलाई जानकारी गराएका छौं । पर्यटक पनि कम आएका छन् । आएकामध्ये आफ्नो देशमा हिउँ र चिसोसँग खेलेकाहरू छन् । चिसो सहन नसक्नेहरू फर्किने गरेका छन्,’ उनले भने ।

प्रकाशित : पुस १, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?